SKIP TO MAIN CONTENT

नेपाली क्रिकेटले विश्वलाई हल्लाउने छ: अपूर्व देसाई

नेपाली क्रिकेटको सबैभन्दा कमजोर पाटोको रुपमा रहेको ब्याटिङ्गलाई विश्वस्तरीय रुप दिन आजकाल एक भारतीय नेपालमा छन्। भारतको घरेलु क्रिकेटमा ठुलो नाम कमाउन सफल गुजराती पृष्ठभूमिका अपूर्व देसाईका अनुसार नेपाली खेलाडीहरुमा प्रतिभाको कुनै कमी रहेको छैन।

Nepal cricket team batting consultant Apurva Desai
Nepal cricket team batting consultant Apurva Desai. Source: Apurva Desai

3 min read

Published

Updated

By SBS Nepali, Vatsal Patel

Source: SBS



Skip to article content

भारतीय घरेलु क्रिकेटमा प्रशिक्षकको रुपमा जमेका र मन पराइएका अपूर्व देसाई अहिले काठमान्डूमा नेपाली क्रिकेट टोलीको ब्याटिङ्गलाई अब्बल बनाउन लागिपरेका छन्।

एसबीएस गुजरातीसँग उनले भने, "नेपाली क्रिकेट टोलीको ब्याटिङ्ग फितलो रहेको तथ्य कसैबाट लुकेको छैन। एकदिवसीय खेलहरुमा ब्याटिङ्ग गर्दा चाहिने एक भिन्नै प्रकारको कौशलता तथा दक्षता नेपाली खेलाडीहरुलाई सिकाउन एसियाली क्रिकेट परिषदले मलाई नियुक्ति गरेको हो"।

मलेशियामा हाल भईरहेको एसियाकप क्वालिफायर्सबाट नेपाललाई एसिया कपसम्म पुर्याउन पाइयो भने आफ्नो प्राथमिक उद्देश्य पुरा हुने देसाई बताउँछन्।

"ब्याटिङ्ग परामर्शदाताको यो भूमिकामा, मेरो लक्ष्य भनेकै नेपाललाई एसियाका दिग्गजहरुसँग क्रिकेट खेल्नसक्ने बनाउनु हो। भारत, पाकिस्तान, श्रीलंका लगायतका टोलीहरुसंग खेल्ने उनीहरुको चाहानालाई पुरा गर्न मैले सक्दो योगदान गर्नेछु।"

Bating consultant Apurva Desai seen giving tips to Nepal cricket team batsman
Bating consultant Apurva Desai seen giving tips to Nepal cricket team batsman. Source: Apurva Desai

अहिलेसम्मको तीन हफ्ते कार्यकालमा, देसाईले नेपाली टोलीसँग एक हफ्ता बन्द शिविरमा बिताईसकेका छन्। उक्त कार्यक्रम लगत्तै नेपाली टोलीसँग श्रीलंकाको भ्रमणमा निस्केका देसाई, नेपालीहरुको खेल प्रतिको लागाव तथा कडा मिहिनेत देखेर दङ्ग छन्।

"नेपाली टोली युवा खेलाडीहरुले भरिभराउ छ र उनीहरु सफलताको लागि निक्कै भोको रहेको छनक मैले पाएको छु", देसाईले भने।

काठमान्डूको छोटो बसाईमै उनले नेपालीहरुको "क्रिकेट क्रेज" बुझिसकेको कुरा हामीलाई बताए।

"नेपालीहरु क्रिकेट भनेपछि भुतुक्कै रहेछन्। उनीहरुको आफ्नो टोली प्रतिको सद्भाव तथा मायाले मलाई रोमाञ्चक बनाईदिएको छ। यस्तै हौसलाका कारण नेपाली क्रिकेट यति छोटो अवधि मै यहाँसम्म पुगेको हो, यसमा कुनै शंका छैन।"

नेपाली टोलीमा प्रतिभाको कुनै कमी नभएको तर अनुभवी खेलाडीहरु धेरै नभएको कारण सोचे अनुरुपको सफलता हात नपरेको देसाईको भनाई छ।

उनका अनुसार पारस खड्का, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडीहरु एक्लैले नेपाललाई जिताउने योग्यता राखे तापनि, अरु युवा खेलाडीहरुमा उनीहरुको जस्तो अनुभव नभएसम्म नेपाली क्रिकेट सहजै माथि उक्लन सक्दैन।

अनि सन्दिप लामिछाने जस्ता युवा खेलाडीले नेपाली क्रिकेटलाई बिस्तारै विश्वमा परिचित गर्नेमा पनि उनी विश्वस्त छन्।

"मेरो बिचारमा, नेपालले ढिलो-चांडो विश्व हल्लाउने खालका खेलाडीहरु पाउने छ।"

इण्डियन प्रिमियर लीगमा डेल्ही डेरडेभिल्सबाट खेलेका सन्दिप लामिछानेको प्रदर्शन हेर्नुस् त, अबको केही समयमै उनी विश्वस्तरीय हुने छन्। यसले पनि अरु युवा खेलाडीहरुलाई अगाडी बढ्न हौसला दिनेछ।"

विदेशी भुमिमा खेल्ने मनेग्ग्य अवसरहरु प्राप्त गरिरहेको नेपाली टोलीले यस्ता अभ्यास खेलहरुबाट आगामी प्रतिष्पर्धाहरुका निमित्त राम्रै लाभ उठाउन सक्ने ठम्याई पनि उनको छ। तर, नेपाली क्रिकेटको सन्दर्भमा देसाईको चिन्ता भनेको नेपाली खेलाडीहरुले भारतीय उपमहाद्वीपभन्दा बाहिर खेल खेल्न नपाउनु रहेको छ।

Nepali cricket team celebrating after its first ever one day international victory against Netherlands on Aug 2018.
Nepali cricket team celebrating after its first ever one day international victory against Netherlands on Aug 2018. Source: ICC

"एसिया भन्दा बाहिरका टोलीहरुसँग उनीहरुको गृह मैदानमा नभिडेसम्म यो टोलीमा रहेका युवा खेलाडीहरुको खेलमा निखारता ल्याउन सकिन्न", उनी भन्छन्।

विविध ठाउँ तथा अवस्थामा खेलेपछि बिस्तारै खेलाडीहरुको मनोबल बढ्ने र प्रतिकूल स्थितिहरुबाट खेलमा कसरी बाहिर आउने भन्ने कुरा पनि राम्ररी सिकिने कुरा देसाईले हाम्रो सामु राखे।

नेपाली क्रिकेटसँग जोडिनु पुर्व, भारतीय क्रिकेट नियन्त्रण बोर्ड अन्तर्गतको बैङ्गलुरु स्थित् राष्ट्रिय क्रिकेट परिषदमा आबद्ध रहेका देसाईले, नेपाल आउन विशेष स्वीकृति लिनुपरेको थियो। परिषदमा उनले १९ बर्ष भन्दा मुनिका भारतीय युवा खेलाडीहरुका साथ-साथै "इण्डिया ए"का बरिष्ठ खेलाडीहरुलाई विगत नौ बर्षदेखि आफ्नो खेल सुधार्न सघाई रहेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now