स्थानीय समय अनुसार गए राति बारा र पर्सामा करिब आधा घण्टा सम्म आएको उक्त आँधीका कारण ७०० भन्दा बढी मानिसहरू घाइते भएको पनि बताइएको छ।
गृह मन्त्रालयका प्रवक्ताका अनुसार बारामा २६ जनाको र पर्सामा १ जनाको मृत्यु भएको छ।
तर आज बिहान देखि उद्धार कार्य पुनः सुरु हुन लाग्दा मृतकहरूको सङ्ख्या झनै बढ्न सक्ने चिन्ता पनि अधिकारीहरूले व्यक्त गरेका छन्।
भारी वर्षा र असिनाका साथ आएको ठुलो हावा हुरीका कारण रुख र बिजुलीका खम्बाहरू ढलेर मानिसहरूको मृत्यु भएको घटनाहरू बारे पनि स्थानीय समाचारहरूमा बताइएका छन्।
साथै सवारी साधनहरू पल्टिएका र केही माटोले बनेका घरहरू पनि भत्किएको बताइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बीबीसीलाई बताए कि घाइतेहरूको उपचारका लागि अस्पतालमा बढेका छापका कारण रक्तदानको आह्वान गरिएको थियो।
"अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएकाले त्यसो गर्नुपरेको हो। सम्पूर्ण घाइतेको नि:शुल्क उपचारको व्यवस्था गरिएको छ”, उनले बताए।
गए राति सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार कार्यका लागि हेलिकप्टरहरु तयार रहेको भन्दै मृतकहरू प्रति श्रद्दान्जली अर्पण गरेका थिए।
आँधीबेहरी गएको बारा जिल्लाका प्रमुख, राजेश पौडेलका अनुसार मृत्यु हुने मानिसहरूको सङ्ख्या अझै अधिक हुनसक्छ। उनका अनुसार उद्धारकर्मीहरू उक्त स्थल पुगेपछि हताहती भएका मानिसहरूको सङ्ख्या यकिन हुने पनि बताए।
स्थानीय प्रहरी अधिकृत सानुराम भट्टराईका अनुसार रातको समय भएका कारण उद्धारकर्मीहरू घटनास्थलमा पुग्न अप्ठेरो भएको थियो।
