नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट म्याच आज

आज १ अगस्त २०१८ बुधबारको दिन नेपाली क्रिकेट खेलाडीहरु तथा सम्पूर्ण खेल प्रेमी नेपालीहरुको को लागि ऐतिहासिक दिन हो। छोटकरीमा ओडीआई भनेर चिनिने वन डे इन्टरन्यास्नल खेलमा नेपालले भाग लिन पाएको यो पहिलो अवसर हो।

T20 Triangular Tournament - MCC, Nepal & The Netherlands

Sompal Kami of Nepal celebrates getting a wicket during the T20 Triangular Tournament match between The Netherlands and Nepal at Lords on July 29, 2018. Source: Nathan Stirk/Getty Images

अस्ट्रेलियन पुर्वी मानक समय (एईएसटी) अनुसार आज साँझ ७ बजेदेखि सुरु हुने खेलमा नेपाली क्रिकेट खेलाडीहरु डच खेलाडीहरुसित नेदरल्यान्ड्स स्थित् एम्स्तेल्भीनमा रहेको मैदानमा भिड्दैछन्।

यस अघि, एसोसिएट स्तरमा रहेको नेपालले गत मार्च महिनामा भएको क्रिकेट विश्वकप छनौट प्रतियोगिताबाट छनौट हुँदै आगामी विश्वकपमा खेल्ने मौका  छोप्न सकेको थिएन । विश्वकपमा खेल्ने मौका गुमाए पनि उक्त छनौट प्रतियोगितामा उत्कृष्ट तीन एसोसिएट राष्ट्रमा परेर नेपालले आगामी ४ बर्षसम्मका लागि आधिकारिक एक दिवसीय खेलहरु खेल्ने हैसियत बनाउन सफल भयो। नेपालका साथै सयुंक्त अरब इमिरेट्स, स्कटल्याण्डले पनि यस किसिमको स्तरोन्नति गरेको छ।

यस्तै चार बर्षे हैसियत बनाउन सफल डच टोलीले भने आगामी क्रिकेट विश्वकप खेल्ने गरी नै आफुलाई उभ्याएको छ।  

नेपाली टोलीका कप्तान पारस खड्काले ट्विट गर्दै अतीत तथा वर्तमानका सबै खेलाडी, प्रशिक्षक, प्रशासक तथा अधिकारीहरू लगायत सबै शुभेच्छुकहरुलाई धन्यवाद भनेका छन्।

त्यस्तै, नेपाली क्रिकेट टोलीका भूतपूर्व प्रशिक्षक पुबुदु दसनायाकेले ट्विटरबाटै नेपाली क्रिकेटको लागि यो गौरवान्वित समय भएको बताएका छन्।

यो खेलको प्रत्यक्ष प्रसारण तपाईंले https://www.livebroadcast.nl मा गएर हेर्न सक्नुहुनेछ।

यस अघि नेपालले सहभागिता जनाएको ५० ओभरका खेलहरुले आधिकारिक अन्तर्राष्ट्रिय एक दिवसीय म्याचको मान्यता पाएको थिएन।

नेपाली टोली

  • पारस खड्का (कप्तान)
  • सुबासप्रसाद खकुरेल (विकेट किपर) 
  • शरद भेषावकर 
  • शक्तिप्रसाद गौचन
  • सन्दिप लामिछाने
  • ज्ञानेन्द्र मल्ल
  • दिपेन्द्र सिंह ऐरी
  • बसन्त रेग्मी
  • सोमपाल कामी
  • आरिफ शेख 
  • ललित भण्डारी 
  • करन केसी 
  • रोहितकुमार पौडेल 
  • ललितनारायण राजवंशी  
  • अनिलकुमार साह 

डच टोली

  • पिटर मेरिनस सिलार (कप्तान)
  • स्कट एन्ड्रु एड्वार्ड्स (विकेट किपर)
  • वेस्ली बर्रेसी 
  • बेन्जामिन निकोलस कुपर*
  • बास डी लीड 
  • डानिएल जेम्स टर ब्राक 
  • फ्रेडेरिक् ज्याक क्लास्सेन 
  • हिड्डे ओभरजीक 
  • माईकल जेम्स ग्राटन रिप्पन 
  • म्याक्स ओडाउड 
  • पल एड्रियेन भ्यान मिकेरेन 
  • शेन स्नेटर 
  • स्टेफन योहनेस माईबर्ग

ईसपीएनक्रिकइन्फो अनुसार लगभग १०००का हाराहारीमा दर्शकहरु टिकट काटेर उक्त खेल मैदानमा प्रत्यक्ष हेर्न आउने अनुमान छ जुन नेदरल्यान्ड्समा क्रिकेटका निम्ति निकै ठुलो कुरो हो।

१० यूरो टिकट मूल्य रहेको यो खेल तथा नेपालको कान्तिपुर टेलिभिजनलाई नेपालमा खेल देखाउन ४०,००० हजार अमेरिकन डलरमा बिक्रि गरेको अधिकारका कारण नेदरल्यान्ड्सको क्रिकेट बोर्डले आज तथा शुक्रबार हुने खेलबाट नाफा नै कमाउने कुरा पनि उक्त वेबसाइटले जनाएको छ।

सम्पूर्ण नेपाल खेल इतिहासकै लागि यो दिन सुनौलो होस् - शुभकामना!

*कुपर न्यु साउथ वेल्सको लिज्मोरमा जन्मेका खेलाडी हुन्। उनले नर्दन टेरोटेरीबाट पनि क्रिकेट खेल्ने गरेका छन्। 

थप सामाग्री:

Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now