कोरोना सङ्कटका सुरुवाती दिनहरूमा ६ महिनासम्म कडा प्रतिबन्ध लागू हुने बताएका प्रधानमन्त्री मरिसनले बुधवार बिहान क्यानबेरामा पत्रकारहरूसँग बोल्दै, अस्ट्रेलियाले भाइरस रोकथाम तथा नियन्त्रणमा पाएको उल्लेखनीय उपलब्धिका कारण पूर्व घोषित समयसिमा अगावै त्यसमा फेरबदल गरिन लागेको सङ्केत दिएका हुन्।
उनका अनुसार स्थिति सुधार हुँदै जाँदा देशभरका प्रिमियरहरू तथा मुख्यमन्त्रीहरू सदस्य भएको राष्ट्रिय मन्त्रिपरिषद्को आगामी हप्ता बस्ने बैठकलाई थप विकल्पहरू उपलब्ध भएको छ।
तर, प्रधानमन्त्रीले मानिसहरूलाई धेरै उत्साहित नहुन पनि भनेका छन्।
“अन्तर्राष्ट्रिय यात्रा चाँडै सुरु हुने सम्भावना म देख्दिन। त्यसका जोखिमहरू स्पष्ट छन्। यसको लागि एक मात्र अपवाद, मैले पहिले नै भने जस्तै सम्भवतः न्युजिल्याण्ड हुनेछ, र हामीले यसबारे केही राम्रो छलफल गरेका छौँ। तर त्यो भन्दा बाहिर, यो सम्भव छैन,” उनले भने।
उनका अनुसार, कुनै पूजा स्थलमा निजी रूपमा पूजापाठ गर्न मिल्ने तर्फ आफू सकारात्मक रहेता पनि खेलकुदका सन्दर्भमा भने रङ्गशालामा गएर मनोरञ्जन लिन पाइनेछैन।
मानसिक स्वास्थ्य बारे राष्ट्रिय योजना आउने

मानसिक स्वास्थ्य आयोगकी प्रमुख क्रिस्टिन मोर्गनका अनुसार लकडाउन अवधिभर मानसिक स्वास्थ्य सेवाहरू कम प्रयोग भएका छन्।
कोरोनाभाइरस महामारीका बखत मानिसहरूले आफूलाई चाहिने आवश्यक मद्दत तथा सुविधाहरू लिन कम गरेको चिन्ता सरकारले व्यक्त गरिरहँदा मोर्गनको उक्त भनाई आएको हो।
“हाम्रो बिचारमा यसो हुनुको कारणमा जो मानिसहरू सामान्यतया मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरू लिने गर्थे उनीहरू घरबाटै निस्किरहेका छैनन्,” उनले क्यानबेरामा पत्रकारहरूसँग बोल्दै भनिन्।
आगामी हप्ता सार्वजनिक गरिने राष्ट्रिय मानसिक स्वास्थ्य योजनाले सङ्घीय तथा राज्य एवम् प्रादेशिक सेवा प्रदायकहरू बिच राम्रो समन्वय तर्फ ध्यान दिने पनि मोर्गनको भनाइ छ।
झन्डै ३० लाखले कोभिडसेफ एप गरे डाउनलोड

झन्डै ३० लाख अस्ट्रेलियालीहरूले आफ्नो सरकारद्वारा निर्मित कोभिडसेफ एप डाउनलोड गरेकोमा दङ्ग परेका प्रधानमन्त्री स्कट मरिसनले थप मानिसहरूलाई उक्त सफ्टवेयर आफ्नो मोबाइलमा हाल्न आह्वान गरेका छन्।
कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको पहिचान र उनीहरूलाई सुसूचित गर्न बनाइएको उक्त कन्ट्याक्ट ट्रेसिंगको तुलना सूर्यको विकिरणबाट बच्ने सन् स्क्रिन लोसनसँग तुलना गर्दै स्कट मरिसनले कोभिडसेफ एप सबैले प्रयोग गर्नुपर्ने बताएका हुन्।
“तपाईँ बाहिर घाममा निस्कँदा सन् स्क्रिन लगाउने जस्तै हो यो,” उनले हालसम्म करिब ३० लाख अस्ट्रेलियालीले उक्त सरकारी एप आफ्नो फोनमा हालिसकेको बताउँदै भने।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

