LIVE, FREE and EXCLUSIVE starting June 12 2026


Published
Updated
अस्ट्रेलियाले वर्क पर्मिट प्रदान गर्ने भन्दै फेसबुकमा आएको एक विज्ञापन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई चिन्तामा पार्ने किसिमको थियो।
सो विज्ञापनमा भान्सा सहयोगी, सरसफाइ कामदार, निर्माण सहयोगी, सिपयुक्त कामदार, नर्स र कृषि क्षेत्रमा काम गर्नेहरूका लागी वर्क परमिट दिइएको उल्लेख गरिएको छ।
सिड्नीको एक अध्यागमन तथा शैक्षिक परामर्श प्रदायकसँग आबद्ध रहेका वकिल सञ्जीव पाण्डेले यस्ता विज्ञापन भ्रामक र ठगी गर्ने नियतले राखिएको बताएका छन्।
"केही विज्ञापनहरू यस्तो पनि देखिएको थियो, जस्तै अस्ट्रेलियामा गएर भाडा माझ्ने वा घाँस काट्ने यस्ता खालका काममा कामदारहरू चाहिएको छ भनेर भनिएको छ।"
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
पाण्डे नेपालका कतिपयलाई यस्ता सूचनाले पढाइ, दक्षता वा अङ्ग्रेजी भाषा पनि नचाहिने भए पछि आफू पनि जान सक्छु भन्ने भ्रम पर्ने बताउँछन्।
विज्ञापन भ्रामक किन छ?
पाण्डेले आफूले देखेको एक विज्ञापनमा विज्ञापन जारी गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्कका लागि इमेल ठेगाना, र फोन नम्बर समेत राखेर त्यस्ता कामदारहरूलाई १ लाख पचास हजार देखि २ लाख ५० हजारसम्म तलब दिइने उल्लेख गरिएको बताए।
सो तलब नेपालका लागि धेरै देखिए पनि अस्ट्रेलियाको बसाइमा दैनिकी चलाउन पनि नपुग्ने उनको भनाइ छ।
"अस्ट्रेलियामा हामीले चलन चल्तीको भाषामा वर्किङ भिसा भन्ने ४८२ जस्ता भिसाहरूमा विदेशी कामदारहरूलाई स्पन्सर गर्न न्यूनतम तलब तोकिदिएको हुन्छ त्यो भनेको करिब ५४ हजार डलर (वार्षिक) हुन्छ, जुन अहिलेको रेटमा ४७/४८ लाख (रुपैयाँ) हुन्छ होला जुन भनेको महिनाको करिब करिब पौने ४ लाख वा ४ लाख जति हुन्छ होला।" सञ्जीव पाण्डे भन्छन्।
त्यसैले न्यूनतम तलबको मापदण्ड नै नपुगेको हिसाबले पनि उक्त विज्ञापन भ्रामक भएको बताउँछन्।
त्यस्तै विवरणसँग मिल्ने एक विज्ञापनमा भने उल्लेखित तलब रुपैयाँमा हो वा डलरमा खुलाइएको छैन भने तलब हप्तामा दिइने हो वा पाक्षिक वा मासिक के हो, लेखिएको छैन।

तर सो विज्ञापनमा अगाडी नै त्यसको लागि पैसा तिर्नु पर्ने उल्लेख गरिएको छ।
जसलाई रजिस्टर्ड माइग्रेसन एजेन्ट तथा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका पूर्व अध्यक्ष केशव कँडेल पनि ठगि गर्ने मनसायले ल्याइएको विज्ञापन हुने कुराको स्पष्ट संकेतका रुपमा व्याख्या गर्छन।
"एउटा कुरा त पैसा पहिले तिर्नु पर्छ भन्ने बित्तिकै त्यो ठुलो 'रेड फ्लाग' हो। अस्ट्रेलियाको भिसामा, भिसा निवेदन नहाले सम्म त कि त माइग्रेसन एजेन्टले फी लिनु पर्यो नत्र भने अरु केमा खर्च हुन्छ र?"
अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट असोसिएसन (एन्जा)का संस्थापक अध्यक्ष हेमन्त राज काफ्ले आफूले पनि पछिल्लो समयमा झन्डै आधि दर्जन यस्ता विज्ञापनहरू देखेको र यस्ता विज्ञापनहरू ठगि धन्धा भएको दाबि गर्छन्।
"अस्ट्रेलिया सरकारले दिदैं नदिएको अनुमतिलाई वर्क परमिट भनेर विज्ञापन छाप्नु पहिलो कुरा आफैँमा ठगि धन्धा हो।"
यस्ता कार्यहरू रोक्न नेपालको प्रहरी प्रसासनले कारवाही गर्नु जरुरि रहेको काफ्ले बताउँछन्।

"यसमा प्रहरी प्रशासनले नेपालमा कारबाही गर्नु जरुरी छ र त्यसका लागि सम्बन्धित निकायमा सञ्चार कर्मी र नागरिक समाजका हैसियतले हामीले उजुरी गरिसकेका छौँ।"
विज्ञापनमा परामर्शदाताको नाम र नम्बर पनि उल्लेख गरिएकोले अस्ट्रेलियामा रहेका यस्ता सेवा प्रदायकहरू र तिनका संस्थाहरूले पनि आफ्नो पेसा माथि नै प्रश्न चिन्ह उठ्ने यस्ता कार्यहरूलाई लिएर सजग रहनु पर्ने साथै छानबिन र कारबाहीमा सक्रिय हुनु पर्ने विचार राख्छन्।
पत्रकार काफ्लेले आफूलाई पनि नेपालबाट केही व्यक्तिहरूले उक्त विज्ञापनबारे जिज्ञासा राखेको बताए।
"वर्क पर्मिट खुल्यो, भिसाका लागि छ महिना लाग्छ अनि ५ लाख रुपैयाँ पहिले बुझाउनु पर्ने कुराहरूबारे उहाँले सोध्नु भएको थियो।"
सो कुरा सत्य नभएको र यसका बारेमा प्रहरीकोमा उजुरी गर्न सुझाव दिएको उनको भनाइ छ।