विश्वभर गरिएको एक सर्वेक्षणको नतिजा अनुसार, महिलाहरूले आफूहरूलाई ताकेर सिठी बजाउने र अपशब्द बोल्ने क्रियाकलाप सबैभन्दा धेरै रहेको बताएका छन्।
भारतको दिल्ली, अफ्रिकी शहर काम्पला, युरोपका लिमा, म्याड्रिड लगायत अस्ट्रेलियाको सिड्नीका युवतीहरूले त्यस्तो अभिव्यक्ति दिएका हुन्।
सिड्नीको अवस्था
प्लान इन्टरनेस्नलको “शहरहरुमा असुरक्षित” नामक एक अध्यनका अनुसार, सिड्नीको केन्द्रीय व्यापारिक क्षेत्र भित्रै पर्ने तीन ठाउँहरू महिला विरुद्ध हुने यौनजन्य हिंसाको प्रमुख स्थानका रूपमा भेटिएका छन्।
साथै, “फ्री टु बि” नामक सूचना बुझाउन सकिने एक एपमा देखाइए अनुसार, सिड्नीको सेन्ट्रल स्टेसन, बेलमोर पार्क, टाउन हल, हाईड पार्क तथा न्यु टाउन स्थित किङ्ग स्ट्रिट महिलाहरूलाई सताइने प्रमुख स्थानहरूमा पर्छन्।यी स्थानहरूमा शारीरिक यौन उत्पीडन र लागू पदार्थ एवं मदिरा सेवन गरेर अभद्र व्यवहार गरिएको उजुरी उक्त एपमा सर्वाधिक रहेका छन्। त्यसै गरी, किङ्ग स्ट्रिटमा भने एलजीबीटीआई+ समूह प्रति लक्षित रहेका उत्पीडनहरू प्रमुख छन्।
सन् २०१८को अप्रिलदेखि जुनसम्म गरिएको उक्त अध्यनका अनुसार सिड्नीका ३४ प्रतिशत महिलाहरूले मौखिक धम्कीहरूको सामना गर्नुपरेको थियो भने ३२ प्रतिशतले आफूहरू माथि लक्षित गरी अपशब्द बोलिएको उल्लेख गरेका थिए।
सर्वेक्षणमा भाग लिने ४३ प्रतिशत युवतीहरूको उमेर २१ देखि २५ वर्षसम्म रहेको थियो भने २६ प्रतिशत १६ देखि २० वर्षका थिए।
एक १८ वर्षीय युवती कामका लागि अन्तर्वार्ता दिन जाँदा लाग्दा, नजिकै भवन निर्माण गरिरहेका ट्रेडीहरुले आफूलाई सिठी बजाउँदै जिस्काएको कारण दिनभर तनावमा बितेको सम्झँदै भन्छिन्, “(त्यस अनुभवले) मलाई दिनभर नै सताई रह्यो - अरूले सिठी बजाउँदै अनायासै अशब्द बोलेपछि मैले आफूलाई निकै तहभित्र लुकाएर राख्ने मन गरेँ।”उक्त प्रतिवेदन अनुसार, सिड्नीमा घट्ने उत्पीडनका घटनाहरू मध्ये ८२ प्रतिशत सडकमा, १४ प्रतिशत सार्वजनिक यातायातमा र नौ प्रतिशत पार्कहरू तथा पसलहरूमा घट्ने गर्छन्।
अधिकांश घटनाहरू प्राय गरेर दिउँसो तथा राती हुने पनि प्लान इन्टरनेश्नलको उक्त रिपोर्टमा जनाइएको छ।

घटनाका वर्णनहरू
एक साँझ पार्टीबाट घर फर्किँदै गर्दा एक २३ वर्षीय युवतीलाई दुई पुरुषहरूले गाडीबाट पछ्याउन थालेपछि उनी भाग्दै अर्काको घर अगिल्तिर रहेको बगैँचामा लुकेर बचेको कुरा प्रतिवेदनमा उल्लेख छ।
“म दौडेर अर्काको बगैँचामा लुक्न गएँ। एक मिनेट जति मात्रै के भएको थियो, मलाई पछ्याईरहेको गाडी फर्केर आयो र सुस्त गतिमा सडकको यो छोड देखि त्यो छोड गरिरह्यो। केही बेरसम्मै यो क्रम चलिरह्यो। अन्तमा, त्यो गाडी त्यहाँबाट अन्यत्रै हुइङ्किये पछि म तर्सँदै घरसम्म दौडिँदै पुगेँ।"
अर्की एक १९ वर्षीया युवतीले भने पुरुषहरूले भरिएको एक भ्यानद्वारा कराउँदै पछ्याईएपछि साथीसँगै नजिकै रहेको पसलमा लुकेको बताइन।
त्यसै गरी एक २३ वर्षीया युवतीले भने घर फर्कँदै गर्दा बाटामा रहेका केही पुरुषहरूले आफूमाथि गरिएको शारीरिक उत्पीडनको घटना यसरी वर्णन गरिन्,
“म घर फर्कँदै थिएँ, बाटामा केही पुरुषहरू गफ्फिन्दै थिए। त्यत्तिकैमा एकजनाले मेरो स्कर्ट मुनि हात घुसारेर मेरो नितम्ब समात्यो। जब मैले उसको सामना गरेँ, उसका साथीहरूले उसको बचाउ गरे।”
चाँदीका घेरा
निकै स्थानहरूमा महिलाहरूले दुर्व्यवहारको सिकार हुनु परे पनि सिड्नीका केही ठाउँहरूमा भने उनीहरूले आफूलाई सुरक्षित महसुस गर्ने बताएका छन्।
“फ्री टु बि” एपमा सुरक्षित भन्दै अङ्कित गरिएका ठाउँहरूमा सर्क्युलर की, रोयल बोटानिकल गार्डेन्स, कूजी स्थित मक्आइभर वुमेन्स बाथ र न्यु साउथ वेल्स विश्वविद्यालयका प्राङ्गण छन्।
कूजी स्थित मक्आइभर वुमेन्स बाथलाई सिड्नी सहर भरिकै सबैभन्दा महिला मैत्री स्थानको संज्ञा दिँदै टिप्पणी गरिएको छ, “सिडनीमा एक महिला हुन सबैभन्दा उत्तम ठाउँ यही नै हो।
मक्आइभर वुमेन्स बाथमा महिला तथा बच्चाहरू बाहेकलाई प्रवेश अनुमति छैन।
मेलबर्नको स्थिति
“फ्री टु बि” एप अनुसार, मेलबर्न सहरको स्वान्स्टन स्ट्रिट तथा एलिजाबेथ स्ट्रिटको दक्षिणी छोडहरु महिलाहरूका निम्ति सबैभन्दा असुरक्षित देखिएको छ।
यसका साथै, फ़्लिण्डर्स स्ट्रिट स्टेसन, फुट्सक्रे स्टेसन, सिड्नी रोड, भिक्टोरिया स्ट्रिट, च्यापल स्ट्रिट र सेन्ट किल्डा स्थित फ़िट्जरोइ स्ट्रिटहरु महिला उत्पीडन हुने मुख्य स्थानहरूको रूपमा देखिएको छ।
रोयल आर्केड, फेडेरेशन स्क्वेर, आर्ट सेन्टर, मेलबर्न सेन्ट्रल र फ़िट्जरोइको एडिनबरा गार्डेन्स लगायतका स्थानहरू भने महिलाहरूलाई सुरक्षित रहेको अनुभूति प्रदान गर्न सफल रहेका छन्।
