SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नै पहिलो पटक थारु समुदायको ठुलो चाड माघी पर्व मनाउने तयारी

थारू समुदायको नयाँ वर्षको अवसरमा मनाइने माघी पर्व सिड्नीमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइने भएको छ। जनवरी १५ तारिखमा थारू समाज अस्ट्रेलियाद्वारा आयोजना हुने माघी महोत्सव अस्ट्रेलियामा नै पहिलो पटक गर्न लागिएको हो ।

Tharu girls in their traditional attire
Tharu girls in their traditional attire. Source: Supplied

3 min read

Published

By Sunita Pokharel



Skip to article content

न्यु साउथ वेल्सको टेम्पे पार्कमा जनवरी १५ अर्थात् आगामी मङ्गलवार आयोजना हुन गइरहेको माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू खानाहरू समेत राखिने थारु समाजका अध्यक्ष दीप नारायण चौधरीले जानकारी दिएका छन्।

अस्ट्रेलियामा नेपाली समुदायको जनसङ्ख्या बढेसँगै नेपालका मौलिक चाडबाड र सांस्कृतिक रहनसहनलाई बढवा दिने कार्यक्रमहरूको आयोजना गर्ने क्रम पनि बढी रहेको छ।

यही क्रममा थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्त्वलाई विदेशी भूमिमा पनि दर्साउने हेतुले अस्ट्रेलियामा पनि माघी महोत्सव मनाउन लागिएको आयोजकले जनाएको छ।

पौष महिनाको अन्तिम दिन र माघ महिनाको पहिलो दिनलाई विशेष गरी मनाइने यो पर्व नेपालका थारू समुदायको प्रमुख चाड हो।

सेप्टेम्बरमा एक कार्यक्रमका बिच सिड्नीमा रहेका थारू समुदायको सङ्ख्या जान्ने उद्देश्यले भेटघाट गर्ने कार्यक्रमको आयोजना गरिएको र त्यहिबाट थारु समाज अस्ट्रेलियाको पनि थालनी भएको समाजका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए।

tharu society australia
Tharu Society Australia has organised a meeting in september to know the community in Australia. Source: Supplied

उक्त कार्यक्रममा १०० को हाराहारीमा थारू समुदायको उपस्थिति रहेको भए पनि माघी महोत्सवमा थारू समुदायका २०० र अन्य समुदायको पनि उपस्थिति रहने अनुमान गरिएको चौधरीले एसबीएस नेपालीलाई बताए।

अस्ट्रेलियामा कति सङ्ख्यामा थारू समुदाय रहेको छ भन्ने यकिन तथ्याङ्क नभएको तर बिस्तारै विभिन्न सामाजिक सञ्जाल र अन्य माध्यमबाट पनि सो समुदायका मान्छे अगाडी आइरहेको उनको भनाई छ।

उनले भने, “यसरी थारू समुदायका मानिसहरूलाई एकत्रित गराउने उद्देश्यले अस्ट्रेलियामा नै पहिलो पटक थारू समाजको स्थापना गरिएको हो।”

पहिलो पटक थारू समुदायलाई लक्षित गरी आयोजना गरिन लागेको कार्यक्रम माघ १ गते नै गर्ने उद्देश्य राख्दा मङ्गलवार परेको कारणले धेरैले कार्यक्रममा उपस्थिति जनाउन समस्या पर्ने देखिएको उनले बताए।

माघी पर्व थारु समुदायको लागी हरेक नयाँ कामको थालनी गर्ने दिनको रूपमा रहेकाले यो नयाँ वर्ष मनाउनमा मात्र सीमित नभएको उनको भनाइ थियो।

माघी पर्वको महत्त्व :

माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले पौष माघको जाडोमा राहत मिल्ने मात्र होइन यसो गर्दा वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता पनि रहेको छ ।

एक अर्का प्रति भाइचारा बढाउने पर्वका रूपमा पनि माघीलाई लिने गरिन्छ। यस दिनको महत्त्वपूर्ण रीति मानिने सेवा ढोग वा सेवा सलाममा गाउँ घरमा रहेका मान्यजनहरूलाई आदर स्वरूप ढोग भेट गरी आशीर्वाद लिने गरिन्छ।

साथै चेलीबेटीलाई यस दिनमा चामल, दाल र केही रकम उपहार स्वरूप दिने प्रचलन रहेको छ।

'निसराउ' भनिने उक्त उपहार विवाह गरेका चेलीबेटीले माइतबाट घर फर्कदा कोसेली स्वरूप लिएर जाने गर्दछन्।

माघ एक गते देखि नै गाउँको नयाँ मुखिया (अगुवा) छान्ने गरिन्छ भने वर्ष भरिको हिसाब किताब चुक्ता गरेर नयाँ हिसाब सुरु गर्ने गरिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now