SKIP TO MAIN CONTENT

बाढी सङ्कट: साउथ अस्ट्रेलियामा “प्रमुख आपत्काल” घोषणा

यो, अस्ट्रेलियामा हाल जारी बाढी सङ्कट सम्बन्धी २३ नोभेम्बर, २०२२ को अपडेट हो। साउथ अस्ट्रेलियामा बाढीका कारण जल स्तर बढ्दै गर्दा उता न्यु साउथ वेल्सका बाढी पीडित व्यवसायीहरूलाई भने ५०,००० डलरसम्मको अनुदान दिने घोषणा गरिएको छ।

SA FLOODS
South Australian Premier Peter Malinauskas at Manum in the Riverland region of South Australia, Tuesday, November 22, 2022. Source: AAP / MATT TURNER/AAPIMAGE

3 min read

Published

Updated

By SBS

Source: SBS



Skip to article content

मर्री नदिको जल स्तर बढेपछि साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउकसले हिजो एक प्रमुख आपत्काल घोषणा गरेका छन्।

राज्यको मौसममा आउँदा केही दिन खासै सुधार नहुने देखिए पछि, बाढी झनै बढ्ने अनुमान छ।

रिभरल्यान्ड्स क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्धका साथै त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थान तर्फ जान आदेशहरू जारी हुन सक्ने अपेक्षा छ।

उक्त क्षेत्रका नदिनालाहरूको जल स्तर अर्को सालको दोस्रो भागसम्म पनि उच्च रहन सक्ने अधिकारीहरूको अनुमान छ।

बाढीबाट बच्न सुरक्षाका उपायहरू लागू गर्दा चाहिने खर्चमा राज्य सरकारले अनुदान स्वरूप व्यवसायीहरूलाई ५०,००० डलरसम्मको मद्दत गर्ने बताएको छ।

यसै गरी आफ्नो घरबार छाडेर अन्यत्रै जानुपर्ने अवस्था आइपरेमा, प्रभावित परिवारहरूले १,००० डलरको आर्थिक सहयोग तत्काल पाउन सक्नेछन्।

नयाँ आवासमा बसाई सर्दा सजिलो होस् भनेर थप अर्को १,००० डलर पहिलो दुई हप्ताका लागि दिइने पनि साउथ अस्ट्रेलिया सरकारको भनाई छ।

यो दोस्रो किस्ताले नयाँ ठाउँको पहिलो दुई हप्तासम्मको आवास शुल्कमा सहयोग पुग्ने बताइएको छ।

न्यु साउथ वेल्सका केही स्थानहरूमा बाढीको जल स्तर घट्दै गर्दा अन्य ठाउँहरूमा भने पानी बढ्दै हालसम्मकै उच्च स्तरमा पुग्ने क्रम जारी छ।

वकूल जङ्सन, बाउन्ड्री बेन्ड, इयुस्टनमा जल स्तर सन् १९७५ मा रेकर्ड गरिएको भन्दा उच्च रहने क्रम जारी नै छ।

त्यसै गरी ब्रेवारिन्ना, बर्क, लौथ, टिल्पा, वारेन, मन्डल, मल्गावारिन्ना, गङ्गोल्गन, जेमालङ, हेए, बाल्रनाल्ड र मौलामीएनमा बाढीका कारण जल स्तर उच्च रहने क्रम यथावतै छ।

केही स्थानीयवासीका अनुसार, घर छाडेर जान सरकारी आदेश जारी गरिएता पनि, मौलामीएनमा बस्ने ९० प्रतिशतसम्म मानिसहरूले त्यसो गर्न मानिरहेका छैनन्।

न्यु साउथ वेल्सको राज्य आपत्कालीन सेवा (एनएसडब्लु एसइएस)भन्छ कि अब घर छाडेर जान निकै ढिलो भइसकेको छ र उक्त स्थानमै रहेका मानिसहरू वरपरका अन्य स्थानबाट केही हप्तासम्म अलग्गै रहने सम्भावना छ।

उता, फोर्ब्समा भने बाढीको जल स्तर घटेता पनि सो स्थानका बासिन्दाहरूलाई उनीहरू कहिलेसम्म आफ्नो घर फर्किन सक्छन् भनेर अधिकारीहरूले जानकारी दिएका छैनन्।

आज बिहान राज्यको इयुगौरामा प्रधानमन्त्री एन्थोनी एल्बनिजी र न्यु साउथ वेल्स प्रिमियर डोमिनिक पेरोटेले एक संयुक्त घोषणा गर्दै व्यवसायीहरूलाई पुनर्निर्माणका लागि भन्दै ५०,००० डलरसम्मको अनुदान दिने बताएका छन्।

राज्यको तटीय क्षेत्रमा पर्ने नगरहरूका लागि खतरनाक छालहरू सम्बन्धी एक चेतावनी जारी गर्दै हन्टर, सिड्नी र इलावाराका तटीय क्षेत्रहरूमा आज र भोलि रक फिशिङ, डुङ्गा चलाउन र पौडी नखेल्न अनुरोध गरिएको छ।

यसै गरी, भिक्टोरियाको लाट्रोब रिभर यालोर्नदेखि ट्राराल्गन क्रीकसम्मका बासिन्दाहरूलाई बाढीका लागि तयार हुन भनिएको छ।

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now