संघीय सरकारका दुई बरिष्ठ मन्त्रीहरुको आचरण माथि प्रश्न उठ्दा अस्ट्रेलियालीहरुले मन्त्रीद्वयको "मानवीय कमजोरी" लाई बुझ्ने आफ्नो अपेक्षा रहेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
सन् २०१७ मा महान्यायाधिवक्ताको पदमा नियुक्त हुनु अगाडी क्रिस्चियन पोर्टरलाई तत्कालिन प्रधानमन्त्री म्याल्कल्म टर्नबुलले क्यानबेरा स्थित एक बारमा भएको कथित घटनाबारे प्रश्न गरिएको दाबी एबीसीको फोर कर्नर्स रिपोर्टमा गरिएको थियो।
उक्त घटनामा पोर्टरले लिबरल पार्टी कर्मचारी रहेकी एक महिलासंग मदिरापान र केहि कथित अनुचित कार्य गरेको पनि आरोप रहेको छ।

सोमबार प्रकाशित भएको एबीसी रिपोर्टमा कार्यबाहक अध्यागमन मन्त्री एलन टज र उनिसंग काम गर्ने रेचेल मिलर नामक एक महिला बीच चक्कर चलेको पनि बताइएको थियो।
मन्त्री टज र आफु बीचको सम्बन्ध स्वेच्छिक रहेता पनि, उक्त समयमा आफुहरु दुबै वैवाहित सम्बन्धमा रहेको पनि मिलरले एबीसीलाई बताएकी थिइन्।
उक्त रिपोर्टबारे प्रतिक्रिया दिंदै प्रधानमन्त्री स्कट मोरिसनले चाहिं आफ्नो मन्त्रीमण्डलका सदस्य रहेका पोर्टर र टज द्वारा मन्त्रीहरुले पालना गर्नुपर्ने मापदण्डको उल्लङ्घन नगरेको बताएका छन्।
तर एबीसी रिपोर्ट द्वारा उठाइएका विषयहरुलाई आफुले "गम्भीरतापूर्वक" लिने पनि उनले बताए।
"मेरो बिचारमा अस्ट्रेलियालीहरुले मानविय कमजोरीलाई बुझ्दछन्, र मलाई लाग्छ यहाँ काम गर्ने मानिसहरु पनि अरुहरु जस्तै हुन् र अरुहरु जस्तै उनीहरुको पनि कमजोरी रहेको अस्ट्रेलियालीहरुले बुझेका छन्," उनले भने।
"यस्ता कुराहरु अस्ट्रेलियामा हुन्छन्। मानिसहरुका जीवनमा यस्ता कुराहरु हुन्छन। र मानिसहरुले त्यसप्रति खेद प्रकट गर्दछन्। यसले मानिसहरुको जीवनमा ठुलो असर पार्नुका साथै अरु माथि पनि यस्तो अवस्थाले ठुलो असर पुर्याउदछ।"

सोमबार एक विज्ञप्ति मार्फत महान्यायाधिवक्ता क्रिस्चियन पोर्टरले क्यानबेरा स्थित बारमा भएको कथित घटनाको पूर्ण रूपमा खण्डन गर्दै, आफुबारे एबीसी रिपोर्टमा गरिएका अन्य दाबीहरुमा पनि सत्यता नरहेको बताएका छन्।
साथै रिपोर्टले आफ्नो मानहानि गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने पनि उनले बताए।
त्यस्तै भनाइ मन्त्री पोर्टरले मेलबर्नको 6PR रेडियोलाई पनि दोहर्याए। उक्त महिलासंग क्यानबेरा बारमा भएको आफ्नो अन्तरक्रियामा केहि मदिरा सेवन बाहेक अरु केहि नभएको पनि उनले जोड दिए।
सन् २०१७ को डिसेम्बर महिनामा पोर्टरलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नु भन्दा दुई हप्ता अगाडी तत्कालिन प्रधानमन्त्री म्याल्कल्म टर्नबुलले सार्वजनिक रूपमा मदिरापान गरेको र महिलाहरु पति उनको व्यवहारबारे प्रश्न गरेका थिए।
फोर कर्नर्ससंग कुरा गर्दै पूर्व प्रधानमन्त्रीले भने, "मैले पोर्टरसंग मेरो कार्यालयमा कुरा गरेको थिए र आफुसंग पोर्टरले सार्वजनिक स्थानमा युवतीहरुसंग धेरै मदिरापान गरेको रिपोर्टरहेको रहेको भनि उनलाई बताएँ।"
"मैले भने, यस्ता आचारण अस्वीकार्य रहेको छ, जसले उनि माथि कसैले आफ्नो नियन्त्रण बढाउन सक्नेछ।"
आफ्नो विज्ञप्तीमा क्रिस्चियन पोर्टरले चाहिं म्याल्कल्म टर्नबुलसंगको आफ्नो कुराकानीमा आफुबारे आएका रिपोर्टमा कुनै सत्यता नरहेको भनि बताएको जोड दिएका छन्।
"त्यसको दुई हप्तामा म्याल्कल्मले मलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरे।"

फोर कर्नर्स कार्यक्रममा कार्यबाहक अध्यागमन मन्त्री एलन टज र उनका पूर्व कर्मचारी रेचेल मिलर बीच बिबाह बाहिरको सम्बन्धबारे पनि विवरण सार्वजनिक गरिएको थियो।
मिलर आफैले एबीसीलाई मन्त्री टजसंगको सम्बन्ध स्वेच्छिक रहेता पनि, सो समयमा दुवै वैवाहित सम्बन्धमा रहेको बताएकी थिइन्।
तर संसद भवनमा महिलाहरु विरुद्ध हुने "नराम्रो बर्ताव" बारे आफुले बोल्न चाहेको उनले बताइन।
मन्त्री टजले पनि एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो व्यवहार प्रति दुख व्यक्त गरेका छन्।
"मेरो कदम र मेरो परिवार माथि पर्न गएको चोट प्रति धेरैनै खेद प्रकट गर्न चाहन्छु। सुश्री मिलरले अनुभव गर्नुपरेको दुख प्रति पनि म खेद प्रकट गर्दछु," उनले भने।
