अस्ट्रेलियन प्राथमिक स्वास्थ्य सेवामा काम गर्ने नर्सहरूको सङ्गठन “अप्ना”का अनुसार आफ्ना सदस्यहरूको क्षमता अनुरूपको काम उनीहरूले गर्न नपाएकै कारण अस्ट्रेलियाको स्वास्थ्य प्रणाली कमजोर हुँदैछ।
अप्नाकी अध्यक्ष क्यारन बुथको अनुसार आफ्नो कामको उचित कदर नभएकै कारण नर्सहरूलाई आफ्नो काममा टिकाइ राख्न गाह्रो भइरहेको छ।
उनको अनुसार, यदि यही क्रम रहिरह्यो भने सन् २०३० सम्ममा अस्ट्रेलियामा करिब एक लाख नर्सहरूको अभाव खट्कने छ।
उनले त्यसो हुनुको प्रमुख कारण अस्ट्रेलियाको जनसङ्ख्यामा वृद्धहरूको वृद्धि हुँदै जानु नै हो।
“हामीलाई थाहा भएकै कुरा हो, यी नर्सहरूले कतिसम्मको काम गर्छन् भनेर तर उनीहरूको कामको गहिर्याईलाई चिन्नुपर्यो। अनि, उनीहरूलाई आफ्नो काम तथा व्यवसायबाट आत्मसन्तुष्टि हुनेछ। उनीहरू आत्म सन्तुष्ट भए मात्र उनीहरूलाई टिकाउन सजिलो हुनेछ।”

एक प्राथमिक स्वास्थ्य सेवा नर्स तथा मिडवाईफ दुवै रहेकी जुलियान ब्याडेनोकले करिब २० वर्ष यता परिष्कृत हुँदै गएको प्राथमिक स्वास्थ्य सेवा नर्सको भूमिका नजिकबाट नियालेकी छिन्।
उनको अनुसार, ती नर्सहरूको प्रबन्धकहरू तथा डाक्टरहरू (जी पी) पनि प्राथमिक स्वास्थ्य सेवा नर्सको भूमिका कस्तो हुनुपर्छ भन्नेमा कुरामा अन्योलग्रस्त छन्।
साथै, अस्ट्रेलियाको स्वास्थ्य प्रणालीमा अपर्याप्त अनुदानले पनि ती नर्सहरूको भूमिकालाई सीमित पारेको ब्याडेनोकको बिचार छ।
“हाम्रा हरेक समुदायहरूमा नर्सहरू छन्, उनीहरूको कामलाई मात्र भए पनि यदि हामीले सह्राना गरिदिन सक्यौँ भने, उनीहरूलाई चाहिने आधार प्रदान गर्न सक्यौँ भने अवस्था बदलिन बेर लाग्दैन।”
तर, सन्शाईन कोष्टमा काम गर्दै गरेकी एक नर्स रोमी ब्ल्याकलको धारणामा केही रोजगारदाताहरूले आफू सिड्नी जस्तो ठुलो सहरमा काम गर्दा आफूले चाहे अनुसार बिरामीहरूलाई मद्दत गर्न उचित वातावरण नबनाइदिएको बताउँछिन्।
“अरू कसैले गर्न मन नपराउने कामहरू समेत नर्सहरूले गर्नुपर्छ तर बिरामीहरू बाहेक अरू कसैले पनि त्यस्तो कठिन काम गरेको देख्दैनन्।”
“विशेषतः: रोजगारदाताहरुले हामीले गर्ने कामलाई कुनै भाउ नै दिँदैनन्,” उनले थपिन।
उनको विचारमा नर्सहरूले पुरानो रोगले ग्रस्त बिरामीहरूको उपचार योजना बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन्। तर उनको अनुभवमा डाक्टरहरू त्यसो होस् भन्ने चाहँदैनन्।
“मेरो विचारमा डाक्टरहरूलाई हामीले त्यसो गर्न उचित तालिम पाएका छौँ भन्ने नै थाहा छैन।”
उनको अभिव्यक्तिलाई अस्ट्रेलियामा काम गर्ने अधिकांश प्राथमिक स्वास्थ्य सेवामा कार्यरत नर्सहरूले बल पुर्याउन्दै, आफ्नो काम तथा क्षमताको राम्ररी सह्राना नभएको एक सर्वेक्षणलाई बताएका छन् ।
दुई हजार भन्दा बढी नर्सहरूले भाग लिएको एक नयाँ सर्वेक्षणको नतिजा अनुसार हरेक चार जनामा एक जनाले उनीहरूले आफ्नो कार्य दक्षता अनुरूपको काम गर्न नपाएको बताएका छन्।
४७.५ प्रतिशत नर्सहरूले आफ्ना रोजगारदाताहरुलाई आफूले थप जटिल खालका क्लिनिकल कामहरू गर्न सक्ने भने तापनि केवल ४२ प्रतिशत नर्सहरूले मात्र त्यस्तो कार्य गर्न अनुमति पाएको जनाएका थिए।

उता, विश्व स्वास्थ्य सङ्गठनले प्राथमिक स्वास्थ्य उपचारमा नर्सहरूको भूमिकालाई एकदमै महत्त्वपूर्ण मानेको छ।
गए वर्ष, विश्व नर्स दिवसको उपलक्ष्यमा विश्व स्वास्थ्य सङ्गठनकी प्रमुख नर्स अधिकृत एलिजाबेथ आइरोले उक्त तथ्यलाई जोड दिएकी थिइन्।
“विशेष गरेर सुदूर तथा ग्रामीण बस्तीहरूमा मानिसहरूले व्यावसायिक स्वास्थ्यकर्मी देख्ने भनेकै यी प्राथमिक स्वास्थ्य उपचारमा लागेका नर्सहरू हुन्।”
“यी टाढा-टाढाका ठाउँहरूमा प्रशिक्षित एवं एक दक्ष व्यावसायिक भएर त्यस्ता स्थानमा बस्ने समुदायहरूलाई सेवा गर्नु यी नर्सहरूको कर्तव्य हो,” उनले भनिन्।
विश्व स्वास्थ्य सङ्गठनकी आइरोको अनुसार नर्स तथा बिरामी बिच रहेको विश्वास अन्य कुनै पेसामा देख्न शायदै सकिन्छ। उनको विचारमा त्यस्तो सम्बन्धले हरेक समुदायहरूमा ठुलो लाभहरू निम्त्याउन राम्रो भूमिका राख्दछ।