क्रुज पानीजहाज - रूबी प्रिन्सेसमा सवार सम्भावित कोरोनाभाइरस सङ्क्रमित मानिसहरूलाई कम जोखिम करार गर्दै गत मार्च १९ तारिखका दिन सिड्नी स्थित सर्कुलर कीई बन्दरगाहमा ओर्लन दिँदा न्यु साउथ हेल्थले "अवर्णनीय" एवम् "अनुचित" निर्णय गरेको विशेष जाँचबुझ आयोगले पाएको हो।
तीन हप्तासम्म विभिन्न सरोकारवालाहरूसँग सोधपुछ गरेको ब्रेट वकर एससी नेतृत्वको सो जाँचबुझ आयोगले शुक्रवार ३३० पृष्ठ लामो रिपोर्ट जारी गर्दै न्यु साउथ वेल्स हेल्थलाई रुबी प्रिन्सेस क्रुज जहाजका विषयमा सबैभन्दा ठुलो दोषी मानेको छ।
उक्त जहाजबाट ओर्लेका मानिसहरूले अस्ट्रेलिया भर तथा विदेशमा समेत भाइरस सारे पछि सयौँका सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुनुका साथै अस्ट्रेलियामा मात्रै २० जना भन्दा बढिले आफ्नो ज्यान गुमाउन पुगेका थिए।

आयोगद्वारा जारी रिपोर्टमा १० मार्चमा नै कम्युनिकेबल डिसिजेस नेटवर्क अफ अस्ट्रेलियाले आफ्नो निर्देशिका परिमार्जन गर्दै क्रुज जहाजमा रहेका र सङ्क्रमण भएका शङ्कास्पद मानिसहरूको जाँच गरिनुपर्ने बताए पनि सो निर्देशनको न्यु साउथ वेल्स हेल्थद्वारा पालना नभएको उल्लेख छ।
आयोगका अनुसार मार्च १८ तारिखमा जोखिम मूल्याङ्कन गर्दासम्म त्यस प्रकारका निर्णय गर्ने अधिकारीहरूले "शङ्कास्पद मामिला"को व्याख्या अद्यावधिक नै गरेका थिएनन्।
"यो गम्भीर र भौतिक त्रुटि थियो," आयोगले आफ्नो प्रतिवेदनमा भनेको छ।

८ मार्चमा न्युजिल्यान्डका लागि हिँडेको रुबी प्रिन्सेस जहाजमा निकै कम मात्रामा औषधी एवं कोरोनाभाइरस जाँच्न प्रयोग हुने स्वाब रहेको र ११ दिन पछि अस्ट्रेलिया फर्कँदा उक्त पानीजहाजमा सवार यात्रुहरूको द्रुत परीक्षण गरिए पनि नतिजा आउनु अगावै उनीहरूलाई आफ्नो गन्तव्य जान दिइएको आयोगले बताएको छ।
कम्तीमा पनि तीन जनामा भाइरस सङ्क्रमण भएको हुनसक्ने भन्ने जानकारी हुँदाहुँदै पनि परीक्षण स्वाबको नतिजामा ढिलासुस्ती गरेको कुरा "अक्षम्य" रहेको भनी प्रतिवेदनमा उल्लेख गरिएको हो।
(एनएसडब्ल्यू स्वास्थ्य) विशेषज्ञ प्यानलले सबै जानकारीहरू उपलब्ध हुँदाहुँदै पनि, जोखिमलाई 'कम जोखिम' को रूपमा आकलन गर्ने निर्णय गर्नु - जसको अर्थ, वास्तवमा, 'केही गर्नुपर्दैन' भन्ने आशयको रहेको छ - यो अवर्णनीय छ किनकि यो अनुचित छ," आफ्नो निर्णय बारे वाकरले भने।
"यो गम्भीर गल्ती थियो।"
रुबी प्रिन्सेस क्रुज जहाजमा सवार कयौँ यात्रुहरूलाई श्वासप्रश्वास सम्बन्धी लक्षणहरू देखा परे पनि, सबै २,७०० जनालाई कम जोखिम आङ्कलन गर्दै न्यु साउथ वेल्स हेल्थले उनीहरूलाई आ-आफ्नो गन्तव्य तर्फ जान छुट दिएको थियो।

न्यु साउथ वेल्स हेल्थले भने ०.९४ प्रतिशत यात्रुहरूले मात्र जहाजको स्वास्थ्य केन्द्रमा फ्लु जस्तो लक्षण देखा परेको भन्दै गएकाले हस्तक्षेप नगरेको बताइएको छ।
न्यु साउथ वेल्स हेल्थलाई हस्तक्षेपकारी भूमिका खेल्न १ प्रतिशत यात्रुहरूले आफूहरूलाई फ्लु जस्तो लक्षण देखा परेको भन्नुपर्ने र कोरोनाभाइरस अति प्रभावित देशहरू - चीन, इटाली, इरान वा साउथ कोरिया भ्रमण गरेको हुनुपर्ने कानूनी व्यवस्था कायम रहेको पनि बताइएको छ।
योसँगै, ब्रेट वाकरले अस्ट्रेलियन बोर्डर फोर्स(एबीएफ)लाई रूबी प्रिन्सेस सम्बन्धी आरोपहरूबाट मुक्त गरेका छन्।
"न एबीएफ न त कुनै एबीएफ अधिकारीले यस दुर्घटनामा कुनै भूमिका खेलेका थिए," उनले आफ्नो रिपोर्टमा लेखेका छन्।
"सरल शब्दमा भन्ने हो भने, सबैको उत्तम प्रयासको बाबजुद केही गम्भीर गल्तीहरू गरिएको थियो।"
प्रिमियर ग्लाडिस बेरेजिक्लियनले भनिन् कि उनले सप्ताहान्तमा रिपोर्टको ठेली अध्ययन गरेर अर्को हप्ताको सुरुमै प्रतिक्रिया दिने छिन्।
यो विशेष जाँचबुझ आयोगका अलावा राज्य प्रहरी तथा कोरोनियल जाँचबुझ पनि छुट्टै रुपका जारी नै छन् जसको रिपोर्ट कम्तीमा अर्को महिना भन्दा अगाडी आउने आसा गरिएको छैन।

