एक घर, एक कला -मेलबर्नका नेपाली चित्रकारको अभियान

मेलबर्नका अरुण चित्रकार नेपाली ललितकलालाई अस्ट्रेलियामा फैलाउन लागिपरेका छन्।

Chitrakar Gallery

Chitrakar Gallery Source: Supplied

गत बर्षदेखि "एक घर एक कला" भन्ने अभियान नै सुरु गरेका चित्रकारले, नेपाली कलाको प्रवर्धन गर्ने हेतुले मेलबर्नमा "चित्रकार ग्यालेरी"को पनि स्थापना गरेका छन्।

अस्ट्रेलियनहरूले नेपालको कलाबारे जानकारी होस् भन्ने हेतुले आफुले उक्त ग्यालेरी स्थापना गरेको बताउने चित्रकारले भने, "मुख्य उदेश्य भनेको नेपाल र नेपाली कलालाई अस्ट्रेलियामा चिनाउने नै हो।

व्यक्तिगत रुपमा अमुर्त तथा अर्ध अमुर्त कलामा रुचि राख्ने चित्रकार, नेपालीहरुले बिशेष रुचि राख्ने थान्का, ल्यान्डस्केप, मिथिला कला तथा कागज एवं काठले बनेका हस्तकलाहरु मेलबर्नको टार्नित स्थित् आफ्नो ग्यालेरीमा रहेको बताउँछन्।

आफ्नो मात्र नभएर नेपालका नाम चलेका कलाकारहरुको काम पनि आफ्नो ग्यालेरीमा हेर्न सकिने उनले एसबीएस नेपालीलाई बताए।

नेपालबाट बसाईं सरेर यहाँ आएका मानिसहरुले नेपाल सम्झे, बुझे पनि यहीं जन्मे हुर्केका नयाँ पिंढीका अस्ट्रेलियन नेपालीहरुलाई, उनीहरुको इतिहास देखाउन यस्ता चित्रकलाहरुले निक्कै मद्दत गर्ने उनको धारणा छ।

आफ्नो अभियानबारे उनले थपे, "हरेक नेपालीको घरमा एक मात्र पेंटिंग भयो भने, उहाँहरुले आफ्नो बच्चाहरुको मनमा नेपाल र नेपाली कला प्रति सद्भाव जगाउन सक्नुहुनेछ।"

अरुणका अनुसार, नेपालीहरुलाई आफ्नो जन्मभुमिको झझल्को दिने चित्रहरू सार्है नै मन परेता पनि आर्थिक कारणहरुले गर्दा चित्रहरु खरिद गरी नहाल्ने ठम्याई छ। 

"धेरै नेपालीहरुलाई हिमाल, गाउँघर तथा मठ-मन्दिर भएका चित्रहरु मन परे पनि आर्थिकभारका कारण किनीहाल्नु हुँदैन।"

तर, कसैलाई कुनै चित्रले भावनात्मक रुपमा छोयो भने, अर्डरै दिएर मेरो गाउँ जस्तो ठ्याक्कै चित्र बनाईदिनुहोस् भन्दै आउने पनि उनी सुनाउँछन्।

सिड्नी, एडिलेड तथा जिलंग जस्ता शहरहरुमा आफ्नो चित्रकला प्रदर्शन गरिसकेका अरुणको कलाको अर्को विशेषता भनेको नेपालीपनमा पश्चिमे शैलीको समायोजन हो। हालै मेलबर्नमा भएको एक कार्यक्रममा प्रदर्शित उनका विविध चित्रहरुमा यसको झल्को रहेको थियो।

मूड चलेको बेला एक घन्टामै आफ्नो चित्र कोरी सक्ने अरुण, कहिलेकाहिँ भने १ महिनाभन्दा बढी समय लाग्ने बताउँछन्।

"साधारणतया पाँचदेखि सात दिनभित्रमा एउटा पेंटिंग सक्छु तर बिषयबस्तु हेरी १ महिना भन्दा बढी समय पनि लाग्छ", उनी भन्छन्।

"पर्सनल थेरापी"को रुपमा चित्रकलालाई अंगालेका अरुण थप्छन्, "पेंटिंग गर्दा मसँग केवल मेरो क्यानभास हुन्छ र रंगहरु हुन्छन्।"

 


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now