खडेरीका कारण सिड्नी, ब्लु माउन्टेन र इलावारा क्षेत्रमा आज देखि पानी प्रयोगमा थप कडाइ गर्ने नियम लागु भएको छ।
गत जुन १ देखि न्यु साउथ वेल्समा पानी प्रयोग सम्बन्धी पहिलो चरणको प्रतिबन्ध लागु भएको थियो। तर सिड्नी लगायतका स्थानहरुमा पानी आपूर्ति गर्ने बाँधहरुमा पानीको मात्रा घटेपछि राज्य सरकारले दोस्रो स्तरको नियम आजदेखि लागू गराउने घोषणा गरिएको हो।
उक्त प्रतिबन्ध अनुसार, सिड्नीवासीहरुले आफ्नो घर बाहिर ढलान गरिएका ठाउँहरूलाई पानीले सफा गर्नदेखि, सवारीसाधन धुन र आफ्ना बगैँचाहरुमा बिहान १० बजे देखि साँझ ४ बजेसम्म पानी हाल्न निषेध रहको छ।
राज्यकी जलश्रोत मन्त्री मेलिण्डा पेभीका अनुसार यसपटक सन् १९४० पछि सिड्नीका बाँधहरुमा सबैभन्दा कम मात्रामा पानी भण्डार भएका छन्।
दोस्रो स्तरको पानी प्रयोग प्रतिबन्ध के हो?

सिड्नी वाटरका पिटर ह्याडफिल्डका अनुसार यो दोस्रो दर्जाको प्रतिबन्धले सर्वसाधारण र व्यवसायहरूले घर र भवन बाहिर कसरी पानी प्रयोग गर्न पाउँछन् भनेर निर्धारण गरिदिनेछ।
“अब सबैले आफ्नो बगैँचामा पानी हाल्न प्रयोग गरिरहेको पाइप र पानी छर्किने ‘स्प्रिङ्क्लर्स’ थन्काए हुन्छ,” उनले भने।
“यो दर्जाको प्रतिबन्ध लागू भएको अवस्थामा तपाईंले आफ्नो बाग-बगैँचामा कि त बिहान १० बजे भन्दा अगाडी वा ४ बजे पछि मात्रै पानी हाल्न पाउनु हुनेछ। त्यो पनि बाल्टिनमा पानी थापेर।”
“आफ्नो मोटर गाडी सफा गर्न पनि तपाईँ कि त व्यावसायिक रूपमा सवारीसाधन सफा गर्ने कहाँ जानुपर्छ नत्र भए बाल्टिनमा पानी भरेर सफा गर्नुपर्छ,” ह्याडफिल्डले भने।
उनका अनुसार सिड्नी वाटरका अधिकृतहरूद्वारा मानिसहरूले पानी प्रयोगबारेका नियमहरू पालना गरे वा नगरेको बारे अनुगमन सुरु गरिसकेका छन्।
“पानीको प्रयोगमा लागू गरिएका प्रतिबन्धहरूको पालना नगरेको भेटिएमा, व्यक्तिका हकमा २२० डलर र व्यापार-व्यवसायका हकमा ५५० डलरसम्मको जरिवाना हुनसक्छ,” पिटर ह्याडफिल्डले भने।
भवन बाहिर पानी प्रयोग गर्ने व्यापार व्यवसायहरूले भने सिड्नी वाटरमा पानी प्रयोग गर्न छुट पाउँ भनेर निवेदन हाल्न सक्ने पनि बताइएको छ।
समय अगावै आएको प्रतिबन्ध

सामान्यतः पानी प्रयोग माथिको दोस्रो चरणको प्रतिबन्ध बाँधहरूको जल सञ्चय ४० प्रतिशत पुगे पछि लागू हुन्छ। हाल बृहत् सिड्नीका बाँधहरू ४६ प्रतिशत भरिएका छन् तर आगामी महिना उक्त स्तरमा ४ प्रतिशतको गिरावट आउने प्रक्षेपण राज्य सरकारको रहेको छ।
तसर्थ, समय अगावै दोस्रो दर्जाको प्रतिबन्ध लागू गर्न आवश्यक रहेको प्रिमियर ग्लाडिस बेरीजिक्लीयनलेकेहि समय अगाडी बताएकी थिइन्।
“पानीको आपूर्तिमा कुनै समस्या नरहोस् भनेर हामीले यस्तो कदम चालेका हौँ। विगतमा भन्दा यसपालि निकै द्रुत गतिले पानीको सञ्चय घटिरहेको हामीले अनुभव गरेका छौँ, त्यसैले पनि सतर्कता पूर्वक यो कदम चालिएको हो,” उनले भनिन्।
कम नुहाउनुहोस्

आउँदा दिनहरूमा हुने पानी प्रयोगको मात्रा हेरेर थप प्रतिबन्ध लागू हुनसक्ने सिड्नी वाटरका पिटर ह्याडफिल्डको भनाई छ।
उनका अनुसार, मानिसहरूले पानी फारो गरेर चलाए, थप प्रतिबन्ध लागू नगरिन सकिने पनि बताए।
“घरेलु रूपमा हुने कूल पानी प्रयोगको तीन चौथाइ हिस्सा घर भित्रै हुन्छ। पानीको कम खर्च गर्न मानिसहरू धेरै उपायहरू अपनाउन सक्छन्; भाँडा माझ्ने डीशवाशर र लुगा धुने वाशिंगमेशिन जस्ता पानी खपत गर्ने उपकरणहरू पुरा भरेर मात्र चलाउने, घर भित्र बाहिर चुहावट छ भने तत्काल मर्मत गर्ने अनि सबैभन्दा महत्त्वपूर्ण र सजिलो भनेको चाहिँ नुहाउने अवधि घटाउने र अनावश्यक रूपमा ननुहाउने नै हो,” ह्याडफिल्डले भने।
“मानिसहरूले एक मिनेट कम नुहाउँदा नौ लिटर पानी बचत हुन्छ, एक जनाको हकमा त्यो धेरै हो जस्तो नलाग्ला तर सिड्नीभरका ५० लाख मानिस सबैले आफ्नो नुहाउने समयमा एक मिनेट घटाए करिब साँढे चार करोड लिटर पानी दैनिक रूपमा बचाउन सकिन्छ।”
वेस्टर्न अस्ट्रेलियामा पनि प्रतिबन्ध

अस्ट्रेलिया भर नै खडेरी र अनावृष्टिको स्थिति विद्यमान भएता पनि हाल न्यु साउथ वेल्स बाहेक वेस्टर्न अस्ट्रेलियामा मात्र जल प्रयोग माथि केही प्रतिबन्ध लागू छ।
उक्त राज्यमा लागु आंशिक प्रतिबन्ध अनुसार पर्थ र मंडूराहका बासिन्दाहरूले हप्तामा दुई दिन मात्र ‘स्प्रिङ्क्लर’ प्रयोग गर्न सक्छन्। यस कार्यका लागि बोरिङ गरिएको पानी प्रयोग गर्नेहरूका लागि भने एक दिन थप प्रदान गरिएको छ।
हाल साउथ अस्ट्रेलिया, राजधानी क्यानबेरा र भिक्टोरियामा जल संरक्षणका उपायहरू लागू गरिएका छन् भने डार्विन, तास्मानिया र ब्रिसबेनमा पानी प्रयोगमा कुनै रोकटोक छैन।
धारामा पानी नआउन पनि सक्छ

यस भन्दा अघि, अक्टोबर महिनामा जारी एक रिपोर्टले दुर्गम न्यु साउथ वेल्सका केही सहरहरूका सबै पानीका स्रोतहरू आउँदा दिनहरूमा सुक्न सक्ने सम्भावना रहेको बताइएको थियो ।
राज्यमा नदी व्यवस्थापन र पानी आपूर्ति गराउने सरकारी निकाय वाटर एनएसडब्ल्युद्वारा प्रकाशित उक्त रिपोर्टले सन् २०२२ को जनवरी महिनासम्ममा सिड्नीमा पनि पिउने पानीको सङ्कट हुने अनुमान गरेको छ।
यस क्रममा, सिड्नीबाट झन्डै ४०० किलोमिटर उत्तर पश्चिममा रहेको डब्बोका साथै कोबार, निन्गन र नारोमाइनमा सबैभन्दा पहिला पानी सकिने अनुमान वाटर एनएसडब्ल्युको रहेको छ।
स्थानीय मक्वारी नदी सुक्ने क्रममा रहेको कारण त्यस वरिपरिका स्थानहरूमा पानीको सङ्कट झनै गम्भीर हुने बताइएको छ। यस बारे थप पढ्नुहोस्
किन लागू हुँदैछ त यस्तो प्रतिबन्ध?

एक शब्दमा भन्नुपर्दा, खडेरी। सिड्नी र आसपासका क्षेत्रहरूमा बस्नुहुन्छ भने फुङ्ग उडेका बोट बिरुवाका पातहरू, सुकेर खैरै भएका बाटा वरिपरिका घाँसहरू अनि ठुलो मात्रामा पानी नपरेका थुप्रै दिन भएको देख्नु भएकै होला।
“ग्रेटर सिड्नी”का अधिकांश हिस्साहरू लगायत न्यु साउथ वेल्स राज्यको धेरै भूभाग केही समयदेखि खडेरीको चपेटामा छ।
अरू केही उपाय छैनन् त?

राज्य सरकारले पानी सङ्कटको पूर्वानुमान गरेरै केही समय अघि सिड्नीको “डिस्यालिनेशन” कारखाना चालु गरिसकेको अवस्था छ।
जनवरीमा पानी सञ्चय घट्दै ६० प्रतिशत पुग्दा उक्त “डिस्यालिनेशन” भनिने सामुद्रिक पानीबाट नुन निकाली पिउन योग्य बनाउने कर्नेलमा रहेको कारखाना प्रयोगमा ल्याएको थियो।
उक्त कारखाना अघिल्लो दशकमा पनि यस्तै व्याप्त खडेरीका कारण तात्कालिन लेबर राज्य सरकारले आफ्नो चुनावी घोषणा अनुरूप दुई अर्ब डलरको लागतमा निर्माण गरेको थियो।
