चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एक १८ वर्षीय अस्ट्रेलियन पर्यटक र उनका नेपाली गाइडलाई गैँडाले आक्रमण गर्दा उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले द हिमालयन टाईम्सलाई बताए अनुसार घाइते हुनेमा अस्ट्रेलियन नागरिक विलियम पिटर र उनका ५० वर्षीय नेपाली गाइड जितु महतो रहेका छन्।
दुधौरा नजिकै रहेको निकुञ्जको पूर्वी भागको जङ्गलमा घुम्दै गर्दा एक्कासि उनीहरूलाई एउटा गैँडाले दौडँदै आएर आक्रमण गरेको बताइएको छ।
उनीहरूलाई निकुञ्जका अधिकारीहरू, सुरक्षाकर्मीहरू, होटेल सञ्चालकहरू लगायत अन्य स्थानीय गाइडहरूले उद्धार गरेको पनि उक्त नेपाली दैनिकले जनाएको छ।
एक स्थानीय प्रहरी अधिकृत देवेन्द्र चन्दले सिन्व्हालाई बताए अनुसार ती अस्ट्रेलियनको अवस्था निकै चिन्ताजनक रहेको छ।
अहिले दुवैको उपचार काठमान्डूमा भइरहेको पनि बताइएको छ।
