गएको आठ वर्ष देखि आफ्ना श्रीमान् सन्तोष अधिकारीका साथ मिलेर पुष्प व्यवसायमा संलग्न नितु न्यौपाने यस व्यवसायबारे अस्ट्रेलियाको नेपाली समुदायले खासै चासो दिने नगरेको बताउँछिन्।
अन्य धेरै व्यवसायमा हात हाल्न पछि नपर्ने नेपालीहरूले यो व्यवसायमा सामान्य लगानी र श्रममा नै राम्रो आर्थिक लाभ हुन्छ भन्ने नबुझेको उनको भनाइ छ।
त्यसैले उनले आफ्नो वेस्टमीडमा अवस्थित फ्लोरिस्ट सिटी अस्ट्रेलियाका नेपालीहरूको एक मात्र पुष्प व्यवसाय भएको दाबी गर्छिन्।
"म सम्भवत: पहिलो नेपाली हुँ (अस्ट्रेलियामा) जसले चाहिँ व्यावसायिक रूपमा फ्लोरिस्ट्री पढेर आफ्नै पसल खोलेर पुष्प व्यवसाय गरेको छु।"

हामीले यो सामाग्री तयार पारुन्जेल अस्ट्रेलियामा नेपाली समुदायका अन्य पुष्प व्यवसायी रहे नरहेको बारे बुझ्न प्रयास गर्दा अन्य कोही रहेको जानकारी प्राप्त गरेका छैनौँ।
गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले पनि सिड्नीमा एक पुष्प व्यवसायी रहेको सुनेको भए पनि अन्यका बारेमा आफूलाई जानकारी नभएको बताएका छन्।
पत्रकारिता पेसामा आबद्ध सिड्नी निवासी मनऋषि धितालले पनि अधिकारी दम्पतीद्वारा सञ्चालित फ्लावर सिटी अस्ट्रेलियाको नेपाली समुदायद्वारा सञ्चालित एक मात्र पुष्प व्यवसाय भएको बताएका छन्।
फूल व्यवसाय सुरु गर्नमा आफ्ना श्रीमान् सन्तोष अधिकारीको ठुलो हात रहेको उनको भनाइ छ।
सन्तोषले एक फूल पसलका लागी मार्केटिङ गर्दै गर्दा यो व्यवसायमा निकै फाइदा हुने बुझेको थिए। र जुन फूल पसलका लागी उनले काम गर्थे पछि त्यही पसल नै किनेर व्यवसाय सुरु गर्ने निर्णय गरे।
सो पसल खोलेदेखि उनीहरूले पछाडि फर्किएर हेर्नु परेको छैन। व्यवसाय सुरु गर्दा औपचारिक रूपमा यसबारे कुनै शिक्षा नलिएकी नितुले व्यवसाय गर्न थालेको ७ वर्ष भन्दा बढी भएपछि फ्लोरिस्ट्रीको सर्टिफिकेट लिएकी हुन्।

कोभिड -१९ महामारीको समयमा पसलका धेरै कर्मचारी काममा आउन नसक्ने भए पछि आफ्नो व्यवसायका लागी आफूले नै यो काम बारे बुझ्नु पर्ने देखेर उनले टेफमा यसबारे पढ्ने निधो गरेकी थिइन्।
थोरै पैसा तिरेर पढ्न पाइने र पढ्दा आवश्यक पर्ने सामाग्रीहरू पनि त्यहीँ उपलब्ध गराइने कुराले उनी हर्षित थिइन।
तर उनले पढ्ने समयमा आफू बाहेक अरू कोही नेपालीहरू त्यहाँ देखिनन्। साथै उनलाई नराम्रो त त्यतिखेर लाग्यो जब उनलाई पढाउने शिक्षकले आफ्नो १५ वर्षको अध्यापन अनुभवमा कोही नेपालीलाई नपढाएको बताए।
हामी नेपालीहरू सबै चिजमा पैसा खर्च गर्छौँ कार्यक्रम राम्रो बनाउन खाना देखि लिएर सबै चिजमा खर्च गर्छौँ तर फूलमा चाहिँ पैसा हालेको पैसा खेर फालेको भने जस्तो हुँदो रै'छ।
तुलनात्मक रूपमा निकै कम व्यापार हुने ग्यारेजबाट गरिने पोसाकहरूको व्यवसाय गर्न उद्धत नेपाली समुदायमा त्यहीँबाट नै सुरु गर्न सकिने पुष्प व्यवसाय बारे किन थाहा छैन भनेर उनलाई दुख लागेको थियो।
न्यौपानेसँगको हाम्रो कुराकानी सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
त्यहाँ पढ्ने विद्यार्थीहरू कतिलाई अङ्ग्रेजी पनि राम्रोसँग बोल्न नआउने सम्झँदै उनी भन्छिन् , " जो पनि पहिले नेपालबाट नै आउनेहरूमा पनि धेरै आत्मविश्वास भएको र निकै राम्रो अङ्ग्रेजी भाषाको ज्ञान हुन्छ। उनीहरू चाहिँ कोही पनि छैन अनि जसलाई राम्रो सँग अङ्ग्रेजी बोल्न आउँदैन उनीहरू भने पढाइको बिचबाट नै घर बाटै व्यवसाय सुरु गर्छन्।"
नेपाली समुदायमा व्यवसाय गर्नेबारे त कसैले सोचेका छैनन् नै उनी भन्छिन् उनीहरूले फूलको प्रयोग पनि खासै गर्दैनन्।
"हामी बाहेक अरू समुदायका लागी त फूल एकदमै महत्त्वपूर्ण हुन्छ। अब मेरो ग्राहक एक वर्षमा बिस पच्चीस चोटि कति धेरै पैसा खर्च गर्ने देख्छु। "

विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने फङ्गशन सेन्टरहरूका नेपाली व्यवसायी देखि ग्राहकहरू कसैले पनि फूलका लागी पैसा छुट्टाएको नितुले देखेकी छैनन्। त्यसैले त उन लाई यति लामो व्यावसायिक जीवनमा हातमा गनेर ५/६ जना नेपालीले मात्र आफ्नो पसल बाट फूल किनेको सम्झना छ।
"हामी नेपालीहरू सबै चिजमा पैसा खर्च गर्छौँ कार्यक्रम राम्रो बनाउन खाना देखि लिएर सबै चिजमा खर्च गर्छौँ तर फूलमा चाहिँ पैसा हालेको पैसा खेर फालेको भने जस्तो हुँदो रै'छ।"
"नेपाली समुदायमा त फुलको प्रयोग गर्ने चलन छैन तर यसबाहेक अन्य कति धेरै मान्छेहरूले कति धेरै अवसरहरूमा फूलको प्रयोग गर्छन्। त्यसैले यो व्यवसायमा छिरेपछि यो कहिले पनि तल जाँदैन भन्ने थाहा भयो ।"
जन्मदिन, विवाह, भोजहरू देखि लिएर अन्तिम संस्कारमा समेत फूलको नै प्रयोग गर्ने समुदायहरू धेरै भएकोले यी दम्पतीलाई यो व्यवसायमा लागेर पछुताउनु नपर्ने निश्चित भइसकेको थियो।
त्यसैले त सन् २००८ ताका आफू सँगै अस्ट्रेलिया आएका आफ्ना साथीहरूले घर किनी रहँदा उनीहरूले भने आफ्नो बचत साथै बैङ्कबाट ऋण लिएर पुष्प व्यवसायमा हात हाले।

"यो सात आठ वर्षमा हाम्रो जीवन कहाँबाट कहाँ परिवर्तन भा'को छ।"
सामान्य अवस्थामा त उनीहरूको व्यवसायले राम्रो गरिरहेकै थियो तर कोभिड -१९ महामारीको समयमा कति व्यवसायहरूको ढोका बन्द भइरहँदा उनीहरू भने साबिक भन्दा बढी व्यस्त थिए।
एक होटेल समेत सञ्चालन गर्दै आएका यी दम्पतीलाई कोरोनाभाइरस महामारीका कारण जारी लकडाउनको समयमा त्यसलाई चलाउन धौ धौ परेको थियो भने यता पुष्प व्यवसायमा भ्याई नभ्याई थियो।

सो समयमा ग्राहकहरूले अनलाइनबाटै धेरै फूलहरू किनेको उनको भनाइ छ।
नितु भन्छिन् , उनको रेस्टुरेन्टमा कामदारहरूले काम गर्ने समय गुमाउँदै गर्दा उनी लगायत अन्य सबै पुष्प व्यवसायीहरूलाई त्यो समयमा कामदारको अभाव महसुस भएको थियो।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
