कथित भ्रष्टाचारको आरोप लागेका एक पुर्व सांसदसंगको आफ्नो "नजिकको व्यक्तिगत सम्बन्ध रहेको" स्वीकार गरेकि ग्लाडिस बेरेजिक्लियनले प्रिमियरको पद बाट राजिनामा नदिने बताएकी छन्।
व्यक्तिगत फाइदाका लागि आफ्नो पदको कथित दुरुपयोग गरेको आरोप लागेका पुर्व सांसद डारिल मग्वायर माथि भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग द्वारा हाल छानबीन गरिएको छ।
मग्वायरले सन् २०१८ मा संसद बाट राजिनामा दिएका हुन् जब एक छुट्टै छानबीनको क्रममा भवन निर्माण व्यवसायीहरुको सहयोगका लागि आफुले पैसा मागेकोबारे उनले स्वीकार गरेका थिए।
आज, सोमबार, स्वतन्त्र आयोग समक्ष बयान दिंदै प्रिमियर बेरेजिक्लियनले मग्वायरसंग आफ्नो "नजिकको व्यक्तिगत सम्बन्ध" रहेको र एक महिना अगाडी सम्म पनि आफु मग्वायरको सम्पर्कमा रहेको बताइन।
साथै मग्वायरले केहि व्यवसायिक रुचिहरु बारे आफुलाई बताएता पनि, त्यसबारे सम्बन्धित निकाय समक्ष उनले जानकारी गराएको आफुले सोचेको पनि बेरेजिक्लियनले उक्त आयोग समक्ष स्वीकार गरिन।
आयोग समक्षको बयान पछि आयोजना गरिएको एक पत्रकार सम्मेलनमा आफ्ना ट्रेजरर डोमिनिक पेरोटेट र स्वास्थ्य मन्त्री ब्र्याड हाजार्डलाई साथमा राख्दै प्रिमियर बेरेजिक्लियनले आफुले गल्ति गरेको बताइन। तर त्यस बापत राजिनामा दिने चाहिं आफ्नो कुनै योजना नरहेको उनले जोड दिईन।
"जे भयो त्यसप्रति म धेरै दुखित छु, तर म न्यु साउथ वेल्स निवासीहरुलाई आश्वस्त पार्न चाहन्छु कि मैले सधैं राज्यको हीतलाई प्राथमिकतामा राख्दै आएकी छु, मैले गर्ने सबै काममा," उनले भनिन्।
"मेरो व्यक्तिगत जीवनमा मैले यो गल्ति गरेता पनि, न्यु साउथ वेल्स जनताका सेवाका लागि मैले सक्दो मेहनत गर्नेछु। यो महिले सधैं गर्दै आएकी छु।"
"अहिले जानकारीमा आएको कुरा मलाई त्यसबेलानै थाह भएको भए, मैले ती व्यक्तिगत निर्णयहरु गर्दिन थिएँ।

न्यु साउथ वेल्स कि विपक्षी नेत्री जोड़ी मकाइले चाहिं प्रिमियर बेरेजिक्लियनलाई एक "ठग" को संज्ञा दिंदै आफ्नो पद बाट राजिनामा दिनुपर्ने माग गरेकी थिइन्।
"आज भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग समक्ष उनले दिएको यतिको ठुलो बयान पछि, उनि यस राज्यको प्रिमियर रहिरहने अवस्थामा रहेकी छैनन्," लेबर नेत्रीले भनिन्।
"एक अपमानित सांसदसंग उनले सम्बन्ध बनाइन र एक महिना अगाडी सम्म पनि उक्त सम्बन्ध कायम रहनुले उनको निर्णय गर्ने क्षमता धेरै कमजोर रहेको देखाउदछ। "
तर न्यु साउथ वेल्सका यातायात मन्त्री एन्ड्रु कोन्सट्यान्स लगायत मन्त्रीमण्डलका प्रायः सदस्यहरुले आफ्ना प्रिमियरको समर्थन गरेका छन्।
पत्रकारहरु समक्ष बोल्दै कोन्सट्यान्सले भने कि, "यस राज्यका लागि कडा मेहनत गरेकी प्रिमियरलाई सम्मान र आदर प्रदान गरिनु पर्दछ।"

आयोग समक्षको बयान
भ्रष्टाचार विरुद्धको आयोग समक्ष बयान दिंदै ग्लाडिस बेरेजिक्लियनले भनिन् कि सन् २०१५ देखि डारिल मग्वायर र उनि बीच "व्यक्तिगत सम्बन्ध" सुरु भएको थियो। तर आफु "धेरै गोप्य व्यक्ति" भएकोले उक्त सम्बन्धलाई पनि सार्वजनिक नगरेको उनले बताइन।
साथै आफु दुई बीच गत १३ सेप्टेम्बर मा अन्तीम पटक कुराकानी भएको पनि बेरेजिक्लियनले बताइन।
र आइक्याक समक्ष बयान दिन आफु तयार भएपछि मात्र मग्वायरसंग कुरा गर्न बन्द गरिएको पनि उनको भनाइ थियो।
आफुहरु बीचको कुराकानीका क्रममा मग्वायर द्वारा आफ्नो आर्थिक अवस्थाबारे बताइएता पनि ती भनाइहरु प्रति या त आफ्नो "रुचि नरहेको" या अपत्यारिलो भएकोले आफुले केहि कदम नचालेको बेरेजिक्लियनले बताइन।
केहि गलत काम भएको आफुले देखेको भए आफुले त्यसलाई कहिले बेवास्ता नगर्ने उनले जोड दिईन।
डारिल मग्वायरले पश्चिम सिड्नी कि एक महिलालाई प्रिमियरको इमेल ठेगाना प्रदान गरिएको भनि गत हप्ता आयोग समक्ष बताइए पछि प्रिमियर ग्लाडिस बेरेजिक्लोयनलाई पनि बयान दिनु परेको हो।
उक्त महिलालाई आर्थिक लाभ हुने गरि उनको जग्गा सम्बन्धि नियमहरु परिवर्तन गर्न बेरेजिक्लियनले सहयोग गर्न सक्ने संकेत मग्वायारले दिएको बताइएको छ।
आयोगको छानबीन अझै जारी रहेको छ।
