आफ्नी नाबालक शिशुलाई पशु-पक्षीबाट उत्पादन हुने मासु र दूध जन्य पदार्थ वर्जित गरिएको आहार मात्र खुवाएर कुपोषित गरेको आरोपमा उक्त दम्पतीलाई अदालतले जेल सजायको सट्टा ३०० घण्टाको सामुदायिक सेवा गर्न आदेश दिएको छ।
कानुनी कारणहरूले गर्दा नाम उल्लेख गर्न नमिल्ने ती दम्पती दुवै जना ३०० घण्टाको सामुदायिक सेवा गर्नुपर्ने आदेश सुनाउँदै सिड्नीको डाउनिङ्ग सेन्टर डिस्ट्रिक्ट कोर्टमा न्यायाधीश सेरा हग्गटले उनीहरूको व्यवहारलाई “लापरबाही”को संज्ञा दिएकी थिइन्।
“अभिभावकहरूका निम्ति आफ्नो सन्तानको राम्रो देखभाल, उचित पालनपोषण गर्नु र तिनीहरूलाई चोटपटकबाट बचाउनु भन्दा ठुलो जिम्मेवारी केही हुँदैन।”
“अभिभावकको जिम्मेवारी त्याग्नुलाई माफ गर्न सकिन्न,” उनले अगाडी भनिन्।
“यो कुनै क्षणिक निर्णयको उपज वा एक्लो घटना होइन। बच्ची गम्भीर रूपमा कम तौलकी थिइन्, राम्ररी बढ्न सकेकी पनि थीइनन र कुपोषित अवस्थामा थिइन्। यो सबै हुन समय लागेकै हुनुपर्छ।”
भीगन आहार प्रति ती शिशुकी आमा बढ्दो रूपमा विश्वास गर्दै गएको पनि हग्गटले आफ्नो निर्णय सुनाउने क्रममा उल्लेख गरिन्।
“अभिभावकहरूले सुरु-सुरुमा त आफ्नी छोरीको अवस्था कुपोषणका कारण भएको भन्नै मानेनन्,” उनले भनिन्।
ती अभिभावकहरू न त कलिला उमेरका न त अशिक्षित नै रहेको भन्दै न्यायाधीश हग्गटले यो भन्दा अगाडी दुई अन्य सन्तानलाई हुर्काइ सकेको भएकाले आफ्नी छोरीलाई कसरी हेरचाह गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेको बताइन।
अभिभावक मध्य आमा उक्त बखत डिप्रेसनबाट पीडित भएता पनि बुबाले आफ्नी छोरीको हालत प्रति कुनै ध्यान नदिएकोमा न्यायाधीश हग्गट रुष्ट थिइन्।
“बुबासँग आफ्नी छोरीको अवस्था नियाल्ने प्रश्सस्त मौका थियो तर उनले त्यसलाई सम्बोधन गर्न केही पनि गरेको देखिएन।”
आरोपित ती बुबाले भने आफ्नो कामको व्यस्तताका कारण छोरीको हेरचाहमा ध्यान नपुगेको बताएका थिए।
आफू माथि लागेका आरोपहरू स्वीकार गर्ने र न्यायधिशबाट निर्णय सुन्ने क्रममा ती दम्पती निकै भावुक हुँदै रोएको बताइएको छ।
सरकारी अधिकारीहरू समक्ष दिएको बयानमा झुटो विवरण दिएकोमा पनि न्याधिश हग्गटले उनीहरूलाई चेतावनी दिएको बताइएको छ।

स्याहारमा लिनुपुर्व ती १९ महिनाकी बच्चीको तौल जम्मा ४.८९ किलोग्राम रहेको र तीन महिना जातिकी जस्ती मात्रै देखिएकी पनि बताइएको छ।
उक्त समयसम्ममा ती बच्चीको कुनै दाँत नआएको, एक रोकथाम गर्न मिल्ने हड्डीको रोगबाट ग्रस्त भएको र कुनै खोपहरू पनि नदिइएको अदालतलाई बताइएको थियो।
हाल आफ्ना अन्य आफन्तजनहरूसँग क्विन्सल्याण्डमा बस्ने ती बालिकाको शारीरिक स्वास्थ्य र मानसिक विकास दुवैमा सुधार आएको र हाल उनी १२ किलोग्राम वजनकी भएकी पनि अधिकारीहरूले बताएका छन्।
तर, अदालतमा बताइए अनुसार ती बालिकालाई बोल्न चिकित्सकीय सहयोगको जरुरी हुनुका साथै फिजियोथेरापी पनि आवश्यक रहेको छ।
जौउ, पाउरोटी र एकदमै थोरै सागसब्जीहरू मात्रको निकै कडा शाकाहारी आहार खुवाइएकी उक्त शिशुको जन्म पछि एक पटक पनि कुनै डाक्टर कहाँ नलगिएको पनि अदालतमा बताइएको थियो।
२०१८ मार्चको एक दिन ती बालिकालाई निकै विसन्चो भएपछि उनकी आमाले आपत्कालीन नम्बर ००० मा फोन गरेर एम्बुलेन्स बोलाएपछि अधिकारीहरूले उक्त बच्चीलाई नियन्त्रणमा लिएका थिए।
