प्रमुख विषय:
- सिड्नी नर्दन बीचेसमा १७ कोरोना भाइरस सङ्क्रमण पुष्टि
- युरोपमा यही डिसेम्बर महिनाको अन्त्यसम्म कोभिड-१९ विरुद्ध खोप वितरण गरिने तयारी
- न्यु जिल्यान्ड आउँदो सन् २०२१ मा खोप ल्याउने तयारी
सिड्नीको नर्दन बीचेसमा आज बिहीबार साँझको पछिल्लो अद्यावधिक अनुसार १७ नयाँ कोरोना भाइरस मामिलाहरू पत्ता लागेको छ। त्यहाँका स्थानीय सरकारी क्षेत्रका सबै बासिन्दाहरूलाई आउँदा तीन दिनसम्म सके सम्म आफ्नो घरबाट बाहिर ननिस्कन न्यु साउथ वेल्स हेल्थले आग्रह गरिएको छ।
मानिसहरूलाई इष्टमित्र र वृद्ध हेरचाह केन्द्र तथा अस्पतालहरूमा पनि अत्यावश्यक नभए परिवारलाई भेट्न नजान, र चर्च, क्लब, रेस्टुरेन्ट र जिमजस्ता उच्च जोखिम हुने स्थानहरूमा पनि नजान आग्रह गरिएको छ।
हिजो बुधवार र आज बिहीबार बिहान परीक्षण गरिएका मानिसहरू गरी १७ जनामा सङ्क्रमण पुष्टि भएको हो।
सङ्ख्या यसरी बढेको हुनाले र नयाँ सङ्क्रमितहरूको अझै अनुसन्धान भइरहेको हुनाले अन्य क्षेत्रहरूमा पनि सङ्क्रमण फैलिएको हुन सक्ने न्यु साउथ वेल्स हेल्थले बताएको छ।
बुधवार दुई सिड्नी निवासी र सिड्नी विमानस्थलको एक कर्मचारीमा कोभिड-१९ फेला परेको थियो।
बिहीबार बिहान पत्ता लागेका तीन सङ्क्रमण मध्य एक जना फ्रेन्च्स फोरेस्टमा बस्दै आएका ६० वर्षीय युवक हुन्, को एक ब्यान्डमा काम गर्दथे।
गत हप्ता उनी एभलोन आरएसएल क्लब, पेनरिथ आरएसएल क्लब र किरीबिली क्लबमा गएको बताइएको छ।
अर्की सङ्क्रमित एभलोनको पिटवाटर पाल्म्समा काम गर्ने एक ५० वर्षीय एज केयर कर्मचारी हुन्। नर्दन बीचेसमै बस्ने उनका पार्टनरमा पनि बिहीबार दिउसो सङ्क्रमण पुष्टि भएको हो।
बुधवार साँझ नर्दन बीचेसकी एक ६० वर्षीय महिला र उनका करिब ७० वर्षीय पुरुषमा कोभिड-१९ सङ्क्रमण पत्ता लागेको थियो।
यस पछि पाल्म बिचको महिलाहरूले लुगा फेर्ने कोठाहरू, कोस्ट पाल्म बिच क्याफे, एभलोन बोलो, एभलोन बिचको स्नीकी ग्राइण्ड क्याफे, एभलोन बिचको वुलवोर्थ्स, एभलोनको ओलीभर्स पाईलाई उच्च जोखिम भएका स्थानको रूपमा तोकिएको थियो।

मोना भेल अस्पतालमा कोभिड-१९ को परिक्षणका लागि बिहीबार बिहानदेखि सयौँ जना मानिसहरू पुगेका थिए।
यसरी सङ्क्रमण बढ्दै गएमा नियन्त्रण नभएसम्म नर्दन बीचेसका नर्सिङ होमहरू बन्द गरिन सक्ने न्यु साउथ वेल्स प्रिमियर ग्ल्याडिस बेरेजिक्लियनले बताइन्।
सिड्नीको दक्षिण पश्चिम भागको एक ४५ वर्षीय भ्यान ड्राइभरमा पनि कोरोना भाइरस सङ्क्रमण देखा परे पछि न्यु साउथ वेल्स हेल्थले तुरुन्तै अनुसन्धान जारी गरेको छ। अन्तर्राष्ट्रिय विमानका कर्मचारीहरूलाई उनीहरूको बस्ने ठाउँमा पुर्याउने क्रममा उनी सङ्क्रमित भएका हुन्।
अन्तराष्ट्रिय खबर
युरोपमा सन् २०२० को अन्त्यसम्म कोभिड-१९ विरुद्धको खोप वितरण गर्ने तयारी जारी रहँदा मानिसहरूलाई क्रिसमसको समयमा सङ्क्रमण नियन्त्रणका लागि मास्कको प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ।
क्रिसमस आफ्ना परिवार इष्टमित्र रमाउने समय हो, तर यो चाड नजिकिँदै जाँदा विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या भने तीव्र गतिमा बढिरहेको छ।
त्यसैले विश्व स्वास्थ्य सङ्गठनले युरोपेलीहरूलाई चाड मनाउने क्रममा मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र सके सम्म बाहिरी स्थानमा भेला हुन आग्रह गरेको छ।

विश्वभर थुप्रै राष्ट्रहरूमा प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमित र सयौँ मृतकहरू बढी रहँदा प्रतिबन्धहरू पनि थपिई रहेका छन्।
डेनमार्कमा सरकारले क्रिसमस र नयाँ वर्षको समयका लागि कडा लकडाउन जारी गर्दै छ।
त्यहाँ आज डिसेम्बर १७ तारिख देखि मलहरू बन्द गरिँदै छन्, र क्रिसमस (डिसेम्बर २५) देखि सुपर मार्केट र खाद्य सामग्री वितरक बाहेक सबै पसलहरू पनि बन्द रहने छन्।
पछिल्ला समयमा सङ्क्रमित र अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या बढी रहेको हुँदा आउँदा महिनाहरू यस महामारीको सबै भन्दा कठिन समय हुने डेनिस अधिकारीहरूको अनुमान छ।
उता ब्रिटेनमा सङ्क्रमण बढी रहे तापनि डिसेम्बर २३ देखि डिसेम्बर २७ को बिचमा तीन वटा घरका मानिसहरूलाई एकै ठाउँमा भेला हुने अनुमति दिइएको छ। विज्ञहरूले चाडको समयमा प्रतिबन्ध झन् कडा बनाउनु पर्ने भन्दै उक्त फैसलाको आलोचना गरिरहँदा प्रधान मन्त्री बोरिस जोनसनले भने यसले सीमा तोकेको दाबी गरेका छन्।
युरोपेली सङ्घले चाँडो भन्दा चाँडो २३ डिसेम्बरसम्म फाइजर-बायोएनटेक कोभिड-१९ खोपलाई स्वीकृति प्रदान गर्ने सम्भावना रहेको एक वरिष्ठ अधिकारीले बताएका छन्। यस अनुमति प्राप्त भएमा फ्रान्सका बासिन्दाहरूले डिसेम्बर महिनाको अन्तिम हप्तासम्म खोप लगाउन पाउने छन्।

फ्रान्समा यस वर्षको अन्त्य सम्म ११ लाख, र आउँदो दुई महिना भित्र २३ लाख खोपका डोजहरू आइसक्ने प्रधान मन्त्री जन कास्टेक्सले बताएका छन्।
यति डोजले वृद्ध जनसङ्ख्या र तीनका देख भाल कर्ता, स्वास्थ्य कर्मचारी, र उच्च जोखिममा रहेका मानिसहरूलाई प्राथमिकता दिँदै १७ लाख जनालाई पर्याप्त हुने उनी बताउँछन्।
अन्य युरोपेली राष्ट्रहरूले पनि समान समयमा खोप वितरण सुरु गर्ने बताइएको छ।
जर्मनीले पनि वृद्ध हेरचाह केन्द्रहरूमा व्यक्तिहरूलाई प्राथमिकता दिँदै २७ डिसेम्बरदेखि भ्याक्सिन दिन सुरु गर्ने छ।
पछिल्लो समयमा कोभिड-१९ का कारण उक्त राष्ट्रमा अहिले सम्मकै अधिक मात्रामा ९५२ जनाले ज्यान गुमाएका छन्।
युरोपका सबै राष्ट्रहरूले एउटै हिसाबमा काम गरेमा सजिलो हुने स्वास्थ्य मन्त्री येन्सले बताए।
संयुक्त राज्य अमेरिकामा फाइजर-बायोएनटेक भ्याक्सिनको वितरण प्रक्रिया जारी रहँदा अब नर्सिङ होमहरूलाई पर्याप्त डोज प्राप्त भएको अधिकारीहरूले बताएका छन्।
अमेरिकाको खोप योजना अनुसार स्वास्थ्य कर्मचारी र नर्सिङ होमका निवासीहरू पछि अग्र मोर्चाका कामदार, वृद्ध जनसङ्ख्या र दीर्घकालीन रोग भएका मानिसहरूलाई प्राथमिकता दिइने छ।

केही अफ्रिकी र ल्याटिन अमेरिकी समुदायहरूमा खोप प्रति सन्देह र अविश्वास रहेको, तर ती व्यक्तिहरूले पनि उक्त योजनाको पालना गर्ने आफ्नो आशा रहेको, स्वास्थ्य तथा मानव सेवा सचिव एलेक्स अजारले बताए।
यता न्यु जिल्यान्ड भने आउँदो सन् २०२१ मा खोप वितरण सुरु गर्ने बताएको छ।
हाल मात्र एस्ट्राजेनेका र नोभाभ्याक्स नामक भ्याक्सिन कम्पनीहरू सँग गरेको सम्झौता पछि न्यु जिल्यान्डसँग आफ्ना ५१ लाख बासिन्दाका साथ साथै प्यासिफिक क्षेत्रका छिमेकी राष्ट्रहरूलाई पर्याप्त हुने गरी एक करोड ५० लाख डोज भ्याक्सिन उपलब्ध हुने छ।

प्रधान मन्त्री जसिन्डा आर्डनले आउँदो वर्षको सुरुवातमा अग्र मोर्चाका कर्मचारीहरूलाई पुग्ने गरी खोप आइसक्ने आशा गरेकी छिन्। सर्वसाधारणहरूलाई भने सन् २०२१ को मध्यान्तरसम्म खोप उपलब्ध गराउने उनको लक्ष छ।
र त्यस्तै, विश्व स्वास्थ्य सङ्गठनले गठन गरेको एक टोलीले आउँदो जनवरीको पहिलो हप्तामा कोरोना भाइरसको उत्पत्ति बारे अनुसन्धान गर्न चीन जाने भएको छ।
१२ देखि १५ जना विज्ञहरूको टोलीले वुहानमा गई, चिनिया अन्वेषकहरूले सङ्कलन गरेको मानव तथा पशुका नमुनाहरू माथि थप अनुसन्धान गर्ने छन्।
आफ्नो भाषामा कोभिड-१९ बारे पछिल्ला समाचार र स्वास्थ्य आदेशका लागि sbs.com.au/coronavirus मा जानुहोस्।
