आन्दोलनका बेला प्रहरीको गोली लागेर उनी घाइते भए। उनको पीडाले एउटा ठूलो कथा बोकेको छ।

शान्तनु देश परिवर्तन गर्ने उद्देश्यले अघि बढेका थिए, तर आन्दोलनले उनको जीवन नै परिवर्तन गरिदियो। नेपालमा चाँडै नै नयाँ सरकार बन्दै छ, तर के यसले वास्तविक परिवर्तन ल्याउन सक्ला त?

A close-up image of a young man looking into the distance. The lower part of his jaw is divided by a large scar.

18-year-old Shantanu Dhakal was shot in the jaw by police during Nepal's gen Z uprising on 8 September 2025. Credit: SBS Dateline

Stream free On Demand

Thumbnail of Nepal's Gen Z Uprising

Nepal's Gen Z Uprising

नेपालको जेन-जी आन्दोलनबारे डेटलाइनको विशेष प्रस्तुति एसबीएस अन डिमान्डमा हेर्नुहोस्।
नेपालको जेन-जी आन्दोलनबारे डेटलाइनको विशेष प्रस्तुति एसबीएस अन डिमान्डमा हेर्नुहोस्।

नेपालमा भएको जेन-जी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका शान्तनु ढकाल अहिले आफ्नो कथा सुनाइरहेका छन्।

घाँटीमा राखिएको ट्रेकियोस्टोमी ट्युबका कारण उनी महिनौँसम्म सास फेर्न त सक्थे, तर बोल्न भने सक्दैनथे।

सेप्टेम्बरमा भएको आन्दोलनका क्रममा बङ्गारोमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका यी स्कुल विद्यार्थी अहिले बिस्तारै स्वास्थ्यलाभ गर्दैछन्।

नेपालमा आफ्नै गाउँको घरमा एसबीएस डेटलाइनलाई अन्तर्वार्ता दिनु केही दिनअघि मात्रै उनको घाँटीबाट ट्युब निकालिएको थियो, जुन उपचार प्रक्रियामा महत्वपूर्ण उपलब्धि बनेको छ।

उनका बुबा महेश ढकालका लागि त्यो क्षण निकै भावुक थियो।

उनले भने, “यो हाम्रो लागि अत्यन्तै गर्वको क्षण हो।”

केही समयअगिसम्म आफ्ना १८ वर्षीय छोरा फेरि बोल्न सक्ने हुन् कि होइनन् भन्नेमा उनले शङ्का गरेका थिए।

तर शान्तनुको उपचार र स्वास्थ्य लाभको यात्रा अझै समाप्त भएको छैन।

उनी अझै लामो प्रक्रियाबाट गुज्रिरहेका छन्।

A young man with a large bandage around his neck and a scar on the left side of his lower jaw stands outside a house. His mother, who is dressed in red, has her hand on his arm. Next to her is his father. They all have neutral facial expressions.
Shantanu Dhakal with his father, Mahesh, and mother, Premkala. Credit: SBS Dateline / Colin Cosier

अहिलेसम्म शान्तनुले पाएको उपचार भने अस्थायी मात्र हो।

गोली लाग्दा उनको देब्रे गालामा बनेको ठूलो प्वाललाई हालका लागि टालटुल गरेर सम्हालिएको जस्तो अवस्था छ।

अब उनको नयाँ बङगारा बनाउनुपर्नेछ, जसका लागि खुट्टाको हड्डी प्रयोग गरेर तयार पार्नुपर्ने छ।

त्यससँगै विस्तृत रूपमा प्लास्टिक सर्जरी पनि आवश्यक पर्नेछ।

तर यस्तो जटिल उपचार नेपालमै सम्भव छ कि छैन भन्नेबारे परिवार अझै अन्योलमा छ।

र सम्भव भए पनि, त्यसका लागि आवश्यक खर्च जुटाउने अवस्था परिवारसँग छैन।

नेपालको जेन-जी आन्दोलन

शान्तनुलाई पूर्वी सहर इटहरीमा सन् २०२५ सेप्टेम्बर ८ मा अनुहारमा गोली लागेको थियो।

उनी आफ्ना केही स्कुलका साथीहरूसँग पहिलो पटक विरोध प्रदर्शनमा सहभागी हुन पुगेका थिए।

त्यस दिन देशभरका सहर र साना बजारहरूमा युवाहरू सडकमा उत्रिएका थिए।

उनीहरूले राम्रो भविष्य, परिवर्तन र अवसरको माग गर्दै आवाज उठाएका थिए।

देशव्यापी आन्दोलनको मुख्य कारण भने सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध थियो।

सरकारले फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र युट्युबसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको थियो, किनकि ती प्रविधि कम्पनीहरूले सरकारले प्रस्ताव गरेका नियमहरू पालना गर्न अस्वीकार गरेका थिए।

प्रस्तावित नियमअनुसार ती कम्पनीहरूले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता हुनुपर्ने र निश्चित सामग्रीको निगरानी तथा नियन्त्रण गर्नुपर्ने थियो।

सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रण गर्न खोज्नुको कारण सामाजिक सञ्जालमा भाइरल बनेको नेपो बेबी (#NepoBaby) ट्रेन्डसँग पनि जोडेर हेरिएको थियो।

उक्त ट्रेन्डमा नेपालका नेताहरू र प्रभावशाली वर्गका सन्तानहरूले विलासी जीवन बिताइरहेका तस्बिरहरूलाई देशभित्रको गरिबी र कठिन जीवनका दृश्यसँग तुलना गरेर पोस्ट गरिन्थ्यो।

आलोचकहरूका अनुसार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध वास्तवमा यही “नेपो बेबी ट्रेन्ड” लाई दबाउन गरिएको प्रयास थियो।

उनीहरू भन्छन्, यो ट्रेन्ड मूलतः भ्रष्टाचार र सत्तामा रहेको परिवारवादविरुद्ध चलेको अभियान थियो।

A group of people hold up signs which read '#WakeUpNepal Your Luxury, Our Misery' and '#WakeUpNepal Gen Z Won't Be Silent'. The signs have a skull and crossbones icon. Some people also hold Nepali flags.
Across Nepal, young people protested against the social media ban and government corruption. Source: NurPhoto / Ambir Tolang / via Getty Images

तर त्यस दिन जेन-जी प्रदर्शनकारीहरू सडकमा उत्रिँदा इन्स्टाग्राम वा टिकटकमा पहुँचको मुद्दा मात्र उनीहरूको मुख्य चिन्ता थिएन।

बरु उनीहरू भ्रष्टाचार र कमजोर सुशासनको विरोध गर्दै सडकमा आएका थिए।

आन्दोलन कसरी चर्कियो

प्रदर्शनमा सुरक्षा बलले हिंसात्मक प्रतिक्रिया जनाएपछि स्थिति झन् तनावपूर्ण बन्यो।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा १९ जनाको ज्यान गयो भने १०० भन्दा बढी घाइते भए।

घाइतेमध्ये शान्तनु पनि एक थिए। उनलाई गोली हान्ने प्रहरी अधिकारी को थिए भन्ने उनले देख्नै पाएनन्।

भोलिपल्ट, सेप्टेम्बर ९ मा युवाहरूको मृत्यु र घाइते भएको खबरले देशभर आक्रोश फैलियो।

सुरुमा जेन-जी युवाहरूमा सीमित देखिएको आन्दोलन विस्तार हुँदै अन्य उमेर समूहका मानिसहरू पनि सडकमा उत्रिए।

तनाव बढ्दै जाँदा आन्दोलन झन् उग्र बन्दै गयो। देशभरका विभिन्न स्थानमा सरकारी भवन र प्रहरी चौकीहरूमा आगजनी गरियो।

दुई दिनसम्म चलेका हिंसात्मक घटनामा कुल ७६ जनाको मृत्यु भयो भने २,००० भन्दा बढी मानिसहरू घाइते भए।

यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता लिँदै राजीनामा दियो।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो, जसलाई मार्च ५ मा निर्वाचन गराउने जिम्मेवारी दिइएको थियो।

नेपालमा करिब ४६ प्रतिशत जनसङ्ख्या २४ वर्षभन्दा कम उमेरका छन्, जसले उनीहरूलाई महत्वपूर्ण मतदाता समूह बनाउँछ।

अन्तरिम सरकारले हिंसाका घटनाबारे सार्वजनिक छानबिन सुरु गरेको छ, जुन हाल पनि जारी छ।

सरकारले मृत्यु भएका प्रदर्शनकारीहरूलाई क्षतिपूर्ति दिने र घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्ने घोषणा गरेको छ।

शान्तनु भन्छन् कि उनलाई जेन-जी पीडितको आइडी कार्ड जारी गरिएको छ र २०,००० रुपैयाँ (करिब १९४ अमेरिकी डलर) क्षतिपूर्ति स्वरूप प्राप्त भएको छ।

उनका बुबा महेश ढकालका अनुसार अस्पताल खर्च हालसम्म करिब ५०,००० रुपैयाँ (करिब ४८५ अमेरिकी डलर) पुगेको छ र अझै बढ्दै गएको छ।

A young man stands in a field, looking out to the distance. He has one hand in his pocket. There is a scar on his left jaw.
The treatment Shantanu requires may not be available in Nepal. Credit: SBS Dateline

उनकी आमा प्रेमकला भन्छिन् कि अहिलेसम्म पाएको क्षतिपूर्ति “केही पनि होइन।”

आफ्नो एक्लो छोराबारे उनी भन्छिन्, “अहिले ऊ अपाङ्ग बनेको छ, शारीरिक रूपमा मेहनत पर्ने काम गर्न सक्दैन।

हामी किसान हौँ, खेतमा घामपानी सहेर मेहनत गर्छौँ। तर अब ऊ त्यस्तो काम गर्न सक्षम छैन।”

परिवर्तनका लागि जेन-जीको निरन्तर सङ्घर्ष

जेन-जीकी अभियन्ता र अहिले राजनीतिक उम्मेदवार बनेकी किशोरी कार्कीका लागि सेप्टेम्बरमा सडकबाट सुरु भएको सङ्घर्ष अझै समाप्त भएको छैन।

शान्तनु जस्तै, विरोध प्रदर्शनका क्रममा उनी पनि रगताम्य भएकी थिइन्।

काठमाडौंमा गोली लागेको एक प्रदर्शनकारीलाई उनले मोटरसाइकलमा राखी सुरक्षित स्थानसम्म पुर्‍याएकी थिइन्।

त्यस घटनाको भिडियो पछि भाइरल भएको थियो।

आज २६ वर्षीया किशोरी कार्की केही युवा प्रदर्शनकारीमध्ये एक हुन्, जो निर्वाचित राजनीतिज्ञ बन्न खोजिरहेका छन्।

मार्च ५ मा भएको निर्वाचनमा उनले आफ्नै गाउँ ओखलढुङ्गाबाट उम्मेदवारी दिएकी थिइन्।

उनी भन्छिन्, “म निरन्तर रूपमा ढोका ढकढक्याउन र दबाब दिइराख्नका लागि राजनीतिमा प्रवेश गरेको हुँ।”

उनले घाइते प्रदर्शनकारीहरूलाई भेटेकी छन्। अझैसम्म अस्पतालमा रहेका र शान्तनुजस्ता घर फर्किसकेकाहरूको हक र अधिकारका लागि उनी आवाज उठाइरहेकी छन्।

शान्तनुसँगै सामाजिक सञ्जालमा रेकर्ड गरिएको एक भिडियोमा उनी अन्तरिम सरकारलाई प्रश्न गर्छिन्: “जब १८ वर्षको बच्चालाई यसरी गोली लाग्छ र सबै खर्च आफैले बेहोर्नुपर्छ, तब यस्तो सरकार कस्तो हुन्छ? यो लाजमर्दो कुरा हो।”

A smiling young woman takes a selfie with a young man, who has a bandage on his neck and a large scar on the left side of his face.
Kishori, an aspiring politician, has visited people like Shantanu who were injured in the protests. She wants the government to proactively aid his recovery. Credit: SBS Dateline / Colin Cosier

किशोरीले अन्तरिम सरकारसँग शान्तनु र उनका परिवारबीच सम्झौता गर्न आह्वान गरेकी छन्।

उनले भनिन्, “उनका माग पूरा भएपछि मात्र हामी अगाडि बढ्न सक्छौँ।”

शान्तनुको अनुहारको पूर्ण उपचारको खर्च कसले तिर्ने भन्ने प्रश्न अब छिट्टै निर्वाचित हुने सरकारको जिम्मामा पर्नेछ।

मुख्य उम्मेदवार पूर्व र्यापर बालेन्द्र शाह रहेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) ले निर्वाचनमा भारी बहुमत प्राप्त गरेको छ।

शान्तनुका लागि अनुहारमा अस्थायी छाला प्रतिस्थापनको प्याच सफा गर्ने दैनिक पीडादायी प्रक्रिया अझै जारी छ।

यससँगै उनको मनमा दुईवटा प्रश्नहरू निरन्तर घुमिरहेका छन्।

मलाई यो के भयो? र मेरो भविष्य अब के हुनेछ?

तपाईंका मनपर्ने डेटलाइनका एपिसोडहरू एसबीएस अन डिमान्डको विशेष डेटलाइन च्यानलमा चौबिसै घण्टा हेर्न सक्नुहुन्छ।


6 min read

Published

Updated

By Colin Cosier

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now