अघिल्लो वर्षभन्दा डुबेर मृत्यु हुनेको सङ्ख्या अस्ट्रेलियामा १० प्रतिशतले बढ्दै गर्दा, अधिकारीहरूले उक्त चेतावनी जारी गरेका हुन्।
अस्ट्रेलियाका विश्व प्रसिद्ध सामुद्रिक तट वा बीचहरू जति नै सुन्दर छन् त्यति नै त्रासदी पूर्ण र दुर्घटनाहरू भई नै रहने स्थान पनि।
अस्ट्रेलिया भर अघिल्लो वर्ष मात्र, २७६ जना मानिसहरूले डुबेर आफ्नो ज्यान गुमाए। सो भन्दा अगाडीको वर्षलाई आधार बनाएर हेर्दा यो १० प्रतिशतको वृद्धि हो।
जोखिममा आप्रवासीहरू

डुबेर मृत्यु हुने मध्ये थुप्रै जना भर्खरै अस्ट्रेलिया आएका आप्रवासी वा अन्य नव आगन्तुक रहने गरेका छन्।
दी रोयल लाइफ सेभिङ्ग सोसाइटी अस्ट्रेलियाले गरेको एक विश्लेषण अनुसार १० वर्षमा डुबेर मृत्यु हुनेमा २७ प्रतिशत मानिसहरूको जन्म अस्ट्रेलिया भन्दा बाहिर भएको थियो।
यस्तो हुनुको कारण, ती व्यक्तिहरू गतिलो पौडीबाज नहुनु र खुला समुद्रमा पौडिन चाहिने आवश्यक सीपको अभाव रहेको बताइएको छ।
रोयल लाइफ सेभिङ्ग सोसाइटीकी स्टेसी पीजनले एसबीएसलाई बताए अनुसार गएको १० वर्षमा डुबेर मृत्यु हुने मानिसहरूको सङ्ख्या घट्दै गए पनि केही निश्चित समूहका कारण सोचे अनुरूपले घट्न भने सकेको छैन।
“अब यही वर्षको मात्र कुरा गर्नुहुन्छ भने पनि बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू डुब्ने सङ्ख्या वृद्धि हुँदै गएको तथ्याङ्कहरूले देखाएका छन्।”
“धेरै मानिसहरू यस्ता पृष्ठभूमिबाट आएका हुन्छन् जहाँ पानी वरिपरि बसेर सामाजिक कार्यकलापहरु र रमाइलो गर्ने परिपाटी नै छैन। अब, धेरै ठाउँमा त पानी घरेलु क्रियाकलापमा मात्रै प्रयोग हुने गरेको छ।”
“त्यसैले जब उनीहरू पानी भएको ठाउँमा पुग्छन्, तब उनीहरूसँग पानीबाट सुरक्षा लिने बारे ज्ञान नै हुँदैन,” उनी स्पष्ट पार्दै भन्छिन्।
सोसाइटीले केही अघि जारी गरेको एक रिपोर्ट अनुसार यसरी डुब्ने जोखिममा सबैभन्दा बढी नेपाल लगायत ताइवान, साउथ कोरिया, आयरल्यान्ड र सुडानबाट आउने मानिसहरू रहेका छन्।

उता, नेपालीज अस्ट्रेलियन एसोसिएसनका ऋषि आचार्य भने भविष्यमा यस्ता दुर्घटनाहरू दोहरिन नदिन बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू प्रति लक्षित कार्यक्रमहरू अझै प्रभावकारी रूपमा ल्याउनुपर्ने बताउँछन्।
“हाल धेरै जानकारीहरू अङ्ग्रेजीमा उपलब्ध छन्, अनि ती सबैका लागि उपयुक्त नहुन पनि सक्छन् वा सबैले बुझ्छन् भन्ने पनि छैन।”
“यदि ती जानकारीहरू बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरूलाई लक्षित गर्दै तयार पारियो भने राम्रो हुनेछ,” उनले एसबीएसलाई भने।

अस्ट्रेलियन इन्डियन स्पोर्ट्स, एडुकेसनल एण्ड कल्चरल सोसाइटीका संस्थापक गुर्नाम सिंह अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलिया बारे पुरापुर जानकारी दिन आफू प्रयत्नशील रहेको बताउँछन्।
उनको धारणा पीजनसँग मिल्दोजुल्दो छ - उनी भन्छन्, नयाँ आउनेहरू अज्ञानता कै कारण आफ्नो जीवन जोखिममा पारिरहेका छन्।
“म पौडीको बारेमा मात्र भनिरहेको छैन, कोही सेल्फी वा अन्य तस्बिर खिच्न भनेरै अलि टाढासम्म पुग्छन्। गएको वर्ष मात्रैको कुरा हो, एक जना सेल्फी खिच्न जाँदा गहिरो पानीमा डुबेर तत्कालै आफ्नो ज्यान गुमाए।”
यसका साथै, डुबेर मृत्यु हुने मानिसहरूको सङ्ख्यामा मादक पदार्थले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताइएको छ।
माछा मार्नु पनि खतरा

ढुङ्गामा बसेर माछा मार्नु पनि धेरै आप्रवासी समुदायहरूमा लोकप्रिय छ। तर, “रक फिशिङ्ग” भनेर परिचित उक्त क्रियाकलापलाई अस्ट्रेलियामा सबैभन्दा खतरनाक खेलको उपाधि प्राप्त छ।
ज्वारभाटा बढेर समुद्र छेउका चट्टानहरू चिप्लो भएका बखत ठुला-ठुला छालमा परेर हरेक वर्ष धेरै मानिसहरूको ज्यान जाने गरेको पनि बताइएको छ।
“यसरी माछा मार्न जाँदा, लाइफ ज्याकेट लगाउनु अति नै जरुरी हुन्छ, चाहे ढुङ्गामा बस्दा होस् वा डुङ्गामा। कहिले के हुन्छ, यसै भन्न सकिन्न, पानीमा जान्न भन्दा-भन्दै पनि चिप्लेर वा डुङ्गा पल्टेर पानीमा पुग्न सकिन्छ। त्यस्तो बेला लाइफ ज्याकेटले तपाईँको ज्यान बचाउन सक्छ,” पीजन भन्छिन्।
माछा मार्न जान मन छ भने, ठुला छालहरू नभएका ठाउँहरू रोज्नु र एक्ला-एक्लै नगएर कोही साथीसँग मिलेर उपयुक्त हुन्छ। यस बारे थप जानकारी यहाँ उपलब्ध छ: http://www.bom.gov.au/marine/about/check-rock-fishing.shtml
पानी वरिपरि कसरी सुरक्षित हुने?

न्यु साउथ वेल्स स्थित नदर्न बीचेस काउन्सिलका सामुद्रिक तटहरू हेर्ने एक अधिकारी क्लिन्टन रोजका अनुसार पानी वरिपरि सुरक्षित हुन मानिसहरूले केही सजिलो उपायहरू अपनाउन सक्छन्।
“रातो र पहेँला रङ्गका झन्डाहरू गाडिएका स्थान भित्र मात्र पौडिन जानु ठिक हुन्छ। झन्डा देखिएन भने त नजाँदा निको हुन्छ।”
“यी आधारभूत कुराहरूमा ध्यान दिने अनि पौडिन सिक्ने। रमाइलो गर्नुहोस्, बीचमा आउनुहोस् तर पौडन चाहिँ सिकेको हुनुपर्छ है,” उनी भन्छन्।
यदि मनमा कुनै दुबिधा भए बिचमा रहने “लाइफ गार्ड” भनिने जीवन रक्षकहरूलाई सोध्न रोज सुझाउँछन्। “उनीहरूलाई कहाँ सुरक्षित छ र कहाँ जानु खतरा पूर्ण छ, सोध्नुहोस्।”
आपत् परे के गर्ने?

डुब्ने प्रक्रिया एकदम नै द्रुत रूपमा हुन्छ। वयस्कहरूले लगभग एक मिनेट भित्रमा नै आफ्नो होस गुमाउन सक्छन् त्यसैले एकदमै शान्त रहेर मद्दतका खोज्न थाल्नु उपयुक्त हुने बताइएको छ।
“पहिलो कुरो त, अत्यास हुने क्रियाकलाप नगर्नुहोस् - यदि डराएर यताउति गर्न थाल्नुभयो भने आफ्नो शक्ति गुमाउन थाल्नुहुनेछ र अक्सिजनको कमीले मस्तिष्कमा असर गर्न थाल्छ अनि सोच्ने शक्ति पनि क्षीण हुँदै जान्छ।
त्यसैले उत्तानो परेर पानी माथि तैरिन कोसिस गर्नु सबैभन्दा उत्तम हो। त्यसपछि हावामा हात हल्लाउँदै मद्दत माग्नुहोस्। विपतमा पर्नुभयो भने लाज नमान्नुहोस्, मद्दत माग्न सङ्कोच नगर्नुहोस्,” रोजले भने।

सहायता तथा सेवाहरू
दी बीचसेफ नामक एप निःशुल्क रूपमा ७२ भाषामा उपलब्ध छन्। यसले गस्तीको स्थिति, सुविधाहरू, खतरा, मौसम र ज्वारभाटा सम्बन्धी जानकारीहरू प्रदान गर्छ।
यसको साथै, दी बीचसेफ वेबसाइटमा अस्ट्रेलियाली बीचहरू जाँदा ध्यान पुर्याउन पर्ने प्रमुख कुराहरू बारे र रिप करेन्ट कसरी पहिचान गर्ने र त्यसमा परे कसरी बच्ने भन्ने बारे लगायतका जानकारीहरू उपलब्ध छन्।
