भिक्टोरियाको बजेट आसन्न आम निर्वाचनका कारण पूर्व निर्धारित समय भन्दा करिब एक महिना ढिलो घोषणा हुन लागेको हो।
पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भिक्टोरियाका ट्रेजरर टिम प्यालसले आगामी बजेटमा कर बढ्न सक्ने बारे अहिल्यै बताउन नमिल्ने भन्दै पन्छिन खोजेका थिए।
पत्रकारहरूले बारम्बार “कर बढ्छ कि बढ्दैन” भन्ने आशयका प्रश्नहरूको लगातार वर्षा गरी नै रहे।
अन्तत्वगत्ता प्रश्न छल्ने आफ्नो प्रयास त्याग्दै उनले भने, “म कर परिवर्तन बारे कुनै पनि हल्लाहरूलाई अहिल्यै पुष्टि वा अस्वीकार गर्दिन। बजेटमा के छ भन्ने कुरा पनि समय आएपछि गरौँला।”
ट्रेजरर प्यालसका अनुसार, सङ्घीय सरकारको टुङ्गो नलाग्दासम्म राज्य बजेट तरल अवस्थामा नै रहने छ।
भिक्टोरियाली संसद्मा प्रतिपक्षीको भूमिका निभाउने लिबरल नेशनल गठबन्धनका तर्फबाट लुइज स्टेलीले बजेटलाई निर्धारित समयभन्दा पछि धकेल्नु राम्रो सङ्केत नभएको प्रतिक्रिया दिएकी छिन्।
“मेरो सोच्ने क्षमता भन्दा धेरै कल्पनाशील भएर उनीहरूले नयाँ तरिकाबाट भिक्टोरियावासीलाई कर लगाउन खोज्दछन्,” उनले भनिन्।
