SKIP TO MAIN CONTENT

पर्थको एक क्याफेले गाँजा हालेर केक बेचेको आरोप

पर्थको एक क्याफेमा कथित रूपमा गाँजा हालिएको केक किनेर खाएपछि आफ्ना दुई स-साना बच्चाहरूलाई अस्पताल भर्ना गर्नुपरेको एक परिवारले जनाएको छ।

Brownies at a cafe
Brownies on display at a cafe in Sydney, Australia (File Photo/AAP) Source: AAP

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

पर्थमा दुई बच्चाहरू सहित एक आमाले अन्जानमै कथित रूपमा गाँजा हालिएको ब्राउनी किनेर खाएको क्याफेका सञ्चालकलाई खान अयोग्य परिकार बेचबिखन गरेको दुई आरोपहरूको सामना गर्न अदालत जानुपरेको छ।

भएको के हो?

गत मार्च महिनाको दोस्रो दिन पर्थको वूडल्यान्ड्समा रहेको बडा बिङ्ग क्याफेमा ब्रेकफास्ट खान एक महिला आफ्नी ५ वर्षीया छोरी एमिली र ३ वर्षीय छोरा थोमससँगै गएकी थिइन्।

श्यारन भन्ने पहिलो नाम मात्र खुलाएकी ती महिलाले पर्थको एबीसी रेडियोलाई बताए अनुसार उनीहरू तिनै जनाले उक्त क्याफेले बेच्न राखेको ब्राउनी केकको एक टुक्रा बाँडेर खाएका थिए।

तर, केक खाएको केही बेरमै एमिलीले अनौठो व्यवहार देखाउन थालिन् र सँगै रहेका आफ्ना बुबा माइकललाई उक्त स्थलमा हुँदै नभएको चिजबिज देखेको भन्न थालिन्।

“स्थिति एकदमै भयावह थियो, म एमिलीलाई शान्त पार्न खोज्दै थिएँ, ऊ भने कहिले शान्त हुने, कहिले चाहिँ आँखा ठुलो ठुलो पारी असाध्यै चिच्याई चिच्याई कराउन थालिन्,” श्यारनले एबीसी रेडियोलाई बताइन्।

त्यसपछि अस्पताल पुग्दा नपुग्दै श्यारनलाई पनि एमिली जस्तै लक्षणहरू देखा परेको पनि उनले बताइन। छोरा थोमसलाई भने झुम्म मात्र पारेको उनको भनाई थियो।

ती दम्पतीका अनुसार अस्पतालको परीक्षणमा उनीहरू तीनैजनाको शरीरमा गाँजाको मात्रा भेटिएको थियो।

Bada Bing cafe in Woodlands, WA.
Bada Bing cafe in Woodlands, WA. Source: Google Maps

अघिल्लो दिन ब्राउनी नखाएका माइकल, भोलि पल्ट पुन: उक्त क्याफेमा फर्के।  

अनी अर्को टुक्रा ब्राउनी किनेर घर लगेको सम्झँदै एबीसी रेडियोलाई भने, “घर पुग्ने बित्तिकै मैले त्यो ब्राउनीलाई फ्रिजरमा राखेँ।”

“त्यसको एक साता पछि जति प्रहरी आएर उक्त टुक्रा लिएर गए।”

थर नखुलाइएका यी दम्पतीले उक्त कथित घटनाको लगत्तै वेस्टर्न अस्ट्रेलियाको प्रहरी र स्थानीय काउन्सिलमा उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा प्रहरी र काउन्सिलले आ-आफ्नै तवरबाट यसबारे अनुसन्धान गरेको बताइएको छ।

कसरी पुग्यो ब्राउनीमा गाँजा?

marijuana
Source: Pixabay

अहिलेसम्म कसैले पनि गाँजा यसै गरी ब्राउनीमा मिसिन पुग्यो भन्न सकेका छैनन्।

काउन्सिलले आफ्नो छानबिन पछि बडा बिङ्ग क्याफेका सञ्चालक नेथन शार्पलाई फूड एक्ट २००८ अनुसार यस वर्षको मार्च २ र ३ तारिकमा अखाद्य बस्तु बेचेको दुई आरोपहरू लगाएको छ।

स्टर्लिङ्ग सिटी काउन्सिलले गरेको एक छुट्टै परीक्षणले पनि एक अर्को टुक्रा ब्राउनीमा पनि गाँजामा हुने तत्त्वहरू भेटिएको पुष्टि उक्त काउन्सिलकी एक प्रवक्ताले गरेकी छिन्।

आफूहरूले उक्त घटनाको गहिरो अनुसन्धान गरेको बताउँदै स्टर्लिङ्ग सिटी काउन्सिलकी प्रवक्ताले भनिन, “यो एउटा नितान्त एकल घटना भए जस्तो हाम्रो अनुसन्धानले देखाएको छ र समुदायमा यसबाट हुनसक्ने सम्भावित जोखिमलाई यथासक्य सम्बोधन गरेको विश्वास दिलाउन चाहाँन्छौँ।”

उता, उक्त क्याफेका सञ्चालकले एबीसीलाई पठाएको इमेलमा आफूहरू यो कथित आरोपबाट अकमक्क परेको बताएका छन्।

“पर्थको एक परिवारद्वारा हाम्रो क्याफेमा खाएपछि कथित रूपमा उनीहरू बिरामी परेको भन्ने घटनाले हामी हैरान छौँ,’ उक्त इमेलमा लेखिएको छ।

साथै, आफूहरूले वेस्टर्न अस्ट्रेलियाको प्रहरी र स्थानीय काउन्सिलसँग सहकार्य गरेता पनि मिडिया मार्फत उक्त काउन्सिलले आफूहरूलाई खान योग्य नरहेको परिकार बेचेको दुई अलग अलग आरोपहरू लगाएकोमा दुखित छौँ पनि भनिएको छ।

उक्त क्याफेको वेबसाइट अनुसार भने त्यहाँ बिक्री हुने केक तथा अन्य मिठाईहरू सबै “होम मेड” हुन्।

“हामी यस अनुसन्धानलाई पूर्ण सहयोग गरी नै रहेका थियौँ र अब पनि सहयोग जारी नै राख्नेछौँ,” शार्पकी श्रीमती सिमोनाले उक्त इमेलमा अगाडी लेखेकी छिन्।

अदालतसम्म कुरा पुगिसकेकोले अब यस मुद्दाको छिनोफानो अदालतले नै गर्ने पनि उनले बताइन्।

सञ्चालक शार्पलाई १९ जुलाईमा पर्थ म्यजिस्ट्रेट्स् कोर्टमा उपस्थित हुन आदेश जारी गरिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now