मुख्य बिषय:
- अभियानले वयस्कहरूलाई समाजमा उदाहरणीय छाप छाड्न र आफू भन्दा कम उमेरका मानिसहरूलाई प्रेरणा मार्फत लैङ्गिक हिंसाको चक्रलाई तोड्ने प्रयास गरेको छ।
- वहानाबाजी बन्द गरेर बालबालिकालाई सम्मानजनक व्यवहारका बारेमा सिकाउनु जरुरी छ।
- सकारात्मक बहसको सुरुवात गर्न आवश्यक स्रोतहरू पनि उपलब्ध छन्।
'केटा मान्छे त हो', 'छोड्देऊ न उसले तिमीलाई मन पराएकाले त्यसो गरेको होला'
हामीले धेरै पटक यी र यस्तै वाक्यांशहरू सुन्ने गरेका छौ।
सतही रूपमा यस्ता शब्दहरू सुन्दा सामान्य लागेता पनि पुरुषले महिलाहरू प्रति अनादर एवम् आक्रामकता बढाउन यसले मद्दत गर्ने विज्ञहरू बताउँछन्।
सबै अनादरले हिंसाको सुरुवात नगर्ने भएता पनि हिंसा अनादरबाटै सुरु हुन्छ भन्ने चाहिँ बिर्सनु हुदैन्। त्यसैले यो चक्रलाई बिचमै रोकेर हामीले हिंसाको अन्त्यका लागि योगदान दिन सक्छौ।
'स्टप इट एट दि स्टार्ट' भनेको के हो त?
'स्टप इट एट दि स्टार्ट', अर्थात् सुरुवात मै रोक्नुहोस् भन्ने अभियान अस्ट्रेलियाली सरकारका विभिन्न काउन्सिलहरूको संयोजनमा सुरुवात भएको हो।
यसको उद्देश्य भनेको लिङ्गमा आधारित हिंसाकाे चक्रलाई तोड्ने हो।
महिला एवम् बालबालिका माथि हुने हिंसाको डरलाग्दो तथ्य सार्वजनिक भएपछि सन् २०१६ देखि उक्त अभियानको थालनी गरिएको हो।
अस्ट्रेलियाली तथ्याङ्क विभागका अनुसार,
- प्रत्येक तीन मध्य एक महिला १५ वर्षको उमेरदेखि नै शारीरिक अथवा यौन हिंसाको सिकार बन्दछन्।
- यसै गरी चार मध्ये एक महिला १५ वर्षको उमेरदेखि नै आफ्ना पार्टनरबाट भावनात्मक दुर्व्यवहारबाट प्रताडित हुन्छन्।
हामीलाई यो थाहा छ कि, सरदर प्रत्येक १० दिनमा एक महिलाको पूर्व वा वर्तमान पार्टनरबाट हत्या हुन्छजस्टिन इलियोट, महिला हिंसा एवम् सामाजिक सेवा सहायक मन्त्री
यस्ता घटनालाई निरन्तर कम भएको हेर्न, लैङ्गिक असमानता र अन्य प्रकारका भेदभाव र बेफाईदाहरुलाई सम्बोधन गर्न राष्ट्रिय ध्यान केन्द्रित गर्नु जरुरी हुने महिला हिंसा एवम् सामाजिक सेवा सहायक मन्त्री जस्टिन इलियोटले एसबिएसलाई बताइन्।
युवाहरूको व्यवहार आफू वरिपरि रहेका वयस्क, हेरचाहकर्ता, समाजमा नाम चलेका मानिसहरूबाट प्रभावित हुन्छ, त्यसैले पनि यो अभियानले १० देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सकारात्मक मनोवृत्ति निर्माणका लागि आमा बाबु र परिवारकी सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
हिंसाको चक्रकाे पहिचान
“हिंसा केवल सुरुवात मात्र हुँदैन, यो बढ्दै जान्छ,”
इन्स्पार्यड चिल्ड्रेन नामक पुस्तककी लेखिका एवम् अभिभावकत्व सम्बन्धी विषयकी विज्ञ रोसिना म्याकअल्पाईन् हिंसाको रूप समयसँगै बढ्दै जाने तर्क गर्छिन्।
म्याकअल्पाइन स्वयं आफूले पारिवारिक हिंसाको चक्रलाई भोगेकी छन्, हजुरबुवाबाट आफ्ना बाबुमा सरेको हिंसाको चक्रले उनलाई पनि पीडित बनाएको छ।
“हाम्रो बुबा यस्तो पुस्तालाई प्रतिनिधित्व गर्नु हुन्थ्यो, जहाँ अनुशासन कायम गर्न शारीरिक यातना दिनु पर्छ भन्ने मान्यता राखिन्थ्यो,” उनले भनिन्।
यातना दिनका लागि बेल्ट वा लट्ठीहरूको प्रयोग हुन्थ्यो या त हातले बेस्सरी पिट्ने गरेको उनी बताउँछिन्।

पिटाइबाट लागेको चोट लुकाउन गर्मी महिनामा समेत पुरा शरीर ढाक्ने कपडा लगाएर विद्यालय गएको उनी सम्झन्छिन्।
“तर त्यति बेला हाम्रो समाजमा त्यो सामान्य थियो, कसैले केही भन्दैनथे,” उनले भनिन्।
“त्यहाँबाट तपाईँले नचाहिँदा कुराहरू सिक्नुहुन्छ, यस्तो वातावरणमा हुर्कँदा त्यसो हुन जान्छ, हामीले पारिवारिक जीवन भनेको यही त होला भनेर सिक्छौ।”
यस्तो चक्रलाई भत्काउन चाहिँ डाक्टर अल्पाइनका बुबा जस्ता मानिसहरूका कारण मुस्किल हुन्छ, किनकि उनीहरूलाई केटाकेटीलाई हुर्काउन सही चिज गरे जस्तो लाग्छ।
यसैले पनि यस्ता चक्र भत्काउन गार्हो पर्ने अल्पाइनको बुझाई छ।
म सानो हुँदा म पनि मेरो बुवा जस्तो हुन्छु कि भन्ने डर लाग्थ्यो, मैले बर्षौ अनुसन्धान र सही अभिभावकत्वमा कसरी गर्ने भन्ने कुराहरू साझा गर्नलाई समय दिएकी छु, मेरो परिवार भित्रको हिंसाको चक्रलाई मैले समाप्त गर्न सकेरोसिना म्याकअल्पाइन
बहाना बन्द गर्नुहोस्
महिलाप्रति अनादरपूर्ण व्यवहार र आक्रामक बन्दा, बालबालिकाको विचारलाई आकार दिन मद्दत गर्दछ।
अभियानले चलाएको वेबसाइटमा दोभासेका माध्यमबाट यसलाई बुझाउने प्रयास गरिएको छ।
हेर्दा सामान्य लाग्ने, 'केटा त हो नि' भन्ने वाक्यांशले महिलाहरूले 'केटाहरू यस्तै हुन्छन्', र' मैले यसलाई स्विकार्नु पर्दछ' भन्ने मानसिकताको विकास गरिदिन्छ भने पुरुषहरूमा पनि मैले गरेको कार्य सामान्य हो भन्ने कुरालाई बल दिन्छ।
तर यस्ता बहानाबाजी बालबालिकालाई हुर्काउने बेला आउन नदिन र आदरपूर्ण व्यवहारका लागि बालबालिकालाई शिक्षा दिन डाक्टर अल्पाइन आग्रह गर्छिन्।
र बालबालिका झगडा गरिरहेका छन् भने उनीहरूलाई रोकेर, के त्यो सम्मानजनक व्यवहार थियो भनेर सोध्नु जरुरी रहेको अल्पाइन सुझाव दिन्छिन्।
अभियानले उपलब्ध गराउने स्रोतहरूमा “चेक लिस्ट” पनि छ, जहाँ सम्मानका बारेमा बालबालिकाको दृष्टिकोण बुझ्न र कुराकानीलाई अगाडी बढाउन ठाउँ दिन्छ।

सक्रिय, खुला र निरन्तर कुराकानी गर्नुहोस्
इलियटका अनुसार अभियानको उद्देश्य सम्मानपूर्ण सम्बन्ध र लैङ्गिक समानताका बारेमा सक्रिय, खुला र निरन्तर वार्तालापलाई प्रोत्साहन गर्नु हो।
“संवाद सुरु गर्न चाहिँ महत्त्वपूर्ण छ।”
आक्रामक र अपमानपूर्ण व्यवहारका बारेमा कुरा सुरु गर्न सजिलो हुँदैन, तर अभिभावक र हेरचाहकर्ताहरूले यसका बारेमा कुरा गर्न चाहिँ सुरु गर्नु पर्दछ।
डाक्टर रोजिना म्याकअल्पाइन बालबालिकाको उमेर सम्मानपूर्ण व्यवहार सिकाउनका लागि बाधक नहुने बताउँछिन्।
उक्त अभियानले संवाद सुरु गर्नका लागि केही गाइड उपलब्ध गराएको छ, जसले बालबालिकाको प्रतिक्रियाहरूलाई नक्साङ्कन गर्न मद्दत गर्दछ।
शिक्षक वा आमा बाबुका रूपमा हरेक चरणमा वाहाना नबनाउनु महत्त्वपूर्ण छ, यसलाई रोकेर शिक्षा दिएर, सम्मानजनक व्यवहार कसरी हुन्छ भन्ने बारेमा कुराहरू केन्द्रित गर्नु पर्दछडा. रोसिना म्याकअल्पाइन
सांस्कृतिक रूपमा संवेदनशील ढङ्गबाट मुद्दालाई सम्बोधन
केही निश्चित समुदायमा हिंसाको दर अन्य समुदायमा भन्दा बढी रहेको इलियोट बताउँछिन्।
बहु सांस्कृतिक र भाषिक समुदाय, एबोरजिनल र टोरेस आइल्याण्डर समुदायमा हिंसाको दर केही बढी रहेको इलियोटको भनाई छ।
र बहु सांस्कृतिक समुदायका अगुवाहरूले हिंसालाई कम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन्छ।
मारिया डिमोपुलस, भिक्टोरियाको घरेलु हिंसा सम्बन्धी सर्वोच्च संस्था सेफ एन्ड इक्वलकी बोर्ड अध्यक्ष हुन्।
उनका अनुसार बालबालिका र महिलाहरूमा हुने हिंसाको प्राथमिक रोकथाम सम्बोधन गर्दा, संस्कृतिको भूमिका, बसोबासको भूमिका र बहु सांस्कृतिकताले अनुभवमा कस्तो प्रभाव पार्छ भन्ने कुराको ख्याल राख्नु पर्छ।
हाम्रो संस्कृति वा विश्वासलाई घाटाका रूपमा नहेरी तिनीहरूको प्रयोग अर्थपूर्ण संलग्नताका लागि कसरी गर्न सकिन्छ भनेर सोच्नु पर्दछमारिया डिमोपुलस
'स्टप इट एट दि स्टार्ट' अभियानको वेबसाइटमा विभिन्न भाषामा स्रोतहरू उपलब्ध छन्।
अभियानले काम गरिरहेको छ
'स्टप इट एट दि स्टार्ट' अभियान यस वर्ष चौथो चरणमा प्रवेश गरेको छ र अभियानका बारेमा धेरै मानिसहरू जानकार छन्।
“अभियानका बारेमा जानेका वा सुनेका ८२ प्रतिशत मानिसहरूले बालबालिकालाई कसरी सम्मानपूर्वक व्यवहार गर्ने भनेर देखाउने आफ्नो भूमिका बुझेर स्विकारेका छन्,” इलियटले भनिन्।
त्यसैले, हाम्रा बालबालिकालाई सम्मानपूर्ण व्यवहारका बारेमा ज्ञान दिऊ, हिंसाको चक्रलाई बिचमै रोकेर समाजमा उदाहरणीय व्यक्तिको पहिचान बनाऔँ।
सहयोग सेवा आवश्यक परेमा निम्न संस्थालाई सम्पर्क गर्न सकिन्छ।
1800RESPECT 1800 737 732 or 1800respect.org.au
Lifeline 13 11 14 or lifeline.org.au
विभिन्न राज्य र प्रदेशमा सहयोग सेवा सम्बन्धी जानकारीका लागि यहाँ जानुहोस्
