SKIP TO MAIN CONTENT

सिड्नीमा नेपाली हजुरबुवालाई कथित रूपमा ठक्कर दिने गाडी र चालकको खोजीमा प्रहरी

न्यु साउथ वेल्सको सिड्नीमा एउटा कारले कथित रूपमा ठक्कर दिए पछि एक नेपाली अभिभावकको मृत्यु भएको छ।

Damodar Shrestha was visiting his family in Australia.
Damodar Shrestha was allegedly hit by a vehicle on Sunday, 30 June. Credit: Supplied/Sagun Shrestha

2 min read

Published

Updated

Source: SBS



Skip to article content

पश्चिमी सिड्नीमा एक हजुरबुवालाई कथित रूपमा ठक्कर दिएर उनको ज्यान लिने गाडीका फरार चालकको खोजी भइरहेको न्यु साउथ वेल्स प्रहरीको भनाई छ।

प्रहरीका अनुसार आइतवार, ३० जुन रातिको करिब ११:२० बजे मेलन्बास्थित अबेल रोडमा दामोदर श्रेष्ठ घाइते अवस्थामा फेला परे पछि आपतकालिन सेवालाई बोलाइएको थियो।

उनासी वर्षीय श्रेष्ठको घटना स्थलमा नै मृत्यु भएको बताइएको छ।

Sydney hit and run 1
Image of the vehicle believed by police to be involved in the crash. Credit: Supplied/NSW Police

उनी आफ्नी छोरीको परिवारलाई भेट्न नेपालबाट केही महिना अघि नेपालबाट अस्ट्रेलिया आएका थिए।

आइतवार राति खाना खाए पछि उनी बाहिर हिँड्न निस्किएको छोरी सगुन श्रेष्ठले बताइन्।

श्रेष्ठले एसबीएस नेपालीसँग कुराकानी गर्दै भनिन् कि उनका बुवा आधा घण्टाभन्दा लामो समयसम्म घर नफर्किए पछि परिवारका अन्य सदस्यहरू खोजीमा लागेका थिए।

“म करिब ११:४५ तिर घर आउँदा ममीहरूको कोठाहरू लगाइसकेको थियो, अनि सबै जना सुतिसक्नु भएको होला भनेर म चाहिँ मेरो बिहानै काम छ भनेर सुत्न गएँ। मलाई [बुवा] बाहिर जानु भएको छ भनेर नि थाहा थिएन,” उनले भनिन्।

“अनि मेरो ममी र ठुलो छोरी चाहिँ बाटोमा खोज्न जानु भएछ। मलाई उठायो, अनि एक छिन पछि ठुलो छोरीले फोन गरेर रुन थाल्यो। हाम्रो घरबाट नजिकै हो त्यस्तो भएको।”

ममीले खोजेको त्यही हो - त्यो को रहेछ, मलाई एक चोटि अगाडी ल्या भन्नु हुन्छ। मेरो आमाको मन शान्तिको लागि भए पनि, आएर कमसेकम मेरो आमालाई सरी मात्र भने नि पुग्छ, हामीलाई अरू केही चाहिँदैन।
सगुन श्रेष्ठ

उक्त सडकमा फुटपाथ नभएका कारण निकै जोखिमपूर्ण रहेको, र त्यहाँ नजान आफूले आफ्ना बुवालाई भन्ने गरेको उनी बताउँछिन्।

"यता तिर फुटपाथ नै छैन के हिँड्नलाई। ड्याडी हिँड्न मन पराउनु हुन्थ्यो - नेपालदेखि नै पहिलादेखि नै एकदम फिजिकली फिट मान्छे," उनले भनिन्।

"हिँड्दाखेरि ड्याडी एकदम होस् पुर्‍याएर हिँड्नु, यहाँ त गाडीहरू स्पिडमा आउँछ, हाइवेमा नजानु, यतै भित्रभित्र मात्रै हिँड्नुस् भनेर भन्थेँ मैले।"

ब्ल्याकटाउन सिटी काउन्सिलका मेयर ब्र्याड बन्टिङले सोमवार, एक जुलाईमा एक प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठको परिवार समक्ष संवेदना व्यक्त गरेका छन्।

बन्टिङका अनुसार काउन्सिल उक्त बाटोमा फुटपाथ बनाउने तयारीमा छ।

काउन्सिलले पछिल्ला केही महिना यता स्थानीय बासिन्दाहरूसँग यस बारेमा छलफल गरिरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले घटनामा कथित रूपमा संलग्न रहेको गाढा रङ्गको सिड्यान वा कूपे गाडीको तस्बिर सार्वजनिक गरेको छ।

यदी कसैसँग घटनाबारे केही जानकारी वा उक्त क्षेत्र वरिपरि भएका क्यामराले खिचेका ‘ड्यासक्याम फुटेज’ भएमा, वा कोही घटनाको प्रत्यक्षदर्शी भएमा क्राइम स्टपर्सलाई १८०० ३३३ ००० मा सम्पर्क गर्न आग्रह गरिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now