नेपालले अस्ट्रेलियासँग हवाई सम्झौता गर्न चाहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक जना सहसचिवले बताएका छन्। यस विषयमा दुई देशबिच लामो समयदेखि छलफल भइरहेको थियो।
नेपालले हाल अन्तिम चरणको गृहकार्य गरिरहेको उनले बताए।
नेपालले राम्रो तयारी गरेको खण्डमा दुई देशबिच सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म क्यानडामा हुन लागेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको ४० औं सम्मेलनमा सम्झौता हुन सक्ने बताइएको छ।
"दुवै देशले उक्त सम्मेलनका बेला यस विषयमा थप छलफल गर्ने निर्णय गरिएको छ। दुवै पक्षलाई चित्त बुझे त्यही सम्झौता हुन सक्छ," ती सहसचिवले भने।
उक्त सम्मेलनमा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नेतृत्वमा नेपालको टोली आइतबार क्यानडाका लागि प्रस्थान गर्दैछ।
अस्ट्रेलियाले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्न खोजी रहेको ती श्रोतले बताए। तर, नेपालको विमानस्थलको पूर्वधारलाई लिएर विगतमा कुराकानी अड्किने गरेको बताइएको छ।
यस पटक भने नेपालले निर्माण कार्य सकिनै लागेको भैरहवा विमानस्थललाई अघि सार्दै अस्ट्रेलियाको उक्त चासो मेट्ने बताइएको छ।

होला त सम्झौता?
त्यसो त, नेपालले पनि अस्ट्रेलियामा उडान भर्ने तयारी गरेको लामो समय भइसकेको छ। अस्ट्रेलियाबाट नेपाल र नेपालबाट अस्ट्रेलिया आउजाउ गर्ने नेपालीको सङ्ख्या निकै बढेका कारण अस्ट्रेलिया नेपालको रोजाइमा परेको हो।
पछिल्लो समय अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख रोजाइको गन्तव्य बनेको छ। त्यही कारण आवत जावत गर्नेको सङ्ख्या पनि बढेको हो।
नेपाल वायुसेवा निगमले उसले खरिद गरेको वाइड बडी उडाउने गन्तव्यको सूचिमा अस्ट्रेलियालाई पनि राखेको छ। तर दुई देशबिच हालसम्म यस विषयमा सम्झौता भने हुन सकेको छैन।
विश्वका १३९ राष्ट्र सहभागी हुने उक्त सम्मेलनका क्रममा नेपाल र अस्ट्रेलियाका प्रतिनिधिबिच यस विषयमा छलफल हुने छ। मन्त्री भट्टराईले अस्ट्रेलिया सामु नेपालको प्रस्ताव राख्ने बताइएको छ।
अस्ट्रेलियाबाट सकारात्मक सङ्केत पाउनेमा नेपाल आशावादी रहेको मन्त्रालयका अधिकारीले बताएका छन्।
इयुको कालो सूचीबाट हट्ने प्रयास गरे पनि सफल हुन नसकी रहेको समयमा अस्ट्रेलियासँग यस्तो सम्झौता गर्न सके नेपाललाई धेरै फाइदा पुग्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन्।
नेपालले हालसम्म ३९ मुलुकसँग हवाई सम्झौता गरिसकेको छ।
यदि नेपालले सोचे अनुरूप अस्ट्रेलियासँग हवाई सम्झौता भएमा अस्ट्रेलिया ४०औ मुलुक बन्नेछ। आइकाउले हरेक तीन वर्षमा यस्तो सम्मेलन गर्ने गर्छ।
जसमा हवाई उड्डयन बारे विश्वव्यापी नीतिहरूमा छलफल हुने गर्दछ।
