SKIP TO MAIN CONTENT

कामदारको ज्यान जोखिममा पारे रोजगारदातालाई डेढ करोड डलर भन्दा बढी जरिवाना हुने

आफ्ना कामदारको ज्यान जोखिममा पार्ने रोजगारदाताहरुले करिब १ करोड साठी लाख डलरसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुन भिक्टोरियाको सरकारले प्रस्ताव गरेको छ।

Work Safe
The site of a three-storey scaffold that collapsed onto a footpath in central Melbourne. (File photo) Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

भिक्टोरियाको राज्य सरकारद्वारा प्रस्तावित नयाँ कानुन अनुसार रोजगारदाताको रहोबरमा रहेका बखत उनीहरूले काममा लगाएको व्यक्तिको ज्यान गएमा त्यस्ता रोजगारदाताहरुले करिब १ करोड साठी लाख डलरसम्म जरिवाना तिर्नुपर्ने छ।

यसका अतिरिक्त, कसैको लापरवाहका कारण कामदारको मृत्यु हुन गएमा त्यसका लागि जिम्मेवार ठहर भएका व्यक्तिले २० वर्षसम्मको जेल सजाय भोग्नु पर्नेछ।

यसका लागि, कार्यस्थलमा सुरक्षा सम्बन्धी मामिला नियमन गर्ने संस्था वर्कसेफले थप ४० निरीक्षकहरू भर्ना गर्ने बताएको छ।

राज्यकी कार्यस्थल सुरक्षा मन्त्री जिल हेन्नेसीले बुधवार बिहान “मोर इन्स्पेक्टर्स, मोर इन्स्पेकसन्स” नामक एक अभियानको घोषणा गर्दै व्यवसाय सञ्चालन गर्ने सबैलाई नयाँ बन्ने कानुन निकै कडा हुने बारे सचेत गराएकी छिन्।

“कार्यस्थलमा एक मात्र मृत्यु भए पनि त्यो धेरै हो।”

“गलत कार्य गर्ने रोजगारदाताहरुलाई त्यत्तिकै छाडिने छैन, पहिले भन्दा धेरै सङ्ख्यामा वर्कसेफका अधिकारीहरू कार्यस्थल निरीक्षण गरिरहेका छन्,” उनले भनिन्।

हत्या गर्ने पूर्व योजना बिना कसैको ज्यान गएमा, अब उक्त कार्य आपराधिक मामिलाको रूपमा दर्ता हुने गरी कडा कानुन बन्ने प्रक्रिया भिक्टोरिया सरकारले सुरु गरिसकेको पनि बताइएको छ।

मन्त्री हेन्नेसीले रोजगारदाताहरु आफ्नो जिम्मेवारीलाई लिएर अझ बढी गम्भीर हुनुपर्नेमा जोड दिइन।

“यो अभियान आफ्नो काम राम्ररी नगर्ने रोजगारदाताहरुलाई सचेत गराउन हो, गलत काम गर्नेहरू अवश्य पनि पक्राउ पर्नेछन् र उनीहरू माथि कानुनी कारबाही चलाइनेछ।”

यो बर्स सुरु भएदेखि भिक्टोरियाका कार्यस्थलहरूमा १५ जनाको ज्यान गइसकेको जानकारी दिँदै वर्कसेफकी प्रमुख कार्यकारी अधिकृत क्लेर एमिजले भनिन्, “कामदारहरूको सुरक्षालाई लिएर रोजगारदाताहरु अझ बढी जिम्मेवार हुन जरुरी छ।”

“आफ्ना कामदारहरूको स्वास्थ्य र सुरक्षा बारे जिम्मेवारी बोध गर्न हामी रोजगारदाताहरुलाई सम्झाउँछौँ।”

“यदि, त्यसो भएन भने आफ्ना लापरबाहीका कारण पाइने दुख र कानुनी परिणामहरू भोग्न उनीहरू तयार हुनुपर्नेछ,” उनले बताइन।

अघिल्लो आर्थिक वर्षमा मात्र वर्कसेफले ४८,६५२ स्वास्थ्य तथा सुरक्षा निरीक्षणहरू गरेकोमा नियमहरूको उचित पालन नभएको भन्दै १४,५५० वटा पुर्जी काटेको थियो।

ती मध्ये १५१ मामिलाहरूले “अकुपेशनल हेल्थ एन्ड सेफ्टी एक्ट २००४” अन्तर्गतका विविध कानूनहरुको उल्लङ्घन गरेको पाइएपछि अदालतले दोषी रोजगारदाताहरूलाई करिब ७ करोड डलर जरिवाना तिराएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now