७ महिनामा १४: हिमाल आरोहणमा नयाँ इतिहास रच्दै नेपाली आरोही “निम्सदाइ”

चितवनमा हुर्केका र पहिले हिमाल तिर खासै झुकाव नभएका निर्मल पुर्जा अहिले एक नयाँ कीर्तिमान बनाउन तल्लीन छन्।

Nirmal Purja MBE

Nirmal Purja MBE Source: Nirmal Purja

यसपल्टको हिमाल चढ्ने मौसममा- सगरमाथाको माथिल्लो भागमा आरोहीहरूको लामो ताँतीको तस्बिरले निकै चर्चा पायो।

नेपाल सरकारले पैसाका लागि हिमाल चढ्ने अनुमति जथाभाबी रूपमा दिएको सन्देश झल्काउन यो तस्बिर एक प्रतीक नै बन्यो भन्दा अतिशयोक्ति नहोला!

यसको लगत्तै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको प्रदूषणलाई जोडिएर निकै प्रसङ्गहरू पनि आउन थाले।

संसारभरि यसरी तरङ्ग फैलाउने उक्त तस्बिर खिच्ने व्यक्ति थिए - निर्मल “निम्स” पुर्जा।

Mount Everest
Long queues at the summit of Mount Everest this week. Source: Nirmal Purja/Twitter @nimsdai

हाल पुर्जा, संसारका आठ हजार मिटरभन्दा माथि रहेका १४ हिमालहरूलाई सात महिनाको अवधि मै आरोहण गर्ने एक अभियानका क्रममा रहेका छन्।

गत मे महिना ताका उनी सगरमाथा पुग्नुको पछाडि पनि यही एक कारण थियो ।

“हिलारी स्टेप” भनिने सगरमाथाको उक्त उकालोमा रहेको त्यस अव्यवस्थित ताँतीलाई देखेर त्यहाँको “ट्राफिक व्यवस्थापन”मा उनी आफै लागे।

सगरमाथाको टुप्पोमा पनि पुगे र तल झरे लगतै अनि फेरि छेवैमा अवस्थित संसारको चौथो अग्लो हिमाल ल्होत्से चढे।

फेरी, हेलिकप्टरमा सवार हुँदै मकालु हिमालको फेदमा पुगे, र मकालु आरोहण पनि गर्न भ्याए।

६० घण्टा भित्रै यिनले तीन वटा हिमशिखर चढ्न भ्याइसकेका थिए।

एकै दिनमा तिन-चार पटक बजार गए झैँ!

चितवनमा हुर्केका पुर्जालाई हिमालप्रति पहिले त्यत्ति साह्रो चासो थिएन। आफ्ना बुबा र दुई दाइहरू झैँ उनी बेलायती सेनामा भर्ती हुन चाहन्थे।

कडा परिश्रमका कारण उनले त्यसमा भर्ती मात्र पाएनन्- उनीहरूको विशेष सैन्य शक्तिमा समेत सहभागी भए।

सुरुका दिनहरूमा, गोर्खाली सैन्य भन्ने बित्तिकै सबैले “सगरमाथा चढेको छस्?” भनी सोध्ने गर्थे उनलाई ।

अनि उनी भने, आफूलाई हिमालहरूको बारेमा त्यत्ति थाह नभएको बताउने गर्थे।

सन् २०१२ मा भने उनी हिमाल चढ्ने रहरका करण नेपाल आए, र लोबुचे हिमाल चढे।

कीर्तिमानी इतिहास

Nirmal Purja MBE World Record Holder
Source: Nirmal Purja

सन् १९८६ मा होल्डर मेस्नरले पहिलो चोटि सबै आठ हजारभन्दा माथि रहेका हिमालहरू चढी कीर्तिमान कायम गरेका थिए।

यसपछि ३८ जनाले उनलाई पछ्याएका छन्।

तर यो कीर्तिमान धेरैले दशकौँ लगाएर पार गरेका छन्। सबैभन्दा छोटो समय नै- करिब आठ वर्ष रहेको छ।

पुर्जा भने सात महिनामै सबै चढी भ्याउने लक्ष्यमा रहेका छन्।

गत अप्रिल महिनामा सुरु भएको यस अभियान अन्तर्गत उनले ११ वटा हिमालहरू चढी सकेका छन्, र उनीसँग बाँकी तिन हिमाल चढ्न अरू दुई महिनाको समय छ।

पुर्जाले अहिलेसम्म चढी सकेका हिमालहरूमा- अन्नपूर्ण, धौलागिरी, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, मकालु, केटु, नङ्गा पर्वत, ब्रोड पिक, घेसरबर्न १ र २ रहेका छन्।

Nirmal Purja MBE
Source: Nirmal Purja

चढ्न बाँकी रहेका हिमालहरूमा मनास्लु, सिशापङ्गमा र चो ओयु रहेको छन्, जुन तुलनात्मक रूपमा सजिलो रहेको बताइन्छ।

अहिले आएर संसारका सबै आठ हजारभन्दा माथि रहेका हिमालहरू चढ्ने सात महिनामै चढ्ने उनको ध्येय रहेको छ र यसै सिलसिलामा उनी अन्तिम तीन हिमशिखरहरू आरोहण गर्ने तरखरमा यति बेला छन्।

तर चीनले चो ओयु हिमालको बाटो बन्द गरेका कारण उनको सात महिने कीर्तिमानको आशामा तुसारो लाग्न सक्छ।

हाल नेपाल सरकारले चीनसँग यसका लागि अनुमति मागी रहेको पनि बताइएको छ।

Nirmal Purja
Source: Nirmal Purja

Share

3 min read

Published

Updated

By SBS Nepali, Sameer Ghimire

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now