उत्तरी न्यु साउथ वेल्स स्थित एक विश्वविद्यालय र एक उच्च माध्यमिक विद्यालयमा प्रहरी कारवाही अन्त्य भएको बताइएको छ। एक धम्कीपूर्ण फोन कल पछि सुरु भएको उक्त प्रहरी कारवाही, विश्वविद्यालयमा रहेका प्रत्येक भवनको जांच पछि सकिएको हो।
एक विज्ञप्ति मार्फत न्यु साउथ वेल्स प्रहरीले विश्वविद्यालयमा गोली प्रहार भएको वा कोहि घाइते भएको कुनै रिपोर्ट नरहेको पनि जोड दिएको छ।
प्रहरीका अनुसार अपरान्हको करिब साढ़े एक बजे उक्त धम्कीपूर्ण फोन आएको थियो र प्रहरी छानबीन पछि अहिले समुदाय माथि कुनै खतरा नरहेको पनि बताइएको छ।
सामाजिक संजाल मार्फत जानकारी गराउंदै सदर्न क्रस विश्वविद्यालयका अधिकारीहरुले लिजमोर स्थित आफ्नो क्याम्पस “लक डाउन” मा रहेको र प्रहरी द्वारा सबै विद्यार्थी र कर्मचारीहरुलाई क्याम्पस बाहिर नजान निर्देशन दिएको बताएका केहि घण्टा अगाडी बताएका थिए।
साथै विश्वविद्यालय जाने सोचिरहेका हरुले “त्यसो नगर्न” पनि आग्रह गरिएको थियो।
विश्वविद्यालयमा जारी प्रहरी कारवाहीका कारण नजिक रहेको रिभर्स सेकण्डरी कलेज पनि अहिले पूर्ण रूपमा बन्द गरिएको थियो।
“विद्यार्थीहरु सबै सुरक्षित् छन् र प्रहरीको निर्देशन नआए सम्म विद्यालयका सबै प्रवेश द्वारहरु बन्द रहने छन्।”
“आफ्ना छोरा छोरीलाई सम्पर्क गर्ने प्रयास नगर्नुहोस्, सम्भव भए पछि हामि तपाईंलाई सम्पर्क गर्नेछौं”, उक्त विद्यालयको फेसबुक पेजमा लेखिएको थियो।
