यस प्राकृतिक प्रकोपबाट भएको क्षतिको गणना सुरु भएको छ र अब हुने सर-सफाइको लागि पनि निकै ठुलो रकम खर्चिनु पर्ने देखिएको छ ।
वर्षा
सबैभन्दा पहिला वर्षामा नै ध्यान दिऔँ। न्यु साउथ वेल्स राज्यभरमा सबैभन्दा बढी पनि सर्दन हाइल्याण्ड्समा रेकर्ड गरिएको छ। गत बुधाबारदेखि सोमबार बिहान नौ बजेसम्ममा ६९८ मिलिमिटर पानी परिसकेको मौसम विभागले जनाएको छ। जस मध्ये ५०० मिलिमिटर त सप्ताहान्तमा मात्र परेको थियो।

सिड्नी कै कुरा गर्ने भए चाहिँ, उक्त महानगरीय क्षेत्रको कासल कोभ इलाकामा गएको बुधवारदेखि सोमबार बिहान नौ बजेसम्म ४५६ मिलिमिटर पानी परेको छ भने सिड्नी सहरमै चाहिँ ३९१.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो। यो सन् १९९० यताकै चार दिन भित्र परेको सबैभन्दा धेरै पानी हो।

त्यसै गरी राज्यको उत्तरमा पर्ने बाइरन बेमा ३०० मिलिमिटर भन्दा ज्यादा पानी परेको थियो भने दक्षिणी तटीय क्षेत्रका इलाकाहरूमा चाहिँ डेढ सयदेखि २०० मिलिमिटरसम्मको बर्षात भएको मौसम विभागले बताएको छ।
बाँधहरू
गत एक हप्ताको समयावधि मात्रैमा बृहत् सिड्नी महानगरीय क्षेत्रभरका बाँधहरूको सतह कम्तीमा पनि २० प्रतिशतले बढेको बताइएको छ। पछिल्लो आधिकारिक सूचना अनुसार हाल ती सबै बाँधहरूको जल सञ्चय, कुल क्षमताको ६४.२ प्रतिशतमा रहेको छ।

सिड्नीलाई पानी आपूर्ति गर्ने प्रमुख बाँध - वार्रागम्बाको सतह पनि १७.७ प्रतिशतले बढेर हाल उक्त बाँधमा कुल क्षमताको ६१ प्रतिशत भन्दा बढी पानी जम्मा भइसकेको छ।
डढेलो
ग्रामीण अग्नि सेवाका अनुसार भारी वर्षाका कारण अग्नि नियन्त्रकहरूलाई ३० भन्दा बढी डढेलोका घटना पूर्णरुपले निभाउन ठुलो सहयोग पुगेको छ।
सिड्नीको उत्तर पश्चिममा पर्ने गस्परस् माउन्टेनमा लागेको भीषण डढेकोदेखि दक्षिण ग्रीन वाटल क्रिकमा लागेको ठुलो आगोसम्म सबैलाई निभाउन वर्षाले महत्त्वपूर्ण भूमिका खेलेको उसको भनाइ छ।
तर, हालसम्म डढेलोका अझै २६ भिन्दा-भिन्दै घटनाहरू जारी नै रहेको छ जुन यस पटकको डढेलो यामकै सबभन्दा कम सङ्ख्या हो।
खडेरी
सर्दन टेबलल्यान्ड्स लगायत राज्यको उत्तर पश्चिमी तथा मध्य पश्चिमी क्षेत्रहरूका खडेरी पीडित बासिन्दाहरूले वर्षाका कारण केही राहत पाए पनि मौसम विभागले यत्तिले खडेरी अन्त्य नहुने बताएको छ।
ट्यामवर्थ, मोरी र डब्बो जस्ता स्थानहरूमा गएको हप्ता मेघ गर्जे पनि वर्षा भने फरक फरक परिमाणमा रेकर्ड गरिएको थियो - कुनै ठाउँमा ५० देखि १०० मिलिमिटर पानी परेको थियो भने बाँकीका इलाकाहरूमा त्यो भन्दा पनि निकै कम!
