दक्षिण सिड्नीको बार्टन नामक निर्वाचन स्थलमा चिरपरिचित लेबर सांसद लिन्डा बर्नी लगायत चार अन्य पार्टीका उम्मेदवारहरू विरुद्ध उठेका श्रेष्ठले गए शनिवारको चुनावमा झन्डै ३१ हजार भोट पाएका छन्।
निर्वाचन आयोगका अनुसार बार्टनका ५३ मतदान केन्द्रहरूमा खसेका ८३ हजार ७२२ भोटहरू मध्ये बर्नीले ४४ हजार ६४७ भोट प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।
दोस्रो स्थानमा रहेका प्रमेज श्रेष्ठले ३० हजार ७९८ भोट पाएका थिए।

अहिले सम्म झन्डै ७७ प्रतिशत भोट गनिएको पनि आयोगको भनाइ छ।
अस्ट्रेलियाको सत्ताधारी लिबरल पार्टीको इतिहासमै पहिलो पटक नेपाली मूलका व्यक्तिलाई चुनावको लागि टिकट दिइएको हो।
श्रेष्ठको चुनावी अनुभव

एसबीएस नेपालीसँग कुरा गर्दै २६ वर्षीय प्रमेज श्रेष्ठले सङ्घीय चुनावमा लिबरल पार्टीको उम्मेदवार हुन पाउनु आफ्नो लागि मात्र नभई अस्ट्रेलियामा रहेको नेपाली समुदायका लागि पनि ठुलो कुरा भएको बताए।
प्रधानमन्त्री स्कट मोरिशनले मे १८ का लागि घोषणा गरिएको निर्वाचनको लागी तीन हप्ता मात्र बाँकी रहँदा श्रेष्ठको उम्मेदवारी पक्का भएको थियो।
तापनि आफूले कुल खसेका मध्ये झन्डै ४१ प्रतिशत भोट पाउन सफल हुनुले पनि आफू प्रतिको जनसमर्थन बलियो रहेको प्रस्ट हुने उनले बताए।
“तीन वर्ष अगाडी, स्थानीय मेयर पनि रहेका लिबरल पार्टीका उम्मेदवारले पनि मैले जति नै भोट पाएका थिए, त्यसैले तीन हप्ताको प्रचारमा पनि आफूले त्यतिकै सङ्ख्यामा भोट पाउनुले आफूहरूलाई प्रोत्साहित बनाएको छ।”
श्रेष्ठ लगायत उनलाई चुनावमा सहयोग पुर्याउन खटेका नेपाली लगायतकाहरुका लागि पनि चुनावी प्रचार अभियानबारे धेरै ज्ञान रहेको थिएन।
तर आफूहरूको उक्त अनुभवले आगामी समयका लागि धेरै कुरा सिकाएको पनि श्रेष्ठ बताउँछन्।
“मलाई धेरै रमाइलो लागेको कुरा चाहिँ, मैले नचिनेको धेरै मानिसहरू आएर मलाई सहयोग गरेका थिए, त्यसले पनि मानिसहरूले समुदायमा बदलाव भएको हेर्न चाहेको पुष्टि गर्दछ।”
READ MORE
“चुनावको दिन कम्तीमा २०० स्वयंसेवकहरूले मलाई सहयोग गरेका थिए”, श्रेष्ठले भने।
“उनीहरूको सहयोग बिना मैले यो सबै गर्न सक्ने थिएन।”
चुनाव अगाडी सुत्नै गाह्रो
चुनावमा स्थानीय सांसद लिन्डा बर्नीलाई पराजित गर्न गाह्रो हुनेबारे आफूले राम्रोसँग बुझेको श्रेष्ठले एसबीएस नेपालीलाई बताए।
तर निर्वाचनको पूर्वसन्ध्यामा सुत्न नसकेको अवस्थामा रहेको र मतदानको नतिजा आउन सुरु भएपछि आफूलाई हल्का महसुस भएको पनि उनी बताउँछन्।
“मलाई थाह थियो यो एकदमै कडा सिट हो किनकि लिन्डा छाया मन्त्री पनि रहिसकेकी छन्, तर मेरो ध्यान चाहिँ कडा प्रतिस्पर्धामै केन्द्रित रहेको थियो।”
प्रमेज श्रेष्ठले आफ्नो पहिलो चुनावी प्रयासमा लिन्डा बर्नीलाई पराजित गर्न असफल भएता पनि उनले ग्रीन्स, पोलिन ह्यान्सनको वान नेशन, क्लाइभ पाल्मरको युनाइटेड अस्ट्रेलिया पार्टी र क्रिस्चियन डेमोक्राटिक पार्टीका उम्मेदवारहरूलाई भने झन्डै २० हजार भोटले पछाडि पारेका थिए।
“यसले पनि देखाउँछ कि हामीले अलि समय दिएर थप मेहनत गर्यो भने हामीले सफलता हात पार्न सकिन्छ।”
तर तीन वर्ष पछिको सङ्घीय चुनावमा फेरी उठ्ने छन् त भन्ने प्रश्नमा चाहिँ प्रमेज श्रेष्ठले चुनावमा भन्दा बार्टन क्षेत्र सुधार्न काम सुरु गर्ने आफू तत्पर रहेको बताए।
“सामुदायिक कार्यक्रमहरू स्थापना गर्दैछु, र चुनावले दिएको प्लेटफर्मलाई प्रयोग गर्दै बार्टनलाई सुधार्ने काम गर्नेछु।”
