भुटानी सङ्घ अस्ट्रेलियाद्वारा मेलबर्नको फेडेरेसन स्क्वेरमा आयोजना गरिएको उक्त झण्डोत्तलन समारोह अघिल्लो वर्ष पनि सोही स्थानमा सम्पन्न भएको थियो।
“आजको कार्यक्रममा हामीले भुटानको ११२ औँ नेशनल डे मनाएका हौँ, देशलाई सम्झेका हौँ,” उक्त संस्थाका संस्थापक अध्यक्ष परशुराम शर्मा लुइँटेलले एसबीएस नेपालीलाई बताए।
सन् १९०७ मा भुटानलाई हालको स्वरूप दिने भुटानी राजा गोंग्सार युगेंको स्मृतिमा १७ डिसेम्बरका दिनलाई भुटानमा राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ।

आठवटा भुटानी झन्डा फहराइएको उक्त औपचारिक समारोह भिक्टोरियन मल्टीकल्चरल कमिसनकी अध्यक्ष भिभियन न्युयेनको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।
साथै भिक्टोरियाका पूर्व प्रिमियर टेड बेल्यु, भिक्टोरियाली संसद्को बहुसांस्कृतिक मामिला सम्बन्धी संसदीय सचिव जस बुल, मानवअधिकार अभियन्ता एवम् फुटबलर हाकिम अल-अरीबी लगायत भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र भुटानी सङ्घ अस्ट्रेलियाका अध्यक्ष नन्द खरेलको पनि उपस्थिति थियो।

यसै गरी उक्त अवसरमा भुटानी धर्मगुरु लामा उनक्षिरीले धार्मिक अनुष्ठान तथा मन्त्र पाठ गरेका थिए।
अस्ट्रेलियामा २० वर्ष देखि बसोबास गर्दै आएका धर्मगुरूले भुटान सधैँ आफ्नो मनमा रहिरहेको उल्लेख गरे।
“यसपालि मेरो फर्स्टटाईम हो मेलबर्न (आएको)… यहाँ आएर प्रे पनि (गरियो), फ्लाग पनि झन्डा पनि चढायौँ, राम्रो भयो, खुसी लाग्यो,” उनले भने।
“अस्ट्रेलिया फ्री कन्ट्री हो, डिसक्रिमिनेट छैन…अस्ट्रेलिया जस्तो कन्ट्री त मे बी व्होल वर्ल्डमा छैन जस्तो लाग्छ।”

यसै गरी, खरेलले अस्ट्रेलियामा बसेर आफ्नो देशको झन्डा फरफराई रहेको देख्नु पाउँदा साह्रै हर्ष विभोर भएको तथा गौरान्वानित महसुस गरेको एसबीएस नेपालीलाई बताए।
पूर्व प्रिमियर बेल्युले अस्ट्रेलियाको भुटानी समुदायलाई सानो भएता पनि “प्यासेनेट कम्युनिटी”को संज्ञा दिए।
“फेडेरेसन स्क्वेर जस्तो मेलबर्नको ‘ग्रेट मिटिङ प्लेस’मा आउने सबै समुदायका मानिसहरूलाई सहयोग पुर्याउन म उत्सुक छु, सबैलाई समेटेर अगाडी बढ्नुमा नै भिक्टोरियाको शक्ति छ,” उनले भने।

बेल्युसंगै रहेका योञ्जनले उनको कुरामा सहमति जनाउँदै भिक्टोरियाली सरकारद्वारा बहुसांस्कृतिक समुदायको उत्थानमा प्रमुख भूमिका खेल्दै राम्रो अवसरहरू प्रदान गर्दै आएकोमा प्रकाश पारे।
केही समय अघिसम्म आफ्नो कार्यालयले नेपाली झन्डा पनि यसरी नै फहराएको बताउँदै अब पुनः उक्त कार्यलाई सुचारु गर्न मङ्गलवारको कार्यक्रमले आफूलाई प्रेरणा र हौसला प्रदान गरेको पनि नेपाली महावाणिज्यदूत योञ्जनले बताए।
“अब हामी पनि छिट्टै नेपाली झन्डा फहराउने कार्यक्रम आयोजना गर्नेछौँ,” उनले भने।

“भुटानमा पुगोस्, यो कुरा त्यहाँ पनि देखियोस्”: सर्वसाधारणको चाहना

कार्यक्रम भाग लिन आउनु भएका मध्य अधिकांश शरणार्थी पृष्ठभूमिका भुटानीहरूले आफूहरूलाई “भिजिट”का लागि मात्रै भए पनि घर फर्किन दिनुपर्ने धारणा व्यक्त गरेका थिए भने अन्यले यसरी आफ्नो धर्म र संस्कृतिलाई सबैको अगाडी राख्न पाउँदा निकै रमाइलो अनुभूति भएको बताए।
“संस्कार मान्न नपाएर हामीले भुटान छोड्नु पर्यो, आज यहाँ सबैलाई आफ्नो संस्कृति देखाउन पाउँदा खुसी लागेको छ,” मनमाया अधिकारीले भनिन्।
“लखेटिदा, लखेटिदा भुटान छोडेर नेपाल आउनु भयो, नेपालबाट फेरी यहाँ आएर यस्तो राम्रो कार्यक्रम गर्नुभएको देख्दा रमाइलो लाग्यो,” नेपालबाट आएकी तुलसा सिवाकोटीले आफ्नो विचार व्यक्त गरिन्।
“यहीँ बसे पनि भुटानमा आवत जावत खुलाइदिए हुन्थ्यो जस्तो लाग्छ, ममी बिती सक्नुभयो, बाबा-दिदीबहिनी-दाजुभाइ उही हुनुहुन्छ - हामीलाई बस्न नदिए पनि आवतजावत खुलाइदिए एकदम खुसी हुने थियौँ,” पवित्रा दंगालले आफ्नो चाहना बारे हामीलाई बताइन।



यसबारे थप रिपोर्ट आउँदो बिहीबार सुन्नुहोस् - एसबीएस रेडियोमा दिउँसो चार बजे रेडियो, अनलाइन र मोबाइलमा!
