एक “चाइल्ड केयर” सिन्डिकेटले निकै जटिल प्रक्रिया प्रयोग गरी सरकारी अनुदान बापतको लाखौँ डलर घोटाला गरेको कथित आरोपमा संलग्न १८ जनालाई न्यु साउथ वेल्स प्रहरीले हिजो हिरासतमा लिएको जनाएको छ।
२४, ४० तथा ४९ वर्षका ती पुरुषहरू र २१ देखि ४४ वर्षका महिलाहरूलाई न्यु साउथ वेल्स प्रहरीले हिजो पश्चिमी सिड्नी एवं वलंगगंगबाट पक्राउ गरेको हो।

दस महिना लामो उक्त अनुसन्धानको क्रममा अस्ट्रेलियन क्रिमिनल इन्टेलीजेन्स कमिसन लगायत राज्य तथा सङ्घीय शिक्षा विभागहरूको सहकार्य रहेको बताइएको छ।
स्ट्राइक फोर्स मर्करी नामकरण गरिएको एक विशेष अनुसन्धान कार्यदलले अगिल्लो वर्षको जुलाई महिनादेखि “फ्यामिली डे केयर”हरूद्वारा कथित रूपमा गरिँदै आएको भनिएको धोकाधडीपूर्ण कार्यको जाँच सुरु गरेको पनि बताइएको छ।
प्रहरीका अनुसार कथित रूपमा उक्त आपराधिक गिरोहले सङ्घीय सरकारको “चाइल्ड केयर” अनुदान योजना अन्तर्गत ४० लाख डलर गैरकानूनी रूपमा दाबी गरेको थियो।
उक्त सिन्डिकेटका निर्देशकले वैध “चाइल्ड केयर” व्यवसाय चलाएको भए तापनि हरेक दुई हप्तामा उनले आफ्नो तलब स्वरूप झन्डै ३०,००० डलर ठगी गर्दै घर लग्ने गर्दथे भनी प्रहरीले आक्षेप लगाएको छ।

“हामीले पहिलो पटक यत्तिका मानिसहरूलाई यस्तो धोकाधडीपूर्ण गतिविधि सञ्चालन गरेको अभियोगमा एकै चोटि पक्राउ गरेका हौँ,” उप महानिरीक्षक स्तुवर्ट स्मिथले पत्रकारहरूलाई आज बिहान बताए।
“उनीहरू वैध व्यवसायमा संलग्न रहेको भान हुन्थ्यो। त्यहाँ टाइम सिटहरू थिए, हेरचाहमा रहेका भनिएका बाल-बालिकाका तस्बिरहरू थिए, बाल-बालिकाहरूलाई खेल्न भनी छुट्ट्याइएको ठाउँहरू थिए र व्यवसायको प्रशासनिक संरचना पनि थियो।”
“केवल थिएनन् त हेरचाहमा रहेका भनिएका बाल-बालिकाहरू।”
स्मिथका अनुसार, उक्त गिरोहले साँच्चीकैका बाल-बालिकाहरूको नाम लिएर सरकारसँग अनुदान स्वरूप रकम असुल्ने घन्धा चलाई रहेको थियो।
“ठुलो स्तरमा निकै चातुर्यका साथ उनीहरूले आफ्नो आपराधिक क्रियाकलापलाई सञ्चालन गरिरहेको हाम्रो अनुसन्धानबाट खुल्न आएको छ,” उनले अगाडी भने।
“यस स्तरको परिष्कृत कार्य त हामीले गैर-कानूनी ठहर भएका मोटरसाइकल ग्याङ्ग र अस्ट्रेलियामा सञ्चालित अन्य ठुला एवं आपराधिक गिरोहहरूमा समेत देखेका छैनौँ।”
उक्त गिरोहमा १५० अभिभावकहरूसम्मको संलग्नताको आशङ्का व्यक्त गर्दै स्मिथले थप गिरफ्तारीहरू हुनसक्ने पनि खुलाए।
“हाम्रो अनुसन्धानले करिब १५० अभिभावकहरूसम्मले उक्त गिरोहको योजनामा संलग्नता जनाई सरकारी अनुदान बापतको रकम बुझेको देखाएको छ,” उनले भने।

