मधेशी मोर्चासहितको सङ्घीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ दिनको समयसीमा तोकेर संविधान संशोधन विधेयक सदनमा दर्ता गराउन ज्ञापन पत्र आज बुझाएको नेपालका समाचारपत्रहरुले जनाएका छन्।
हिमाल खबरका अनुसार, बुझाईएको स्मरणपत्रमा भनिएको छ – “मधेशी, आदिवासी जनजातिलगायतका समुदायका मुद्दालाई सम्बोधन हुने गरी सङ्घीयता, राष्ट्रिय पहिचान, जनसङ्ख्याका आधारमा राज्यका अङ्गमा प्रतिनिधित्व, समानुपातिक, समावेशी, सुशासन, निर्वाचन प्रणाली, सङ्घीय न्याय प्रणाली, जातीय, क्षेत्रीय र लैङ्गिक विभेद र असमानताको अन्त्यजस्ता महत्वपूर्ण सवाललाई सम्बोधन गर्न आवश्यक छ ।”
तोकिएको समयसीमाभित्र संविधान संशोधन प्रस्ताव दर्ता नभएको खण्डमा पुनः आन्दोलनमा जान बाध्य हुने पनि गठबन्धनले जनाएको छ।
स्मरणपत्र हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनका संयोजक यादवले प्रधानमन्त्री दाहालले आफूहरुले उठाएका विषयवस्तुलाई सकारात्मक र चुनौतीका रुपमा लिएर समस्या समाधान हुने गरी काम गर्ने प्रतिबद्धता जनाएको बताए ।
