शरणार्थीहरूको बारेमा सकारात्मक सचेतना वा उनीहरूको परिस्थितिको बारेमा अरूलाई बुझाएर एक विविध र समावेशी अस्ट्रेलियन समुदाय निर्माण गर्न योगदान गरेको व्यक्तिलाई सम्मानित गर्ने उद्देश्य सहित स्थापना गरिएको यो पुरस्कारका लागि मनोनयन गर्ने समयसिमा शुक्रवार, २८ फेब्रुअरीमा सकिँदै छ।
एसबीएसको 'द वर्ल्ड गेम' फुटबल कार्यक्रमका प्रसिद्ध खेलकुद प्रस्तोता लेस मर्रीको नाममा यस पुरस्कारको स्थापना गरिएको हो।
मर्री ११ वर्षको उमेरमा सन् १९५६ मा हङ्गेरीबाट शरणार्थीको रूपमा अस्ट्रेलिया आएका थिए।
अस्ट्रेलियाका लागि युएनएचसीआरका कार्यकारी प्रमुख (सीइयो) टु्डी मिसेल भन्छिन्, ”अस्ट्रेलियाभरि धेरै शरणार्थीहरू छन्, जसले विभिन्न परिस्थितमा हाम्रो देशलाई आफ्नो मानेर कडा परिश्रम गरेर समृद्ध बनाउन योगदान दिएका छन्। त्यसैले समुदायमा उनीहरूको योगदानको खुसी मनाउँदै मनोनयन बुझाउन अनुरोध गर्दछौँ।”
एसबीएसका प्रबन्ध निर्देशक जेम्स टेलर भन्छन्, “यो पुरस्कार लेस मर्रीको विरासतमा समर्पित छ। एसबीएसले आफ्नो ५० औँ वार्षिकोत्सव ९ जुन २०२५ मा मनाउँदै गर्दा, हामी सबै अस्ट्रेलियनहरूको योगदानलाई गर्वका साथ सम्मानित गर्छौँ।
यो पुरस्कारले ती व्यक्तिहरूलाई सम्मानित गर्दछ जसले यहाँ शरणार्थीको रूपमा नयाँ जीवन सुरुवात गरेका छन्, समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् र अस्ट्रेलियालाई अझ राम्रो बनाउन मद्दत गरेका छन्।जेम्स टेलर
“यो पुरस्कारले चौथो वर्षसम्म आइपुग्दा यसले हाम्रा समुदायहरूलाई समृद्ध बनाउन शरणार्थीहरूको भूमिका रहेको स्वीकार गर्दै हङ्गेरीबाट शरणार्थीको रूपमा अस्ट्रेलियामा आएका लेसको यात्रासँगै खेलमा आफ्नो कामले जसरी सबैलाई एकताबद्ध गरेर सामूहिकता बनाउने उनको कामको पद्धति प्रतिबिम्बित गर्छ।”
सन् २०२४ मा, यो पुरस्कार पूर्व अफगान शरणार्थी हेडायत ओस्यानलाई प्रदान गरिएको थियो।
उनले एक सामाजिक उद्यमको स्थापना गरेर शरणार्थीहरूलाई रोजगार दिएका थिए।
त्यस्तै सन् २०२३ मा, पूर्व दक्षिण सुडानी शरणार्थी अनीयेर यूललाई यस पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
उनले खेल, महिला सशक्तीकरण र शरणार्थी अभियानहरूमा विविध उपलब्धिहरू हासिल गरेको थिइन्।
सन् २०२२ मा, पहिलो पुरस्कार पूर्व युगोस्लाभियाका शरणार्थी डानिजेल मालबसालाई प्रदान गरिएको थियो, जसले शरणार्थीहरूका लागि वकिलको रूपमा कानुनी सहयोग गरेका थिए।

यस वर्षको विजेताले एसबीएसबाट १०,००० डलर प्राप्त गर्नेछन्।
पुरस्कार जित्न व्यक्तिले शरणार्थीहरूको लागि सकारात्मक सचेतना फैलाउन काम गरेको हुनुपर्छ।
मनोनयनहरू LMA@unrefugees.org.au मा इमेल गर्नुपर्नेछ। मनोनयन दर्ता गर्दा २५० शब्दमा आफ्नो बारेमा छोटो जानकारीसँगै समुदायमा प्रभाव पारेका कामका उदाहरणहरू सहित तपाईँको बारेमा जानकारी दिन सक्ने दुईजना व्यक्तिको नाम समावेश गर्नुपर्नेछ।
थप जानकारी यहाँँ रहेकाे छ।
