SKIP TO MAIN CONTENT

अल्बरी: मर्री नदीबाट एक नेपाली विद्यार्थी बेपत्ता

न्यु साउथ वेल्स राज्यको अल्बरी स्थित मर्री नदी किनारमा आफ्ना साथीहरूसँग रमाइलो गर्न गएका २१ वर्षीय बिगुल पण्डित हिजो बेलुकी सात बजेदेखि हराइरहेका छन्।

Bigul Pundit has been missing from Murray River in Albury
Source: Facebook

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अल्बरीको स्थानीय नेपाली तथा भुटानी समुदायमा सक्रिय भएर लाग्नु भएका तेजु चौहानका अनुसार पण्डित तथा अन्य युवाहरू मर्री नदी छेउ रहेको नोरेउइल पार्कमा भकुण्डो खेल्दै रमाइरहेका थिए।

एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उहाँले एसबीएस नेपालीलाई भन्नुभयो, "बिगुल तथा साथीहरू कम्मरसम्म मात्र पानी रहेको भागमा एक अर्कामा पानी छ्याप्दै खेलिरहेका थिए।"

"नोरेउइल पार्कमा बार्बिक्यु गर्ने ठाउँ अलि तल छ। त्यहाँबाट एक युवतीले चिच्चाउदै हतार-हतार माथि आएर अरूलाई एक जना पानी भित्र गएको तर बाहिर नआएको भनेपछि प्रहरीलाई खबर गरिएको हो," चौहानले हामीलाई बताउनु भयो।

सतहबाट गरिएको खोजीले केही नभेटिए पछि मेलबर्न तथा सिड्नीबाट अहिले गोताखोरहरू आएर नदी भित्र पण्डितलाई खोज्ने कार्य सुरु भएको पनि चौहानले जानकारी दिनुभयो।

न्यु साउथ वेल्स प्रहरी, एम्बुलेन्स तथा स्थानीय स्वयंसेवक उद्धार सङ्घले उक्त खोजी कार्य गरेको थियो।

पछिल्लो घटनाक्रमले स्थानीय नेपाली समुदाय निकै चिन्तित रहेको बताउँदै चौहानले अस्ट्रेलियामा जलक्रिडा गर्न जाँदा विशेष होस पुराउन सबैलाई अनुरोध गर्नुभएको छ।

"यस्ता घटनाहरू हाम्रो समुदायहरूमा बढ्दो क्रममा छन्। पानीको जोखिमबारे सबै जना सचेत हुनु जरुरी छ।"

चार्ल्स स्तुवर्ट विश्वविद्यालयमा अध्यनरत पण्डितलाई उनका आफन्तजनले एक परिश्रमी, इमानदार तथा हँसिलो मिजास भएको व्यक्ति भनेर एबीसी गोल्बर्न मर्रीलाई बताएका छन्।

उनका अनुसार, पण्डितसँग उक्त नदीको कुनै पूर्व अनुभव थिएन।

बोर्डर उद्धार दलका कप्तान पल मार्सलका अनुसार नदीको पानी निकै धमिलो रहेको कारणले उद्धारकार्यमा अवरोध भइरहेको छ।

"हामीले आसा अझ मारेका छैनौ, हामीले राम्रो परिणाम आउने आसा राख्नै पर्दछ," मार्सलले भने।

मर्री नदी न्यु साउथ वेल्स तथा भिक्टोरियाको सिमाना भएर बग्ने गर्छिन्।

अस्ट्रेलियाकै सबैभन्दा लामो मर्री नदीमा गृष्म कालका महिनाहरूमा पर्यटकहरूमाझ छुट्टी मनाउन निकै लोकप्रिय रहेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now