प्रतिनिधि सभामा लिबरल न्याशनल गठबन्धनले बहुमतीय सरकार बनाउने निश्चित हुँदा आइतबार स्कट मोरिशनले आफ्नो २२ सदस्य मन्त्री मण्डल सार्वजनिक गरेका हुन्।
आगामी बुधवार मे २९ गभर्नर जेनेरल पिटर कोसग्रोभ समक्ष प्रधान मन्त्री स्कट मोरिशन लगायतका उनका मन्त्रीहरूले पदको शपथ लिने छन्।
अस्ट्रेलियालीहरूले आफ्नो सरकारलाई काममा फर्किन सत्तामा फर्काएको भन्दै मोरिशनले प्रमुख मन्त्रालयहरूमा पुरानै अनुहारहरूलाई फर्काएका छन्।
स्कट मोरिशनले सरकारी सेवा मन्त्रालयको पनि जिम्मा लिएका छन् भने महिला मन्त्रालयको जिम्मा विदेश मन्त्री पदमा फर्किएकी मारिस पेइनले पाएकी छन्।
जोस फ्राईडेनबर्ग ट्रेजरर पदमै रहने छन् भने, गृह मामिला मन्त्री पिटर डटन र अध्यागमन मन्त्री पदमा डेभिड कोल्म्यानलाई कायम राखिएको छ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका दक्षिण सिड्नी सांसद कोल्म्यानले नागरिकता, आप्रवासी सेवा र बहुसांस्कृतिक मामिलाको आफ्नो पुरानै कार्यभारलाई पनि सम्हाल्ने छन्।
साथै नयाँ आप्रवासीहरूलाई अस्ट्रेलियाको ग्रामीण स्थान तर्फ पठाउन प्रोत्साहित गर्ने नीति निर्माण तयार गर्न सक्रिय एलन टजले जनसङ्ख्या, सहर र संरचना मन्त्रालय हेर्ने छन्।
स्वास्थ्य मन्त्री ग्रेग हन्ट, अर्थ मन्त्री मथियास कोर्म्यान र शिक्षा मन्त्री ड्यान टिहान नै रहने छन्।
चुनावी प्रचारका क्रममा आफ्नो सरकारले गरेका वाचाहरूलाई पूरा गर्ने प्रतिबद्धता सहित आफू र आफ्ना मन्त्रीहरूले काम गर्ने प्रधान मन्त्री मोरिशनले बताए।
“आगामी ५ वर्ष भित्र १२ लाख थप रोजगार सिर्जना गर्ने, परिवार र साना व्यावसायीहरुका लागि करमा राहत प्रदान गर्ने र स्कुल, अस्पताल र सडकहरूका लागि लगानी बढाउन हामी प्रतिबद्ध रहेका छौँ”, उनले भने।

मोरिशन सरकारमा पहिलो पटक एक महिलाले कृषि मन्त्रालयको जिम्मा पाएकी छन् भने एक आदिवासी पृष्ठभूमिका व्यक्तिले आदिवासी मामिला हेर्ने भएका छन्।
जस अन्तर्गत सत्ता साझेदार न्याशनल पार्टी कि ब्रिजेट मकेन्जीले कृषि र अस्ट्रेलियाको इतिहासमै पहिलो पटक आदिवासी मामिला सम्बन्धी मन्त्रालय हेर्ने छन् मन्त्री केन वायटले।
क्रिस्चियन पोर्टरले महान्याधिवक्ताको कार्यालयका साथै औद्योगिक सम्बन्धबारे पनि जिम्मा पाएका छन्।
चुनाव भन्दा अगाडी वातावरण मन्त्री रहेकी मेलिसा प्राइसलाई रक्षा उद्योग मन्त्रालयको जिम्मा दिइएको छ भने सुसन ले ले उक्त मन्त्रालय सम्हाल्ने छन्।

पूर्व सञ्चार मन्त्री मिच फाईफिल्डलाई राष्ट्र सङ्घका लागि अस्ट्रेलियाली राजदूत नियुक्त गर्दै, उनको सट्टा संसद् पौल फ्लेचारलाई सूचना तथा सञ्चार मन्त्री बनाउने निर्णय स्कट मोरिशनले गरेका छन्।
सर्भिस न्यु साउथ वेल्सको उदाहरण दिँदै प्रधान मन्त्रीले सङ्घीय सरकार द्वारा प्रदान गरिने सेवाहरू एकै स्थानमा उपलब्ध गराउन सर्भिसेज अस्ट्रेलिया नामक एक नयाँ निकाय स्थापना गरिने पनि घोषणा गरे।
