सबैभन्दा पहिला, हिजोको खेलमा न्युजील्याण्ड १८ रनले विजयी भएको छ।
वर्षाका कारण दुई दिन गरेर खेलिएको यो म्याचमा न्युजिल्याण्डका तर्फबाट रस टेलरले ७४ (९०) र कप्तान केन विलियमसनले ६७ (९५) बनाएका थिए।
त्यसै गरी विस्फोटक ब्याटिङ गरेर रबिन्द्र जडेजाले ७७ (५९) महेन्द्रसिंह धोनीसंग ५०(७२) मिलेर भारतलाई जीत नजिक पुर्याएका थिए।
अब आज राति हुने दोस्रो सेमी फाइनलमा भने इङ्गल्याण्डसँग अस्ट्रेलिया वार्विकशायरको एज्बास्टनमा भिड्दै छ।
खेल अस्ट्रेलियन इस्टर्न स्ट्याण्डअर्ड समयानुसार साँझ ७:३० मा सुरु हुनेछ।
एज्बास्टन ब्रिटेनमा खेलिएका कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलका लागि राति बत्ती बालेर खेलिएको पहिलो स्थान हो। सन् १९९७ को जुलाई अर्थात् २२ वर्ष अघि स्थानीय क्रिकेट टोली वार्विकशायरको र सोमरसेटले बत्ती मुनि एक दिवसीय खेल खेलेका थिए !
अघिल्लो “ग्रुप स्टेज” को म्याच लर्ड्स मैदानमा अस्ट्रेलियाले ६४ रनले जितेको थियो जसमा कप्तान फिंचको १०० रन र डेभिड वार्नरको ५३ रनको योगदान रहेको थियो।
क्रिकेट फ्यान रिहान्ना

र्याप र अन्य पश्चिमेली साङ्गीतिक फाँटमा निकै लोकप्रिय रहेकी रिहान्नाले यस पटकको विश्वकपमा दर्शक हुँदै ध्यान आफू तिर तान्न सफल भएकी छिन्।
बार्बडोसमा जन्मेकी रिहान्नाले अमेरिका र युरोपलाई आफ्नो कर्मथलो बनाए पनि मातृभूमि र त्यहाँ सबैले मन पराउने क्रिकेटबाट आफूलाई अलग भने राख्न सकिनन्।
जुलाई १ तारिकमा वेस्ट इन्डिज र श्रीलङ्का बिचको खेल भइरहेको डर्ह्याम स्थित एमिरेट्स रिभर साइड ग्राउण्डमा झुल्केर उनले त्यहाँ उपस्थित सबैलाई आश्चर्यमा पारिदिएकी थिइन्।
बालिका हुँदा रिहान्ना पढ्ने स्कूलबाट थुप्रै क्रिकेटरहरू उत्पादन भएको र हाल वेस्ट इन्डिजका सहायक प्रशिक्षक रहेका रड्डी एस्ट्विकले उनलाई पढाएको बिबिसीले जनाएको छ।
११ वर्ष पछि दोहोरिएको कप्तानी

बर्सातका कारण हिजो र अस्ति, दुई दिन लगाएर खेलिएको यस विश्वकपको पहिलो सेमी फाइनल म्याचमा भारत र न्युजिल्याण्डका तर्फबाट कप्तान रहेका विराट कोहली र केन विलियमसनका लागि यो ११ वर्ष पछि जुरेको अनौठो संयोग थियो।
सन् २००८ को “अन्डर १९” विश्वकपको सेमी फाइनलमा पनि यी दुई खेलाडीहरू आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए।
त्यति बेला “अलराउण्डर” भूमिकामा मैदान ओर्लने कोहलीले विलियमसनको विकेट लिएका थिए।
तर यी दुबैलाई भने, एक दशक भन्दा अघिको उक्त घटना खासै याद नरहेको कुरा, यो सेमी-फाइनल खेल भन्दा अघि आयोजना गरिएको पत्रकारहरू सम्मेलनको क्रममा भनेका थिए।
“लौ, मलाई बताइदिनुहोस् त, कसरी?”
“मैले यस्तो फेरी पनि (हामी दुई पुन: आ-आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गरेर विश्वकपको सेमी फाइनलमा भिड्ने) हुनसक्छ भनेर कहिले सोचेको पनि थिइन, कस्तो गज्जब भयो हगि?,” विलियमसनले उक्त पत्रकार सम्मेलनमा भने।
कोहलीले पनि विलियमसनको विकेट आफूले लिएको बारे सोधिएको प्रश्नलाई सम्बोधन गर्ने क्रममा आश्चर्य पर्दै भने, “हो र!? मैले केन (विलियमसन)को विकेट लिएको थिएँ?”
“मलाई लाग्दैन अब यसपालि फेरी म त्यसो गर्न सक्छु भनेर!,” कोहलीले भने।
