बुधवारदेखि सुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो प्रश्नोत्तर कालमा मरिसनले अर्थतन्त्रमा विशेष ध्यान दिने क्रममा उक्त कुरा उल्लेख गरेका हुन्।
प्रधानमन्त्रीले संसद्को बैठकलाई सम्बोधन गर्ने क्रममा आकाशमा थप हवाईजहाज उडे र मानिसहरूले खुल्ला रूपले हिँडडुल गर्न पाए मात्र भर्जिन लगायत अन्य व्यवसाय फेरी तङ्ग्रिने बताए।
उनले भने,“हामीले अस्ट्रेलिया भर हवाईजहाजहरूलाई उडान भराउनुपर्छ र यदि तपाईँ अस्ट्रेलियाको चारै तर्फ विमानहरू उडेको हेर्न चाहनुहुन्छ भने, सभामुख महोदय, हामीले यी घरेलु सिमानाहरू खोल्न आवश्यक छ।”

“यो पार्टीगत मुद्दा होइन,” स्कट मरिसनले साउथ अस्ट्रेलिया, तास्मानिया, क्विन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलियाको नामै किटेर अगाडी थपे।
यसलाई देशकै अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताउँदै मरिसनले आफूद्वारा उक्त विषयमा लगातार अडिग रहेको स्पष्टीकरण दिए।
उता, प्रतिपक्ष लेबरले भने मरिसन नेतृत्वको सरकारद्वारा महामारीलाई राम्ररी सम्बोधन गर्न नसकेको आरोप लगाउँदै उक्त सङ्कटका कारण सबै भन्दा खाँचोमा परेकाहरूलाई उसले सहयोग गर्न नसकेको बताएको छ।
विपक्षी दलका नेताहरूले सरकार माथि लगातार हमला गर्दै रोबोडेट, जबकीपर र ३० वर्षमा पहिलो पल्ट अस्ट्रेलिया आर्थिक मन्दीमा फसेको बारे टिप्पणी गरेका थिए।

प्रमुख प्रतिपक्षी नेता एन्थोनी अल्बनिजेले सरकारद्वारा जबकीपर योजनामा समेट्ने भनिएको मानिसहरूको अनुमानमा ३० लाख भन्दा बढी सङ्ख्याले कसरी तल माथि भयो भनेर प्रश्न गरेका थिए।
“सरकारले ७२ करोड डलर प्रधानमन्त्रीको गैर-कानुनी रोबोडेट योजनाका पीडितहरूलाई दिने घोषणा र अस्ट्रेलिया तीन दशक यता पहिलो पटक मन्दीमा प्रवेश गरेको हो?,” अल्बनिजेले प्रधानमन्त्रीलाई पुष्टि गर्न भन्दै प्रश्न गरे।
त्यसको जवाफमा प्रधानमन्त्री स्कट मरिसनले विपक्षी दलका नेताले सधैँ गुनासो मात्र गर्ने भन्दै भने, “यो मन्दी हो, यसमा कुनै शङ्का नै छैन … सभामुख महोदय, केवल प्रतिपक्षमा बस्नेहरूले मात्र यो तथ्यमा रमाउन सक्छन् र यसलाई राजनैतिक लाभका लागि प्रयोग गर्न सक्छन्।”

चार लेबर सांसदद्वारा सेल्फ आइसोलेसनमा बस्ने निर्णय
सङ्घीय संसद्को हिउँदे अधिवेशनमा भाग लिन आइपुगेका सांसदहरू मध्ये लेबरका चार जनाले सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छन्।
क्विन्सल्याण्डका ग्रह्याम पेरेट र अन्निका वेल्स एवं नर्दर्न टेरोटेरीका वारेन स्नोडेन तथा मालर्नडिरी मक्कार्थीले पर्याप्त सावधानी अपनाउनका लागि भन्दै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेको बताए।
यस अघि उप-प्रमुख स्वास्थ्य अधिकृत निक् कोट्सवर्थले ब्ल्याक लाइभ्स म्याटर विरोध सभामा भाग लिएका सांसदहरूले कोरोनाभाइरसको लक्षण देखा परे मात्र क्यानबेरा आउँदा आइसोलेसनमा बस्नुपर्ने उल्लेख गरेका थिए।
