- पत्नी र अङ्ग रक्षक सहित राष्ट्रपति माल्दिभ्स प्रस्थान।
- यस अघि अमेरिकी भिसाका लागि गरेको प्रयास असफल।
- भारतले पनि श्रीलङ्कन सेनाको विमान अवतरण गर्न दिएन।
दशौँ हजार पर्दशनकारीहरुले राष्ट्रपति भवन कब्जा गर्नु अघि राष्ट्रपति राजापक्षले आफूले बुधवार राजीनामा दिई 'शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने' बताएका थिए।
राष्ट्रपति, उनकी पत्नी र अङ्ग रक्षक सहित चार जना चढेको सेनाको विमान मुख्य विमानस्थल हुँदै माल्दिभ्स उडेको अध्यागमन अधिकारीहरूले पुष्टि गरेका छन्।
“विमानस्थलमा पासपोर्टमा स्ट्याम्प लगाएपछि विशेष सैनिक विमानस्थल मार्फत उनीहरू उडेका हुन,” विमानस्थलमा अध्यागमन प्रक्रियामा सामेल एक अधिकारीहरूले समाचार संस्था एएफपिलाई बताए।
यस अघि श्रीलङ्कन राष्ट्रपति गोटाबय राजापक्ष र उनका परिवारका १५ सदस्यको देश छाड्ने प्रयास 'प्रक्रियागत' समस्याहरूका कारण असफल भएको उड्डयन सम्बन्धी शीर्ष श्रोतले एसबिएस सिंहलालाई पुष्टि गरेका थिए।
जुलाई ९ तारिखका दिन राष्ट्रपति भवन छाडेर भागेका गोटाबय राजापक्ष र उनका परिवारले त्रिन्कोमाली नौसेना आधार शिविरमा शरण लिएको र त्यसपश्चात् गत सोमबार दुई वटा हेलिकप्टर मार्फत रत्मलना एयरबस फर्किएको बताइएको थियो।

उनले त्यहाँ रक्षा अधिकारीहरुसँग छलफल गरी कटुनायके स्थित एयरबस फर्किएको कोलम्बो स्थित एसबिएस सम्वाददाताले श्रोतलाई उल्लेख गदै बताएका थिए।
यस अघि उड्डयन विभागका एक प्रतिनिधिले राजापक्ष र उनका पारिवारिक सदस्य श्रीलङ्कन एयरलाइन्स मार्फत दुबई जान चाहेको पुष्टि गरेका थिए।
अध्यागमन अधिकारीहरूले पासपोर्टमा स्ट्याम्प लगाउनका लागि बन्दरानायके विमानस्थलको अध्यागमनमा आउनका लागि अनुरोध गरेको भए पनि सुरक्षाका कारणले त्यो सम्भव नभएको प्रहरी र विमानस्थल सुरक्षाकर्मीहरूले एसबिएसलाई बताएका छन्।
यसो त जुलाई ९ देखि नै अध्यागमन कर्मचारीले भिआइपी र भिभिआइपी कक्षमा काम गर्न बन्द गरेको बताइन्छ।
यस पछि पनि इतिहादको एयरवेजको विमान चढ्ने राजापक्ष र उनका परिवारको प्रयास पनि अध्यागमनसँग सम्बन्धित कारणले सम्भव भएको थिएन।
यता भारतले पनि राष्ट्रपति र उनका पारिवारिक सदस्य लिएर आउने विमानलाई नागरिकले प्रयोग गर्ने विमानस्थलमा उत्रन नदिने बताएको थियो।
अमेरिकी भिसाका लागि गरेको प्रयास असफल
सन् २०१९ मा राष्ट्रपति उम्मेदवारीका लागि अमेरिकी नागरिकता त्यागेका राजापक्षलाई अमेरिकाले पनि भिसा दिन अस्वीकार गरेको छ।
क्यालिफोर्निया जानका लागि कोलम्बो स्थित अमेरिकी दूतावासबाट भिसा लगाउने उनको प्रयास असफल बनेको थियो।
राजापक्षका छोरा, बुहारी र नातिनातिना अमेरिकी नागरिक रहेको र उनीहरू हाल अमेरिकामै रहेको बताइन्छ।
अमेरिकी नागरिकता त्यागेका मानिसलाई असाधारण परिस्थिति जस्तै कि आफन्तको निधन वा अमेरिकामा मात्रै उपचार सम्भव भएको खण्डमा मात्र आगन्तुक भिसा दिइने श्रोतले बताएको छ।
“उनलाई भिसा नदिइने बारेमा पहिल्यै जानकारी गराइएको थियो, उनी बिना भिसा राष्ट्राध्यक्ष बनेर अमेरिका जान सक्छन्, तर अहिले परिस्थिति अर्कै छ,” दूतावासका प्रतिनिधिले भने।
यद्यपि राष्ट्रपति राजापक्षका कान्छा भाइ बासिल राजापक्षलाई भने दूतावासले नयाँ अमेरिकी पासपोर्ट लिनका लागि सहयोग गरेको थियो।
वित्त मन्त्रीको भूमिकामा रहेका बासिलले यस अघि नै विपक्षीको दबाबमा राजीनामा दिएका थिए।

बासिल राजापक्षको देश छाड्ने प्रयास असफल
उता सोमबार बन्दरानायक विमानस्थल पुगेका बासिल राजापक्षको देश छाड्ने प्रयास पनि असफल बनेको थियो।
'सिल्क रुट' भनिने विमानस्थलको प्रस्थान भवनमा बासिल राजापक्ष पुगेपछि त्यहाँ कर्मचारीहरूले आफ्नो काम बन्द गरे पछि उनी विमानस्थलबाट फर्कन बाध्य भएका थिए।
श्रीलङ्कन अध्यागमन कर्मचारी सङ्गठनले पनि अहिलेको परिस्थतीमा 'सिल्क रुट'लाई अनिश्चीतकालका लागि बन्द गरिने निर्णय गरेको बताएको छ।
यस अघि श्रीलङ्कन संसदका सभामुख महिन्दा यापा अबेवार्देनाले राष्ट्रपति नजिकैको देशमा शरण लिइरहेको बिबिसी सेवालाई बताएका थिए।
यद्यपि उनले आफूबाट 'गल्ती' भएको भन्दै बयान फिर्ता लिएका छन्।
पर्दशनकारीहरुले घर घेरेसँगै उनी पानीजहाज मार्फत भागेको हल्लाहरू पनि चलेका थिए।
