चार महिना लामो लकडाउन पछि गत जुलाई महिनामा सार्वजनिक यातायातहरू फेरी चल्न थाल्दा अधिकांश चालकसँग कोरोना विरुद्ध स्वास्थ्यको सुरक्षा गर्ने केही पनि सामग्री थिएनन्।
सरकारले मास्क, पन्जा र स्यानिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाएता पनि ती सामग्री उपलब्ध भने गराएको थिएन।
पहिले नै हात मुख जोड्न गाह्रो भएको अवस्थामा स्वास्थ्य सामग्री पनि किन्नु पर्दा झन् गाह्रो भएको एक जना टेम्पो चालक देवी श्रेष्ठ बताउँछिन्।
"स्यानिटाइजरको ठुलो बोतललाई ५०० रुपैयाँ पर्छ। टेम्पोमा राख्नै पर्यो, सबै यात्रुलाई दिनै पर्यो। आफूले मास्क र पन्जा पनि लाउनै पर्यो। सबैको एकै चोटि त्यत्रो पैसा खर्च गर्ने क्षमता पनि हुँदैन। चार महिना टेम्पो ग्यारेजमा थन्किएर केही कमाइ भएको छैन। त्यत्रो पैसा एकै चोटि कहाँबाट ल्याउने?" श्रेष्ठ भन्छिन्।

श्रेष्ठले चलाउने विद्युतीय तीन पाङ्ग्रे सवारी साधन सफा टेम्पो काठमान्डुमा सार्वजनिक यातायातका लागि धेरै लोकप्रिय छन्।
काठमान्डुका करिब ७०० टेम्पो मध्ये आधी जसोमा महिला चालक छन्।
धेरैजसो टेम्पो चालक महिलाहरू विपन्न, सामान्य साक्षरता मात्रै भएका र काठमान्डु बाहिरका आप्रवासी रहेका छन्।
ती मध्ये एक देवी श्रेष्ठ सिन्धुपाल्चोकबाट २०५९ सालमा काठमान्डु आउँदा झन्डै निरक्षर थिइन्।
त्यति बेला ३ महिनाको प्रौढ शिक्षा मात्रै पढेकी उनले मुस्किलले अक्षर चिन्थिन्।
१५ वर्षमा विवाह गरेर १८ वर्षमा श्रीमानसँगै काठमान्डु आएर उनले धेरै ठाउँमा काम गर्ने कोसिस गरिन्।
भर्खर-भर्खर महिलाहरूले टेम्पो चलाउन थालेको समयमा उनलाई पनि त्यो देखेर चलाउन रहर लाग्यो।

साथीहरूसँग सिक्दै चलाउँदै गरेर उनले १५ वर्ष अगाडि लाइसेन्स निकालिन् र ८ वर्ष अगाडि आफ्नै टेम्पो किनिन र सँगसँगै उनले विद्यालय गएर पढ्न पनि थालिन्। हाल उनी कक्षा ८ मा अध्ययनरत् छिन्।
टेम्पो चलाएर महिनाको १ लाख सम्म कमाउने र गाडीको मर्मत खर्च र ऋणको किस्ता तिरेपछि ५० हजारसम्म बचाउने श्रेष्ठ बताउँछिन्।
"मैले गार्मेन्ट फ्याक्ट्री र होटेलमा पनि काम गरेँ, त्यहाँ महिनाको १५००-२००० कमाउँथेँ। ती सङ्घर्षका दिनहरू अहिले सम्झिँदा टेम्पोले मलाई आत्मनिर्भर बन्न मद्दत गरेको छ भन्ने लाग्छ," श्रेष्ठ भन्छिन्।
"टेम्पोको कमाइले मलाई घर चलाउन मात्रै होइन, एक छोरा र एक छोरीलाई शिक्षा दिन पनि पुगिरहेको छ।"
एक समयमा टेम्पो व्यवसायीहरूले महिला चालकहरूलाई प्रोत्साहन गरेकाले पनि हाल महिला चालकहरूको सङ्ख्या बढेको टेम्पो व्यवसायीहरू बताउँछन्।

"सफा टेम्पो हलुका हुन्छ, गियर पनि नभएकाले चलाउन सजिलो हुन्छ, र विद्युतीय भएकाले अरू गाडी भन्दा मर्मत सम्भार गर्न सजिलो हुन्छ। त्यसैले हामीले करिब दुई दशक अघि एउटा प्रयोग गर्यौँ। केही महिलाहरूलाई सफा टेम्पो चलाउने तालीम दियौँ," नेपाल विद्युतीय परिवहन सङ्घका अध्यक्ष उमेश श्रेष्ठ बताउँछन्।
"महिलाहरूले यो टेम्पो सडकमा चलाउने मात्रै होइन, हिसाबकिताबमा इमानदारी राख्दै र यात्रुहरूसँग सौहार्द व्यवहार गर्दै निकै राम्रोसँग सञ्चालन पनि गर्न थाले। त्यसपछि अरू पनि महिलाहरूले चलाउन थाले, र विशेष गरी विपन्न र कम शिक्षित महिलाहरू यसप्रति आकर्षित भएका छन्।"
त्यसपछि केही गैर सरकारी संस्थाहरूले पनि विपन्न र अशिक्षित महिलाहरूलाई टेम्पो चलाउने तालीम दिएका थिए।
अहिले काठमान्डुका करिब ७०० टेम्पो मध्ये आधा टेम्पो महिलाहरूले चलाएका छन्, र सफा टेम्पोले झन्डै ३५० विपन्न र अशिक्षित महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत गरेको छ।
मार्च २४ देखि नेपालमा लकडाउन सुरु भएपछि भने उनीहरूले त्यो आत्मनिर्भरता गुमाएका छन्।

कति टेम्पो चालकहरूले ऋण गरेर आफ्नै टेम्पो किनेका थिए, र लाखौँको ऋणमा महिनैपिच्छे ब्याज तिर्नका लागि ब्याङ्कहरूले उनीहरूलाई फोन गरिरहेको बताउँछन्।
"हाम्रो पैसा साँचेर राख्ने बानी हुँदैन। आज कमाएको आजै खर्च गर्छौँ। चार्जिङ स्टेसनलाई तिर्ने, खानेकुरा किन्ने, अनि बाँकी रहेको पैसा ब्याङ्कको ऋणको किस्ता तिर्नका लागि फाइनान्समा बुझाउने गरेको थियो। हातमा पैसा नहुने हुँदैन लकडाउनमा हात मुख जोड्न नै धौ धौ परिरहेको बेलामा ब्याङ्क र फाइनान्सहरूले किस्ता तिर्न भन्दै फोन गरिरहेका थिए," श्रेष्ठ भन्छिन्।
"टेम्पो किनेपछि मेरो अझै १५-१६ लाख ऋण छ, त्यो कमाएर तिर्छु भन्ने छ। तर अहिले कमाइ नै नहुँदा ब्याज चाहिँ छुट गरिदिए हुन्थ्यो।"
जुलाई २१ मा लकडाउन खुलेपछि केही चालकहरूलाई तत्कालै गाडीहरू सडकमा निकाल्न गाह्रो परेको थियो।
महिनौँदेखि थन्किँदा खिया लागेर बिग्रिएका गाडीलाई मर्मत गर्नका लागि उनीहरूले सरकारसँग सहयोग मागेका थिए।
सरकारले उनीहरूको मागको सुनुवाइ नगरेपछि श्रेष्ठ लगायत थुप्रै व्यवसायीले आफ्नै खर्चमा १०-१२ हजार रुपैयाँ लगानी गरेर टेम्पोहरु मर्मत गरेर चलाउन थाले।

त्यो समयमा टेम्पो व्यवसायीहरूले सरकारसँग अरू पनि माग राखेका थिए ब्याङ्कहरूको ब्याजमा छुट गरिदिने, कागजात नवीकरणमा छुट दिने, स्यानिटाइजर पन्जा लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने, कोरोनाको परीक्षण निःशुल्क गराउन र कोरोनाको बिमा गरिदिने आदि।
सरकारले प्रेस विज्ञप्तिहरू मार्फत बिमाको आधा रकम दिने र चालकको लाइसेन्स नवीकरण निःशुल्क गर्ने प्रतिबद्धता जनाएको छ, र त्यो बाहेक अरू कुनै पनि माग पुरा गरेको छैन।
कोरोनाको प्रकोपको समयमा यात्रु निकै कम हुँदा पनि चालकहरूले गाडी चलाउन भने छोडेनन्।
"रोग टाढै छ, भोक आँगनमै आइसक्यो," श्रेष्ठ भन्छिन्।
"एकातर्फ रोगको डर पनि छ, तर अर्कोतर्फ सबैतिरबाट दबाब आइसक्यो ब्याङ्कको, घरबेटीको। अनि आफूलाई खर खर्च चलाउनै धौधौ परिसक्यो। यो बिचमा केही संस्थाहरूले खानेकुरा बाँडेकाले केही राहत भयो। तर आफूसँग भएको सीप उपयोग गरेर आफैँ कमाएर खानु पाउँदा खुसी लाग्छ। लकडाउन खुलेपछि टेम्पो फेरी चलाउन पाउँदा निकै खुसी लागेको थियो।"

जीविकोपार्जनका लागि जोखिमपूर्ण यात्रामा निस्किँदा उनीहरूलाई स्वास्थ्य सामग्री जोहो गर्न निकै समस्या पर्यो।
"सार्वजनिक यातायातका चालकले प्रतिदिन धेरै मानिसहरूसँग सम्पर्क गर्नुपर्ने हुन्छ। उनीहरू पनि चिकित्सक र प्रहरी जस्तै अग्र पङ्क्तिमा काम गर्ने मानिस हुन्। त्यसैले उनीहरूलाई पनि त्यसै सरहको स्वास्थ्य सुरक्षा हुनुपर्छ भन्ने हाम्रो माग छ," टेम्पो चालक व्यवसायीहरूको एउटा सङ्घका सञ्चालक नेत्र भाट बताउँछन्।
"उनीहरूलाई मास्क, स्यानिटाइजर र पुरा शरीर ढाक्ने सुरक्षा पोसाक उपलब्ध गराइनुपर्छ। तर सरकारले हाम्रो मागको सुनुवाइ नगरेको हुँदा हामीले आफ्नै खर्चमा ती सामग्री चालकहरूलाई दिइरहेका छौँ।"
आफ्नै टेम्पो चलाउने श्रेष्ठले आफैँ ती सामग्री किनेकी छिन् तर त्यति किन्न पनि सजिलो नभएको उनी बताउँछिन्।
आजकाल उनले आफ्नो रुटमा एक चक्कर लगाउँदा मुस्किलले दुई तीन जना यात्रु चढ्छन्।

एकातर्फ सरकारले सार्वजनिक सवारी साधनमा क्षमताभन्दा आधी मात्रै यात्रु राख्न पाउने नियम लागु गरेको छ भने अर्कोतर्फ यात्रुहरू नै अरूलाई छोइने डरले थप यात्रु चढाउन दिँदैनन्।
लकडाउन भन्दा अगाडि उनी दिनको ३५००-४००० रुपैयाँ बचाउँथिन्।
लकडाउनपछि मुस्किलले दिनको १००० रुपैयाँ बचाउँछिन् र त्यसमा पनि दिनको ५०० चार्जिङ स्टेसनलाई तिरेपछि उनीसँग आफ्नो आधारभूत आवश्यकता पुरा गर्ने पैसा मात्रै बाँकी रहन्छ।
श्रेष्ठले मुस्किलले जोहो गरेको स्यानिटाइजर प्रत्येक यात्रुलाई टेम्पो चढ्ने बित्तिकै दिने गरेकी छिन्, हातमा पन्जा र मुखमा मास्क लगाउँछिन्।

तर दिनदिनै सयौँ मानिससँग पैसा साटासाट गर्दा उनलाई पैसाबाट कोरोना सर्ला भन्ने डर भने बाँकी नै छ।
सडकमा थुप्रै चालकहरूले भने त्यस्ता केही सामग्री प्रयोग नगरेको पनि देखिन्छ।
आर्थिक बाध्यताले गर्दा जुनसुकै अवस्थामा पनि काम गर्न तयार सार्वजनिक सवारी साधनका चालकहरूको स्वास्थ्य जोखिममा परिरहेको छ।
कोरोना सङ्क्रमित मानिसको सङ्ख्या निकै बढेकाले अगस्ट २० देखि काठमान्डुमा निषेधाज्ञा जारी गरिएपछि सार्वजनिक सवारी साधन चलेका छैनन्।
तर सरकारले स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउने मागको सुनुवाइ नगरेको हुँदा फेरी सार्वजनिक यातायात चलाउने अवस्था आयो भने स्वास्थ्यको जोखिम उत्तिकै रहने चिन्ता टेम्पो चालकहरूको रहेको छ।

भिडियो र फोटो: मोनिका देउपाला
यो रिपोर्ट पपुलेशन रेफरेन्स ब्युरोको आर्थिक सहायतामा तयार पारिएको हो।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
