SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: २० वर्ष यता कै भीषण वर्षा, दैनिकी अस्तव्यस्त; एक बेपत्ता, हजारौँ मानिसहरू बिजुलीबाट वञ्चित

विगत केही दिन यतादेखि लगातार रूपमा परिरहेको मुसल धारे वर्षा एवं हावाहुरीका कारण सिड्नी लगायत न्यु साउथ वेल्स राज्यभर एक लाख भन्दा बढी मानिसहरू बिना बिजुली बस्न बाध्य भएका छन् भने एक जना मानिस आफ्नो गाडी सहित बगेर बेपत्ता भएको बताइएको छ।

Sea foam brought by waves approach on beach front houses after heavy rain and storms at Collaroy in Sydney's Northern Beaches, Monday, 10 February, 2020.
Sea foam brought by waves approach on beach front houses after heavy rain and storms at Collaroy in Sydney's Northern Beaches, Monday, 10 February, 2020. Source: AAP

3 min read

Published

Updated



Skip to article content

दुई दशक यताकै सबैभन्दा बढी पानी परिरहेको न्यु साउथ वेल्स राज्यमा जनजीवन अस्तव्यस्त भएको छ।

सोमबार बिहान कार्यालय समयमा मानिसहरू अत्यधिक चापका कारण सिड्नीको रेल सेवा अझै नियमित सेवा दिन सङ्घर्षरत रहेको राज्यको यातायात हेर्ने निकाय ट्रान्सपोर्ट न्यु साउथ वेल्सले जनाएको छ।

मौसम विभागले सोमबार भर नै सिड्नी, इलावारा र सेन्ट्रल टेबलल्यान्ड्स इलाकामा तेज हावाहुरीका साथ भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ।

उसका अनुसार. सिड्नीमा मात्रै विगत चार दिनमा सन् १९९० यताकै सर्वाधिक वर्षा - ३९१.६ मिलिमिटर - मापन गरिएको छ।

शुक्रवारदेखि सुरु भएको भारी वर्षाका कारण आपतकालिन सेवाहरूका टेलिफोन लाइन निकै व्यस्त रहेको र हालसम्म २०० भन्दा बढी मानिसहरूको उद्धार गरी सकिएको राज्यका एम्बुलेन्स सेवाका प्रवक्ता गाइल्स बुकनन्ले बताएका छन्।

“हामीले (आइतबार मात्रै) थुप्रै रुखहरू कार र घरमा खसेको ठाउँहरूमा गई उद्धार गरेका छौँ, र बाढीमा फसेका गाडीबाट पनि मानिसहरूलाई निकालेका छौँ,” उनले भने।

तर, सिड्नीको उत्तरमा पर्ने गल्स्टोनमा भने एक व्यक्ति सवार गाडीलाई बाढीले बगाएपछि उनको स्थिति अझै अज्ञात रहेको छ।

विनाशकारी हावाहुरी सहित लगातार जारी भारी वर्षाका अवस्था निकै गम्भीर रहेको र त्यसबाट उब्जिएको खतरनाक बाढीको अवस्थाका कारण अधिकारीहरू निकै चिन्तित रहेको बताइएको छ।

गए मध्यरात पछि केही नदीनालामा बहाव घटे पनि स्थिति सामान्य हुन अझै केही समय लाग्ने अधिकारीहरूको भनाई छ।

आइतबार राती हक्स्बेरी नदीमा देखिएको उच्च बहावका कारण नर्थ रिचमण्ड र विन्डसरका समुदाय मध्यम स्तरको बाढीबाट पीडित हुनसक्ने आकलन गरिएको छ।

त्यसै गरी मेनान्ग्ले र क्याम्डेन भएर बग्ने नेपियन खोला अनि अपर कक्स एवं म्याकडोनल्ड नदीहरूमा पनि मध्यम स्तरको बाढीको प्रभाव देखिएको मौसम विभागले जनाएको छ।

न्यु साउथ वेल्स राज्यको आपत्कालीन सेवाका अनुसार जोर्जेस नदीमा आएको बाढीले पश्चिमी सिड्नी स्थित मिल्पेर्रा र लिभरपुल लगायत आसपासका क्षेत्रमा जनजीवन प्रभावित गरेको छ।

उत्तरी सिड्नीमा पर्ने नार्रेबिन लगूनका बासिन्दाहरूलाई पनि उक्त स्थान छोडेर अन्यत्र सुरक्षित स्थान तर्फ जान भनिएको छ। त्यहाँ सन् २०१६ मा आएको बाढीले गरेको विनाश भन्दा अधिक क्षति हुने बताइएको छ।

उता मिल्पेर्रा भने सन् १९८८ यताकै सबैभन्दा ठुलो स्तरको बाढीले लिभरपुल, वार्विक फार्म अनि चिप्पिङ्ग नर्थ जस्ता स्थानहरूलाई प्रभावित गरिरहेको हो।

बाँधहरूको जल स्तरमा सुधार

अविरल वर्षाले जनजीवन ठप्प बनाए पनि खडेरीका कारण जल प्रयोगमा आंशिक प्रतिबन्ध झेलिरहेका न्यु साउथ वेल्सका बासिन्दाहरूलाई आउँदा दिनहरूमा भने केही राहत मिल्ने देखिएको छ।

केही दिन अघिसम्म मात्र ४२ प्रतिशत जल स्तर रहेको सिड्नीलाई पानी वितरण गर्ने मुख्य बाँध वारागम्बामा अब छिट्टै ७० प्रतिशतसम्म पानी जम्मा हुने प्रक्षेपण गरिएको छ।

वाटर न्यु साउथ वेल्सका प्रवक्ता टोनी वेब्बरका अनुसार यो वर्षाका कारण सिड्नीको पानी वितरण अवस्थामा ठुलै भिन्नता देखिनेछ।

बिमाको रकम दाबी गर्ने सङ्ख्या बढ्यो

इन्सुरेन्स काउन्सिल अफ अस्ट्रेलियाका अनुसार सप्ताहान्तको व्यापक विनाशबाट प्रभावित मानिसहरूले १०,००० भन्दा बढी दाबी दर्ता गरिसकेका छन्। उसका अनुसार आज बिहान सात बजेसम्म करिब चार करोड पचास लाख डलर बराबरको दाबी ती मानिसहरूले गरिसकेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now