सिड्नी निवासी सरोज पाण्डे माथि भएको कथित हातपातबारे घटनास्थलमा उपस्थित थप एक पुरुषसँग आफूले सोधपुछ गर्न चाहेको न्यु साउथ वेल्स प्रहरीद्वारा बताइएको छ।
शनिवार अप्रिल २४, रातिको ९:४० बजे तिर रकडेलको किंग स्ट्रिट स्थित एक रेस्टुरेन्टमा झगडा भएको रिपोर्ट पाएपछि सेन्ट जोर्ज इलाका कमान्डका केही प्रहरी घटनास्थल पुगेका थिए।
सोधपुछका क्रममा ३७ वर्षीय पाण्डेको "शिरमा धेरै पटक प्रहार गरिएको भनि प्रहरी समक्ष रिपोर्ट गरिएको" न्यु साउथ वेल्स प्रहरीका प्रवक्ताले एसबीएस नेपालीलाई बताए।
घटनास्थल बाट एक ३३ वर्षीय पुरुषलाई प्रहरी द्वारा हिरासतमा लिइएको, र कोगराह स्थित प्रहरी चौकी लगेर उनीमाथि "सामान्य मारपिट" को आरोप लगाइएको प्रहरीको भनाइ छ।
साथै आगामी मे १८ मा सदरल्याण्ड स्थानीय अदालतमा उपस्थित हुने शर्तका साथ उक्त पुरुषलाई जमानतमा रिहा गरिएको छ।

सरोज पाण्डेले चाहिँ नेपालीहरूले भरिएको रेस्टुरेन्टमा आफू माथि नेपाली समुदायका सदस्यहरूबाट नै भएको कथित मारपिट बारे दुख व्यक्त गरेका छन्।
रेस्टुरेन्टमा उपस्थित एक व्यक्तिसँगको बहसको क्रममा उक्त घटना भएको उनले एसबीएस नेपालीलाई बताए।
"मलाई केही भएको भए मेरो परिवारलाई के हुने थियो?" उनले प्रश्न गरे।
यस क्रममा न्यु साउथ वेल्स प्रहरीद्वारा उक्त घटनाबारे छानबिन जारी रहेको र घटनास्थलमा उपस्थित एक अर्का व्यक्तिसँग आफूले सोधपुछ गर्न चाहेको बताएको छ।
"भारतीय उपमहाद्वीपका मानिसको जस्तै हुलिया भएका र मध्यमदेखि ठुलो शारीरिक बनौटको रहेका" भनी प्रहरीद्वारा उक्त पुरुषको वर्णन गरिएको छ।
साथै उनलाई अन्तिम पटक सेतो शर्ट, कालो आधा बाहुला भएको पफर ज्याकेट, गाढा प्यान्ट, कालो घेरा भएको सेतो टोपी र कालो चस्मा लगाएको देखिएको पनि प्रहरीको भनाइ छ।
सरोज पाण्डेले आफ्नो जस्तो कथित हिंसाको सामना गर्नुपरेका नेपाली समुदायका अन्य सदस्यहरूले पनि "प्रहरी समक्ष उजुरी गर्न आवश्यक रहेको" जोड दिएका छन्।

