सुदिन पोखरेल: साङ्गीतिक क्षेत्रमा जोशका साथ पुनरागमन

“न शैली न ढाँचा, यी काँचा बुख्याचा,” भन्दै उनले पैसाको आडमा कला क्षेत्रमा आएको विकृतिको निन्दा गर्दै लोकप्रिय गायक सुदिन पोखरेलको साङ्गीतिक क्षेत्रमा पुनरागमन भएको छ।

Sudin Pokharel AKA DA Josh Song

Source: Raj Rana

सानो छँदा सुदिन पोखरेललाई गद्यात्मक कविता निकै मन पर्दथ्यो। अलिक लयमा कविता भयो कि उनी भट्ट्याउन थालिहाल्थे। उनको प्रस्ट उच्चारणले पनि उनमा रहेको साहित्यिक रस झल्काउँथ्यो।

सानोमा देखिएको यो गद्यात्मक शैलीको लगाव अहिले पनि उनको सिर्जनामा झल्किन्छ। आफ्नो नयाँ गीत जोशमा उनले गद्यको मिठास मिसाएका छन्।

“न शैली न ढाँचा, यी काँचा बुख्याचा,” भन्दै उनले पैसाको आडमा कला क्षेत्रमा आएको विकृतिको निन्दा गरेका छन्- जोश नामक उनको नयाँ गीतमा।

Sudin Pokharel Josh New song
Source: Supplied

अस्ट्रेलियामा रहेका सुदिनले यो नयाँ गीतको सिर्जना आफै गरेका हुन् र यसलाई सार्वजनिक गर्न पनि आफै अग्रसर भए।

“टेक्नोलोजीले कलाकारलाई एउटा स्वतन्त्रता दिएको छ, अधिकार दिएको छ। पहिले हामी रेकर्डिङ कम्पनीको भनाई अनुसार चल्थ्यौँ, तर अहिले आफै रेकर्डिङ गर्न सकिन्छ” उनले भने।

अहिले पोखरेलले यही टेक्नोलोजीको सहारा लिएर आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन्।

“कस्तोसम्म भने मेरो गीत मेलबर्नमा बस्ने एक भाइले एरेन्ज गरेका हुन् र उनलाई मैले अहिलेसम्म भेटेको छैन, फोनकै भरमा सबै कुरा मिल्यो,” उनले भने।

तर यस्तै प्रविधिको प्रयोग अनि पैसाको बलमा मानिसहरू कलाकार हुन खोज्दै छन् भनेर उनी चिन्तित देखिन्छन्।

पोखरेलका अनुसार यसरी कलाकार हुने होडले मौलिक सिर्जना अस्ताएर जाने डर हुन्छ।

“मैले यही कुरालाई मैले यस गीतको पहिलो भागमा राखेको छु,” उनले थपे।

विगत केही वर्षदेखि सिड्नीमा बसोबास गर्दै आएका पोखरेल - अस्ट्रेलिया बसुन्जेल व्यावसायिक रूपले प्रस्तुति नदिएको बताउँछन्।

“यसले गर्दा मैल समय पाए- परिवारलाई दिने, सङ्गीतलाई अलिक परैबाट हेर्ने,” उनले भने।

Sudin Pokharel Josh New song
Source: Raj Rana

कलाकार अलिक समय बाहिर बस्यो भने सृजनशीलतामा काम गर्ने मौका पाउँछ भन्दै आफ्नो निष्क्रियतालाई पनि त्यस्तै मौका रहेको पोखरेलको भनाई छ।

पोखरेलमा रहेको गद्यात्मक शैली प्रतिको चासोले उनलाई पनि र्‍याप सङ्गीत तर्फ आकर्षित गर्‍यो।

“असन्तोष र विसङ्गतिलाई उजागर गर्ने एउटा श्रोत हो र्‍याप गीत। युवा पुस्तालाई जोड्ने एउटा बलियो माध्यम हो। अनि त्यतातिर आकर्षित हुनु त अस्वाभाविक नै होइन नि,” उनले भने।

नेपालमा सही रूपमा र्‍याप सङ्गीतको सुरुवात गर्ने श्रेय गिरीश र प्रनिलको जोडीलाई जान्छ र यो जोडीसँग सुदिन पोखरेलले गाएको “म यस्तो छु, म त्यस्तो छु, जस्तो सुकै भए पनि दामी छु” भन्ने बोलको गीतले उनलाई निकै लोकप्रिय बनायो।

त्यसपछि आएको “सी ईज द बम” ले पनि उनलाई निकै ठुलो परिचय दियो।

सङ्गीतको क्षेत्र क्रियाशील हुँदाहुँदै उनी खेलकुद पत्रकारितामा छिरे र टेलिभिजनमा उनले प्रस्तोताको रूपमा समेत काम गरे।

सङ्गीत र खेलले कसरी मेल खायो त भनी सोध्दा, उनले हाँस्दै भने, “त्यो त तराई बसेको फाइदा नि!”

सानैदेखि क्रिकेटमा रुचि राख्ने पोखरेललाई भारतीय राष्ट्रिय टेलिभिजन दूरदर्शनको कमेन्ट्री नसुनी क्रिकेट हेर्दा नुन नभएको तरकारी खाए जस्तै खल्लो लाग्थ्यो रे र उनी भन्छन्, “यसले गर्दा आवाजमा पनि अरूलाई लट्ठ्याउने सक्ने शक्ति हुँदो रहेछ भन्ने थाहा भयो।”

बिस्तारै आफूले यसमा मेहनत गर्न थालेको उनले एसबीएस नेपालीलाई बताए।

तर, समय-चक्रसँगै नेपालमा निकै राम्ररी स्थापित भइसकेका सुदिन पोखरेल अस्ट्रेलिया तर्फ आए र केही वर्षदेखि उनी आफ्नो परिवारसँग पश्चिमी सिड्नीमा छन्।

“सङ्घर्ष जारी छ, द्रव्य र गणितको यहाँ सधैँ हाहाकारी,” भनी उनले विदेशको जीवनको पनि झझल्को दिएको भान हुन्छ यस नयाँ गीत जोशमा।

के अब उनी दीर्घकालीन रूपमा फर्केकै हो त साङ्गीतिक संसारमा?

Sudin Pokharel Josh New song
Source: Raj Rana

सुदिन पोखरेलको भनाई अनुसार उनी यो क्षेत्रबाट कहिले पनि बाहिरिएका थिएनन्, केवल विश्राममा थिए।

उनीसँग अबका केही समयसम्मका लागि कामहरूको योजना बनिसकेको छ।

“अब मलाई समाजमा सकारात्मक सन्देश जाने किसिमका सङ्गीत सिर्जना गर्ने रहर छ,” उनले भने।

मायाप्रीतिका गीत र व्यावसायिक गीतको महत्त्व आफ्नो ठाउँमा छ भन्दै उनले त्यस्ता गीत गाउन जारी नै राख्ने तर सँगसँगै प्रेरणादायी गतिविधिमा पनि होमिन मन लागेको हामीलाई बताए।

“आजभोलि धेरै नकारात्मक कुराहरू मात्र सुनिन्छ, राजनीति र अन्य विषयमा। मलाई चाहिँ राम्रो पक्षमा ध्यान दिन मन छ,” पोखरेलले भने।

साढे सात वर्ष पछि आएको गीत जोशले धेरै सम्भावनाका बाटाहरू खोल्ने कुरामा उनी आश्वस्त देखिन्छन्। 


Share

4 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now