अस्ट्रेलियामा स्वास्थ्य सेवा महँगो त छ तर मेडिकेयर एवं स्वास्थ्य बीमा योजनाहरूले चाहिँ के-कस्ता उपचारहरू समेट्छन् त? के ती पर्याप्त छैनन्?
यहाँ आएर स्थाई बासिन्दा भइसकेकाहरूको हकमा अस्ट्रेलियन सरकार अन्तर्गत रहेको मेडिकेयर भनिने राष्ट्रिय स्वास्थ्य हेरचाह कार्यक्रमले अधिकांश उपचार तथा सार्वजनिक अस्पतालमा लाग्ने खर्च तिर्न सहयोग गर्छ।
तर, अन्तर्राष्ट्रिय विद्यार्थी लगायतका अस्थायी आप्रावासीहरु अनि आफन्तजन भेट्न आउने आगुन्तकहरुको हकमा भने निजी स्वास्थ्य बीमा योजना खरिद गर्नुपर्ने हुन्छ।

ओभरसिज स्टुडेन्ट हेल्थ कभर
ओभरसिज स्टुडेन्ट हेल्थ कभर (ओसएचसी) भनेर प्रचलित यो स्वास्थ्य बीमाले यहाँ अध्यनका लागि आउने सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आवश्यक परेको अवस्थामा चाहिने चिकित्सकीय सेवा तथा अन्य स्वास्थ्य सम्बन्धी सेवामा पर्ने खर्च बेहोर्छ।
ओसएचसीले एम्बुलेन्स बोलाउँदा लाग्ने शुल्क तथा सीमित मात्रामा केही औषधिहरूको मूल्य समेट्ने कार्य गर्दछ। सामान्य अवस्थामा यो बीमालाई पर्याप्त मानिन्छ।
प्राइभेट हेल्थ केयर अस्ट्रेलियाकी जेनिफर एड्डीका अनुसार अस्ट्रेलिया आउने सबै विद्यार्थीहरू एवं उनीहरूको साथमा आउने परिवारका सदस्यहरूले अनिवार्य रूपमा यो बिमा गरेको हुनु पर्दछ।
यसो नगर्दा भिसा नियमको उलंघन हुन्छ जसले गर्दा भिसा नै रद्द हुनसक्ने उनले एसबीएस नेपालीलाई बताइन।
ओसएचसी प्रयोजनका निमित्त अन्तर्राष्ट्रिय विद्यार्थीहरूको वर्गीकरणमा विद्यार्थी भिसाको आवेदन दिएकाहरू (अस्ट्रेलियामा रहेका) तथा ब्रिजिंग भिसा प्राप्त गर्नु अघि विद्यार्थी भिसामा भएकाहरू समेत पर्दछन्।
के सबै बिमा सेवा प्रदायकहरूले ओसएचसीको सुविधा दिन्छन् त भन्ने हाम्रो प्रश्नमा एड्डीले भनिन्, "अस्ट्रेलियामा ओसएचसीको सेवा प्रदान गर्न बीमा कम्पनीहरूले सङ्घीय सरकारसँग "डीड" भनिने विशेष सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्दछ। अहिलेसम्म जम्मा ५ बीमा कम्पनीहरूले सरकारसँग यस्ता सम्झौता पत्रहरूमा हस्ताक्षर गरेर आ-आफ्नो बिमा योजना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि तयार पारेका छन्।"
सङ्घीय सरकारसँग विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका बीमा कम्पनीहरू:
- अस्ट्रेलियन हेल्थ म्यानेजमेन्ट
- पिपल केयर हेल्थ लिमिटेड
- बुपा अस्ट्रेलिया
- मेडिब्याङ्क प्राइभेट
- एनआईबी हेल्थ फन्ड्स लिमिटेड
अस्ट्रेलिया आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ओसएचसी अन्तर्गतको बीमा अस्ट्रेलियन कम्पनीहरू मार्फत मात्रै लिन पाउने व्यवस्था रहेको एड्डीले प्रस्ट पारिन।

"अस्ट्रेलिया बाहिरका कम्पनीहरुलाई यहाँको सरकारले नियमन गर्न मिल्दैन। तर यहाँ अस्थायी रुपमा बसोबास गर्नेहरु प्रति सरकार जिम्मेवार हुन्छ। त्यसैले सरकारले अस्ट्रेलियन बीमा कम्पनीहरुले मात्र ओसएचसी सेवा प्रदान गर्ने नियम बनाएको हो," उनले भनिन।
एड्डीका अनुसार बिमा सेवा प्रदायक, बीमा योजना अवथा उपचार गर्दाखेरीको बिल सम्बन्धी कुनै पनि समस्या आए पहिले आफ्नो बिमा कम्पनीलाई सम्पर्क गर्नुपर्छ।
"यदि तपाईँले आफ्नो बीमा कम्पनीसँग उपयुक्त जवाफ पाउन सक्नुभएन भने प्राइभेट हेल्थ इन्सुरेन्स ओम्बड्स्मानलाई सम्पर्क गर्नुहोस्।"
छोटकरीमा फियो भनिने यो कार्यालयले तपाईँलाई बिना कुनै शुल्क तपाइका स्वास्थ्य बीमा सम्बन्धी समस्याहरू तथा जिज्ञासाहरू समाधान गर्ने गर्दछ।
ओभरसिज भिजिटरस हेल्थ कभर
नेपालबाट स्थायी बसोबासका लागि अस्ट्रेलिया आउने नेपालीहरूको सङ्ख्या बर्सेनि बढ्दै गर्दा, छोरा-बुहारी अथवा छोरी-ज्वाइँ भन्दै उमेर ढल्कँदै गरेका अभिभावकहरू पनि अस्ट्रेलिया घुम्न तथा आफन्तजनहरूसँग भेटघाट गर्न आउनेहरूको सङ्ख्या पनि थपिनु कुनै नौलो भएन।
बढ्दो उमेर, फरक खानपान तथा नेपालमा भन्दा बेग्लै किसिमको दिनचर्याले कसै-कसैलाई भने सास्त्ति नै दिन्छ। यस्तैमा बिरामी परियो भने त झनै हरिबिजोग। यिनै कारणहरूले गर्दा नेपाल लगायत प्राय विकासोन्मुख मुलुकहरुबाटअस्ट्रेलिया आउने प्राय:को भिजिटर भिसामा ८५०१ भन्ने सर्त हुन्छ।

८५०१ - हेल्थ कभर भनेर किटान गरिएको सर्त तपाईँ अथवा तपाईँका आफन्तजनको भिसामा छ भने ओभरसिज भिजिटरस हेल्थ कभर (ओभीएचसी) नामक बीमा योजना लिनुपर्दछ। यो बीमा योजनाले माथि उल्लेखित भिसामा अस्ट्रेलिया आउने मानिसहरूको उपचार गर्दा लाग्ने खर्च समेट्ने गर्दछ। आफूले किनेको बीमा योजना हेरी कुनैले पुरै रकमको भरपाई गर्दछ भने कुनैले केही हिस्सा मात्र।
ओभरसिज भिजिटरस हेल्थ कभरमा के-के पर्दछन् त?
- चिकित्सकीय रूपमा अत्यावश्यक रहेको अस्पताल भर्ना
- चिकित्सको शुल्कको केही भाग
- एम्बुलेन्स बोलाउँदा लाग्ने खर्च
- सीमित मात्रामा औषधि किन्नुपर्दा लाग्ने खर्च
तर, तपाईँलाई दन्त, नेत्र वा फिजियोथेरापी जस्ता अन्य सेवाहरूको आवश्यकता छ भने त्यस्ता सेवाका लागि अतिरिक्त बिमा योजना लिनुपर्ने हुनसक्छ। तर पनि ओभीएचसी बीमा योजनाले सम्पूर्ण रूपमा तपाईँको उपचारको खर्च समेट्दैन।
विशेषतः अनावश्यक ठहर भएका इलेक्टिभ भनिने ऐच्छिक किसिमका उपचारहरू ओभीएचसीको दायरा भित्र पर्दैनन्।
जस्तै मेडिकेयरले मान्यता प्रदान नगरेका उपचारहरू, ऐच्छिक रूपमा गरिने कस्मेटिक सर्जरी तथा आपत्कालीन अवस्था भएको समय बोलाइएको एम्बुलेन्स।
सबै सेवा प्रदायकहरूले एकै किसिमका योजनाहरू बेच्दैनन्।
तपाईँले आफ्नो आवश्यकता हेरी आफूलाई मन परेको कुनै पनि बीमा योजना छान्दा त्यसका सर्त तथा अन्य विवरणहरू बुझ्न जरुरी हुन्छ।
उजुरी
निजी स्वास्थ्य बीमा हेर्ने कमनवेल्थ अमबड्समनको एक पछिल्लो प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय विद्यार्थी तथा छोटो समय अस्ट्रेलियामा बिताउने गरी भिजिटर भिसामा आएका मानिसहरूले बीमा कम्पनीहरूले आफूसँग गरिएको सहमति अनरुपको काम नगरेको भनेर उजुरी गर्नेको सङ्ख्यामा कुनै कमी नआएको देखिएको छ।

फियोकी एक अधिकारीका अनुसार, अमबड्समनले सिफारिस गरेपछि बीमा कम्पनीले ३ दिन भित्र उजुरीकर्तालाई सम्पर्क गरिसक्नुपर्ने प्रावधान छ। सन् २०१६/१७ को वार्षिक प्रतिवेदन हेर्ने हो भने ७१ प्रतिशत मामलाहरू ३० दिन भित्र समाधान भएको देखिन्छ भने ९२ प्रतिशत मामलाहरू तीन महिना भित्र समाधान भएका थिए।

विदेशी नागरिक वा अस्ट्रेलियाको अस्थायी निवासी भएता पनि अस्ट्रेलियामा हुँदा तपाईँलाई अस्ट्रेलियन उपभोक्ता कानूनले संरक्षण प्रदान गर्छ, उनले एसबीएस नेपालीलाई बताइन।
"विदेशी नागरिकलाई बीमा प्रदान गर्ने सेवा प्रदायकहरू विरुद्ध उजुरी हाल्ने प्रक्रिया एकदमै सजिलो छ। अमबड्समनको वेबसाइटमा गएर सिधै दरखास्त हाल्न मिल्छ," उनले भनिन्।
आफूले पढिरहेको विषय, पाठ्यक्रम वा अध्यन गरिरहेको संस्थाबाट निक्लेपछी बीमाको लागि अग्रिम भुक्तानी गरेको रकम फिर्ता लिने कुरामा धेरै नै अलमल भएको भनेर उजुरीहरू बढिरहेको पनि उनले बताइन।
"यो आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामा यस्ता ७ वटा उजुरीहरू हामी सामु आइसकेको छ," अधिकारीले भनिन्।
