आइतबार, मे २६ मा काठमाडौँको घट्टेकुलो, सुकेधारा र नागढुंगामा भएका विस्फोटनहरू पछि अस्ट्रेलियाली सरकारद्वारा आफ्ना नागरिकहरूलाई नेपालमा “उच्च सतर्कता” अपनाउन आग्रह गरेको छ।
सरकारको विदेश मामिला र व्यापार विभाग द्वारा गरिएको उक्त आग्रहमा नेपालमा भिडभाडमा नजान पनि आग्रह गरिएको छ।

नेपाल भ्रमण बारे मन्त्रालयको सल्लाह स्तरमा भने बदलाव भएको छैन।
एसबीएस नेपालीलाई पठाएको एक बयानमा विदेश मामिला विभागका एक प्रवक्ताले "कुनै पनि समयमा विस्फोटनको सम्भावना रहेको आफ्नो सुझाव रहेको" बताए।
“सम्पूर्ण समय भर आफ्नो व्यक्तिगत सुरक्षा माथि विशेष ध्यान दिनुहोस्”, विभागले आफ्नो स्मार्ट ट्राभलर वेबसाइटमा पनि भनेको छ।
साथै ठुला सार्वजनिक जमघट वा विरोध प्रदर्शनहरू हिंसात्मक हुन सक्ने चेतावनीका साथ त्यस्ता स्थितिबाट टाढै बस्न पनि आग्रह गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ताका विश्वराज पोखरेलले सबै घटनाहरूको अनुसन्धान सुरु भएको बताउँदै सुरक्षा व्यवस्था पनि बढाइएको बताएका छन्।
पोखरेलका अनुसार, अहिलेसम्म प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ।

कान्तिपुर समाचारका अनुसार मृत्यु हुने मध्ये नेत्र विक्रम चन्द नेतृत्व माओवादीका सदस्य पनि रहेका छन्।
साथै काठमाडौँका एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै उक्त पत्रिकाले विस्फोटक सामग्री तयार पार्ने क्रममा दुई विस्फोटन भएको अनुमान रहेको बताएको छ।
नागढुंगाको घटनामा भने दुईजनाले मोटरसाइकलमा बोकेर हिँडिरहेको विस्फोटक पर्दाथ पड्किदा उनीहरू घाइते भएका बताइएको छ।
एक हप्ता अघि प्रहरी कारबाहीमा आफ्नो एक कार्यकर्ताको मृत्यु भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको आम हडतालको पूर्वसन्ध्यामा यी विस्फोटका घटनाहरू भएका हुन्।
गए मार्च महिनामा भएको एक विस्फोटन पछि चन्द समूह माथि नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकारले प्रतिबन्ध लगाएको थियो।
