टर्नबुल एबट गृहयुद्ध जारी: डट्टन बने बलिको बोका

लिबरल पार्टी भित्रको खिचलोका कारण अब बिल शर्टन अस्ट्रेलियाको भावी प्रधानमन्त्री बने, शायदै कोही अस्ट्रेलियन आश्चर्यचकित हुनेछन्।

Abbott and Turnbull

A Tony Abbott (left) Malcolm Turnbull (right) at Parliament House, in Canberra Source: AAP

मंगलबार बिहान पूर्वीय राज्यहरुका कार्यलयहरुमा कर्मचारीहरु पस्दै गर्दा प्रधानमन्त्री म्याल्कम टर्नबुलले लिबरल पार्टी भित्र आफ्नो बहुमत रहेको अझै जनाउ दिन त्यस संसदीय दलको नेतृत्व पद खाली रहेको घोषणा गरे। त्यसको लगत्तै, बिगत केही दिन देखिको अड्कलबाजीहरुलाई सही सावित् गर्दै गृह मन्त्री पिटर डट्टनले आफ्नो उम्मेद्वारी दिए।

अर्को २०-२५ मिनेट अस्ट्रेलिया #libspill मय भयो तर अन्तत्वगत्वा टर्नबुलले डट्टनलाई ४८ - ३५ को अन्तरले हराएर प्रधानमन्त्रीको कुर्सीमा रहिरहन सफल भए।

अघि दिउँसो क्यान्बेर्रामा पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा डट्टनले आफ्नो कदमको रक्षा गर्दै भने, "म्याल्कम टर्नबुलसँग कुनै दुश्मनी भएर मलाई पार्टीको संसदीय दलको नेता हुनुपरेको होइन। बिल शर्टनलाई यो देशको प्रधानमन्त्री हुन नदिन मैले यस्तो निर्णय लिएको हुँ।"

डट्टनले आज हारे तापनि उनले हार नमानेको भान उनको अभिव्यक्तिबाट प्रस्ट हुन्छ, उनले भने, "यो (म संसदीय दलको नेता बन्ने कुरा) आज हुन सकेन र यस निर्णयलाई आत्मसात गर्दै म प्रधानमन्त्री तथा मन्त्री परिषदलाई मेरो पूर्ण समर्थन रहेको बताउन चाहन्छु।"

१३ भोटको झिनो मतले अस्ट्रेलियाको प्रधानमन्त्री हुने मौका गुमाएका पिटर डट्टनले, आफ्नो हार स्वीकार गरेता पनि पुन: टर्नबुलसँग भिड्ने सङ्केत दिएका छन्।

"तपाईं फेरी चुनौती दिनुहुन्छ?" भन्ने प्रश्नहरु त्यहाँ उपस्थित पत्रकारहरुले गरि नै रहँदा उनले सोझै त्यसलाई नकारेनन्। केवल घुमाउरो शैलीमा, प्रतिपक्षी दलका नेता बिल शर्टनलाई कुनै पनि हालतमा अस्ट्रेलियाको प्रधानमन्त्री हुन आफुले नदिने र त्यसका लागि आफु नै सबैभन्दा योग्य नेता भएको कुरा भनिरहे।

सँधैजसो गम्भीर मुद्रामा उपस्थित हुने डट्टन, आज क्यामेराहरुको अगाडी उभिंदा हसमुख थिए। गृहमन्त्रीको भार बोक्न नपरेको कारण आफ्नो व्यक्तित्वको आर्को पाटो उजागर गर्न पाएको उनले बताए।

उता प्रधानमन्त्री टर्नबुलले आजको घटनालाई आफुले स्वाभाविक रुपमा लिएको तथा डट्टन विरुद्ध आफ्नो मनमा कुनै तुस नरहेको खुलस्त पारे र आफुले उनलाई मन्त्री परिषदमा रहिरहन आग्रह गरेको पनि खुलाए।

"अघि हाम्रो पार्टी बैठकमा मैले भने झैँ हाम्रो आन्तरिक द्वन्दका कारण हामीले गरिरहेका राम्रा कामहरुलाई निस्तेज तुल्याउने मौका अरुलाई नदियौं। यसले साँच्चिकै बिल शर्टनलाई (आम चुनाव पश्चात्) अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री हुन बल पुर्याउनेछ। यस्तै द्वन्द कायम मै रहे बिल शर्टन प्रधानमन्त्री हुने जोखिम साँचो हुनेछ।"

रिक्त भएको गृह मन्त्रालयको कार्यभार अब ट्रेजरर स्कट मोरिसनले सम्हाल्ने छन् र एक शक्तिशाली मन्त्री भएका छन् जसले अध्यागमन, अस्ट्रेलियन संघिय प्रहरी तथा जासुसी निकायहरु हेर्नेछन्।

विश्लेषकहरुको धारणा मान्ने हो भने डट्टनले आज जित्ने आस राखेकै थिएनन्। उनले त केवल प्रधानमन्त्री टर्नबुललाई जिस्क्याउने काम मात्र गरेका हुन्, पुर्व प्रधानमन्त्री टोनी एबटको गोटी भएर। यसलाई मलजल गर्ने कार्य स्वयं एबटले आफुले एक विज्ञप्ति जारी गरेर गरेका छन् जसमा उनले पार्टीमा एकजुट हुने वातावरण बनाउन पर्ने तथा अरुको विश्वास आदेश भन्दा मन जितेर कमाउनु पर्ने भनेर उल्लेख गरेका छन्।

सत्ताको अर्को घटक नेश्नाल्स पार्टीका एक नेता ड्यारेन चेस्टर भने यस्ता नाटकको अन्त्य हुनुपर्ने विचार राख्छन, "अस्ट्रेलियाका जनता यस्ता चर्तिकलाबाट आजित भैसकेका छन्। उनीहरु हामीसँग भएका प्रधानमन्त्रीको पछि लागेर उनलाई काम गर्न दिनुहोस् भन्दैछन्।"

एबट एक पछि अर्को वार गरीनै रहेका छन् "यो त आफु पाएकको परिवर्तन भयो - प्रधानमन्त्री त आफ्नो मौसमी नीतिलाई लिएर दृढ थिए तर अब आफ्नो पद नै गुम्ला भन्ने भए पछि त्यसो होइन, यसो गरौँ भन्दैछन्।" जलवायु सम्बन्धी प्रधानमन्त्रीको नीति फेरबदललाई इङ्गित गर्दै उनले व्यंग्य गरे।


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now