विगत केही दिन अघि देखीको अविरल वर्षाका कारण वारागाम्बा बाँधबाट अत्यधिक जलप्रवाह भई नेपियन-हक्बरी नदीको बहाव एकदमै बढेर ठुलो बाढी आउने सम्भावनाका बिच न्यु साउथ वेल्स राज्य सरकारले उक्त आदेश जारी गरेको हो।
हाल २,८०० बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएता पनि सङ्घीय आपतकालिन व्यवस्था मन्त्री डेभिड लिटिलप्राउडका अनुसार मौसम पूर्वानुमानहरू सही ठहरिएमा यो सङ्ख्या ५४,००० सम्म पुग्न सक्ने बताएका छन्।
"हामी त्यस्तो स्थितिसम्म पुग्नु नपरोस् भनेर आस गरिरहेका छौँ तर यसले यो समस्या कत्ति ठुलो छ भनेर देखाउँछ," उनले एबीसी रेडियोसँगको कुराकानीका क्रममा भने।
"स्थानीय बासिन्दाहरूले यो निकै गम्भीर अवस्था हो भनेर बुझ्न जरुरी छ। यो बुझेर तयारी अवस्थामा नरहे उनीहरूले आफू तथा आफ्ना परिवारजनको जीवन सङ्कटमा पार्नेछन्।"
राज्य आपतकालिन सेवा (एसइएस)का अनुसार हक्सबेरी नदीको जल स्तर बढेर १५ मिटर माथिसम्म पुग्न सक्नेछ।
"यसबाट बृहत् रूपमा पानी, बिजुली बत्ती, ढल, दूरसञ्चार र ग्याँस जस्ता दैनिक उपभोग्य सेवाहरू प्रभावित हुनेछन् जुन पुनः सुचारु हुन हप्तौँदेखि महिनौँसम्म लाग्न सक्नेछ," एसइएसले भनेको छ।
मौसम विभागका अनुसार, उत्तर पूर्वी सिड्नीले सन् १९६१ यताकै सबैभन्दा ठुलो बाढीको सामना यसपालि गर्दै छ।
स्कूहरू बन्द

आधा शताब्दी यताकै सबैभन्दा ठुलो बाढीका कारण न्यु साउथ वेल्सका लगभग १५० जति विद्यालयहरू सोमबार बन्द भएका छन्।
यसरी बन्द हुने स्कूलहरूमा अधिकांश उत्तरी न्यु साउथ वेल्स, हन्टर उपत्यका, सेन्ट्रल कोस्ट र पश्चिमी सिड्नीमा रहेको बताइएको छ।
तर भारी वर्षाको अवस्था कायमै रहे, थप विद्यालयहरू पनि बन्द हुन सक्ने अधिकारीहरूले जनाएका छन्।
सेभेन नेटवर्कसँग कुरा गर्दै राज्यकी शिक्षा मन्त्री सेरा मिचेलले सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय लिने बताइन।
न्यु साउथ वेल्स शिक्षा विभागले यसबारे अद्यावधिक जानकारी यहाँ प्रकाशित गरेको छ।
गम्भीर मौसमी अवस्था बारे जान्न सार्वजनिक सूचना र सोधपुछ केन्द्रलाई दिनको कुनै पनि समय १८०० २२७ २२८ मा फोन गर्नुहोस्। बाढीका कारण तत्काल सहयोगको खाँचो परे स्टेट इमर्जेन्सी सर्भिस - एसइएसलाई १३२ ५०० मा सम्पर्क गर्नुहोस्।के तपाईँ पनि यस प्राकृतिक प्रकोपबाट प्रभावित हुनुभएको छ? आफ्नो अनुभव बाँड्न मन भए हामीलाई सम्पर्क गर्नुहोस्!
