न्यु साउथ वेल्सका केही सहरहरूमा आगामी नोभेम्बरदेखि नै धारामा पानी नआउने चिन्ता बढ्दो

हाल गम्भीर खडेरी सङ्कटको सामना गरिरहेका न्यु साउथ वेल्स राज्यका पश्चिमी भेगमा चाहिँ "माटो पनि नभिज्ने" मात्रामा पानी परेको स्थानीय बासिन्दाहरूको भनाइ छ।

A drought hit farmer in NSW

NSW eyaletinde kuraklıktan etkilenmiş olan bir çiftçi. Source: AAP

दुर्गम न्यु साउथ वेल्सका केही सहरहरूमा आगामी केही महिनासम्ममा सबै पानी सुक्ने सम्भावना रहेको बताइएको छ।

साथै सन् २०२२ को जनवरी महिना सम्ममा सिड्नीमा पनि पिउने पानी सकिने अनुमान गरिएको छ।

राज्यमा खडेरी सङ्कट जारी रहँदा, नदी व्यवस्थापन र पानी आपूर्ति गराउने सरकारी निकाय वाटर एनएसडब्ल्यु द्वारा प्रकाशित रिपोर्टमा उक्त चेतावनी दिइएको हो।

सिड्नी बाट झन्डै ४०० किलोमिटर उत्तर पश्चिममा रहेको डब्बोका साथै कोबार, निन्गन र नारोमाइनमा सबै भन्दा पहिला पानी सकिने अनुमान वाटर एनएसडब्ल्युको रहेको छ।

नोभेम्बर महिना सम्ममा स्थानीय मक्वारी नदी सुक्ने अवस्था रहेको कारण त्यस वरिपरिका स्थानहरूमा पानीको सङ्कट झनै गम्भीर हुने बताइएको छ।

सिड्नी लगायत न्यु साउथ वेल्सका विभिन्न स्थानमा गए सोमबार देखि व्यापक मात्रामा पानी परेता पनि हाल गम्भीर खडेरी सङ्कटको सामना गरिरहेका राज्यका पश्चिमी भेगमा चाहिँ "माटो पनि नभिज्ने" मात्रामा पानी परेको स्थानीय बासिन्दाहरूको भनाइ छ।

साथै पानीको धेरै खाँचो रहेको ट्यामवर्थ, वर्क र मोर्री लगायतका राज्यका सुदूरपश्चिम र उत्तर पश्चिमी स्थानहरूमा पनि कुनै पानी नपरेको किसानहरूले बताएका छन्।

न्यु साउथ वेल्स किसान नामक सङ्गठनका प्रवक्ता ब्रुस रेनोल्ड्स भन्छन् गए केही महिना यता पानी नपरेको अवस्थामा यस पटकको हल्का वर्षाले किसानहरूलाई केही फाइदा हुने छैन।

एबीसीसँग कुरा गर्दै उनले भने, "कुनै प्रकारको सफल रोपाइँको लागि आगामी ३ हप्ता सम्ममा कम्तीमा १५० देखि २०० मिलिमिटर पानी पर्नुपर्ने हुन्छ, र यस्तो अवस्था धेरै किसानहरूको लागि ढिलो साबित हुन सक्नेछ।"

NSW minister Melinda Pavey (file image)
Melinda Pavey Source: AAP

सरकारी सहयोग

यस क्रममा खडेरी बाट प्रभावित भएका समुदायहरूको सहयोगको लागि सक्दो प्रयास गरिने राज्य सरकारले बताएको छ।

न्यु साउथ वेल्स कि जलश्रोत मन्त्री मेलिन्डा पेभीले राज्यको खडेरी सङ्कट धेरै गम्भीर रहेको भन्दै सन् २०१६ सालमा धेरै पानी रहेका स्थानहरू अहिले पूर्ण रूपमा सुक्खा रहेको बताउँछिन्।

"विशेष गरी राज्यको उत्तरी बेसिनमा देखिएको सङ्कटले स्थानीय किसानहरू माथि गम्भीर दबाब बढाउनुका साथै स्थानीय बासिन्दाहरूका लागि पानी आपूर्ति गराउन पनि ठुलो चुनौती सिर्जना भएका छन्।"

न्यु साउथ वेल्समा हाल जारी खडेरी सन् २०१७ को मध्य देखि सुरु भएको हो र गए अगस्ट महिनाको वर्षाको मात्रा औसत भन्दा कम रहेको पनि मौसम विभागको भनाइ छ।

र भविष्यमा व्यापक मात्रामा वर्ष नभए सन् २०२२ सम्ममा सिड्नीमा पनि पिउने पानी सकिने सम्भावना रहेको बताइन्छ।

वाटर एनएसडब्ल्युको अनुमान अनुसार "सबै भन्दा गम्भीर अवस्था" सिर्जना भए सन् २०२१ को अक्टोबर महिना सम्ममा माथिल्लो निपियन नदी सुक्खा हुने छ।

साथै, अस्ट्रेलियाकै सबै भन्दा ठुलो पानी आपूर्ति गराउने वारागाम्बा बाँध पनि २०२२ सम्ममा सुक्खा हुने अनुमान गरिएको छ।

यस क्रममा सङ्घीय लेबर नेता एन्थनी अल्बनजीले चाहिँ खडेरी विरुद्ध गठबन्धन सरकारले उपयुक्त नीति निर्माण गर्न जरुरी भएको बताएका छन्।

"विभिन्न स्थानहरूमा अहिले पानी सुक्न सुरु भैसकेको अवस्थामा सन् २०२२ सम्म पर्खने अवस्था नरहेको" उनले बताए।


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now