रेस्टुरेन्ट र बारहरूलाई जस्तै प्रार्थना गर्ने स्थानहरूलाई पनि महत्त्वपूर्ण स्थानका रूपमा लिइनु पर्ने मागहरू बढ्न थालेपछि सो घोषणा आएको हो।
अब चाडै नै १० जना मात्र मानिसहरू जम्मा हुन पाउने नियम न्यु साउथ वेल्समा सम्झनामा मात्र रहने छ।
गत बुधवारबाट सिड्नीका इसाई धर्मगुरुहरूको समूहद्वारा सुरु गरिएको याचिकाको असर देखिएको छ।

यसले प्रार्थना स्थलहरूमा लगाइएको प्रतिबन्ध खुकुलो पार्दै सोमबार देखि ५० जना सम्म भेला हुन अनुमति दिनु पर्ने माग गरेको थियो।
सिड्नीका पादरी एन्थनी फिशरले यो सामान्य सोचाइको जित भएको बताएका छन्।
पादरी फिशर भन्छन् चर्चहरू प्रतिबन्ध खुल्ने तयारीमा बसिरहेका छन्।
सिड्नीको सेन्ट मेरीज क्याथेड्रलमा प्रार्थना गर्न आएकाहरूले अरू मानिसहरू पनि प्रार्थना गर्न चर्चमा आएको हेर्न चाहेको बताएका छन्।
शुक्रवार आएको सरकारको उक्त घोषणाको क्याथलिक चर्च मात्र नभएर अन्य धर्म र सम्प्रदायले पनि स्वागत गरेका छन्।
तर प्रतिबन्ध वा यसमा आएको परिवर्तनले हिन्दु धर्मावलम्बीहरूको धार्मिक स्थलमा उपस्थित हुने अवस्थालाई खासै ठुलो प्रभाव नपरेको बताइएको छ।

भगवानको दर्शन गर्न जाने हिन्दु परम्परामा सामूहिक रूपमै जानु पर्ने नहुने भएकाले पनि सामूहिक जमघट प्रतिबन्धले खासै प्रभाव पारेको छैन।
मानिसहरू भगवानको दर्शन गर्न एक्ला एक्लै जाने भएकाले नियम परिवर्तनले ठुलो असर नपर्ने पुजारी जतिन कुमार भट्टले बताएका छन्।
"मानिसहरू आएर दर्शन गरेर जान्छन्। यसले गर्दा १० जना होस् या ५० जना त्यसले खासै फरक पर्दैन। "
उक्त निर्णय पश्चात् चर्च, मन्दिर, सिनागग, मस्जिद लगायतका धार्मिक स्थानहरूमा मानिसहरूको उपस्थिति बढ्ने र सोही अनुसार त्यस्ता प्रार्थना गर्ने स्थानहरूले व्यवस्थापन गर्नु पर्ने देखिएको छ।
दक्षिण सिड्नीको पेन्सहर्स्टमा अवस्थित मस्जिदमा प्राय शुक्रवारको प्रार्थनाका लागी ३ सय देखि ४ सय जना उपस्थित हुने गरेका छन्।

इमाम इन्सार कट्टाहीजाः भन्छन् समुदायको चाहना अनुरूप सेवा प्रदान गर्न आफू तयार रहेको बताएका छन्।
सोमबार देखि दक्षिण अस्ट्रेलियाले पनि प्रार्थना स्थलमा ५० जना सम्मलाई जम्मा हुन अनुमति दिएको छ।
भिक्टोरियाले पश्चिम अस्ट्रेलिया कै जस्तो २० जना सम्मलाई भेला हुन दिँदैछ। त्यस्तै एसिटी, क्विन्सल्याण्ड र तास्मनियामा १० जना मात्र जम्मा हुन पाउने छन्।
नर्दर्न टेरिटरीमा भने सामाजिक दुरी कायम राखेमा जति जना पनि भेला हुन सक्ने छन्।
