६ लाट्टे आर्ट उपाधि विजेता धन तामाङ र उनको रङ्गीबिरङ्गी कफी

कफी बनाउने क्षेत्रमा र त्यसमा पनि लाट्टे आर्टमा धन तामाङले आफ्नो छुट्टै स्थान बनाएका छन्। एक पुस्तकका लेखक, प्रशिक्षक, व्यवसायी साथै छ पटक लगातार युके लाट्टे आर्टको उपाधि विजेता तामाङ २०१६ को विश्व लाट्टे आर्ट च्याम्पियनसिपका फाइनलिस्ट समेत रहेका छन्।

Dhan Tamang: 6 times UK Latte Art champion and an author spoke to SBS Nepali.

Dhan Tamang: 6 times UK Latte Art champion and an author spoke to SBS Nepali. Source: facebook/Dhana Tamang

२०१३ देखि लगातार बेलायतको लाट्टे आर्ट प्रतियोगिताका विजयी बन्दै आएका धन तामाङ आफ्नो श्रीमतीका साथ २०१० मा बेलायत गएका थिए।

पुर्खौली घर काभ्रे भएका तामाङ विद्यार्थीका रूपमा बेलायत प्रवेश गरेका थिए।

सामान्य रूपमा मात्र हेरिने कफी बनाउने पेसाका माध्यमबाट आफू त चर्चित बने नै साथमा उनले कफी बनाउने काममा बेजोड कला पनि मिसाइ दिए।

सतहमा दूध उमालेर त्यसको फिँजबाट विभिन्न चित्रहरू बनाउने र त्यस्ता चित्रहरूलाई रङ्गहरूको माध्यमबाट अझ आकर्षक रूप दिन पोख्त छन् तामाङ।

२०१३ को युके बारिस्टा प्रतियोगितामा हार भोगेका तामाङले लाट्टे आर्ट प्रतियोगितामा सहभागिता जनाए। र त्यसपछि उनले फर्केर हेर्नु परेन।

धन तामाङसँगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

कफी बनाउने यात्रा:

२००६ देखि नै कफी बनाउन सुरु गरेका तामाङ सो वर्ष रोजगारीका सिलसिलामा कुवेत गएका थिए।

कुवेतमा सिकेको कफी बनाउने कलालाई उनले २००८ मा नेपाल फर्किए पछि कफी बनाउने र सो सम्बन्धी प्रशिक्षण दिनका लागि उपयोग गरे।

नौ वर्ष अगाडी बेलायत आउँदा उनले क्याफेमा नै काम गर्ने मानसिकता बनाइसकेका थिए।

अन्य क्षेत्र जाने सोच पनि नबनाएको र कफी बनाउनका लागी चाहिने सामान्य कला भएको खण्डमा यस सम्बन्धी नै काम पाउन खासै समस्या नहुने भएकाले तामाङले पहिलो कामका रूपमा नै बारिस्टाको काम पाएका थिए।

Dhana Tamang 6 times UK Latte Art champion
Source: facebook/Dhana Tamang

उनको अहिले वेलायत भरि १२ वटा कफी पसलहरू सञ्चालनमा रहेका छन् जसले गर्दा उनी दैनिक अधिकतम समय कफी बनाउनमा नै बिताउने गरेका छन्।

दान तामाङ भन्छन् बारिस्टाको रूपमा कार्यरत हुँदा पनि भिन्न मान्छेको भिन्न कलामा विशेषता हुने गर्दछ।

कसैलाई कफीको धुलोमा तातो पानी राख्ने (ब्रूइङ्ग) सिपमा त कतिलाई कफीको स्वाद कस्तो बनाउने भनेर तय गर्ने कफीका दाना भुट्ने (रोष्टिंग)मा त्यस्तै कतिपय कफीको स्वाद चाख्ने अर्थात् कपिङ्गमा विशेष रुचि राख्ने गर्दछन्।

उनलाई अन्य कफी बनाउने अन्तर्गतका सम्पूर्ण विषयमा जानकारी भए पनि बनिसकेको कफीमा फिँजको माध्यमबाट विभिन्न चित्र बनाउन अर्थात् लाट्टे आर्टमा बढी रुचि थियो।

लाट्टे आर्ट :

मिठो र आकर्षक कफी बन्नु बिचमा विभिन्न कलाहरू हुने गर्दछन्। जसमध्ये लाट्टे आर्ट पनि एक हो।

कफीलाई आकर्षक बनाउन प्रयोग गरिने कलात्मक प्रस्तुति नै लाट्टे आर्ट हो। धन तामाङ यसलाई 'कफी पिउनु पूर्वको 'आहा' भन्ने किसिमको प्रस्तुति' का रूपमा हेर्छन्।

उनी भन्छन्, "तपाईँले लाट्टे खानुभयो भने सर्वप्रथम मोबाइल लिनुहुन्छ, फोटो लिनुहुन्छ त्यसपछि सामाजिक सञ्जाल ...(फोटो राख्नुहुन्छ)अनि त्यसपछि पो खानुहुन्छ हैन ?"

लाट्टे आर्ट अभ्यासले मात्र सम्भव छ भन्नेमा तामाङ विश्वास गर्दैनन्। त्यसका लागी सबैभन्दा प्रमुख भनेको दूधलाई उमाल्ने तरिका र कफीको झोल (एक्प्रेसो) गुणस्तरको हुनु पर्ने बताउँछन्।

यो सबैको सही सन्तुलनले नै मिठो र आकर्षक लाट्टे बन्न सक्छ।

रङ्गी बिरंगी कफी:

कफीमा हाँस, पातहरू तथा मुटुको आकार लगायतका बनाएको सामान्य तया देख्ने गरिन्छ।

तर तामाङले कफीको फोमयुक्त माथिल्लो तहमा खानामा हालिने रङ्गको प्रयोग गरेर रङ्गी बिरंगी कफी बनाउने तर्फ आफ्नो ध्यान केन्द्रित गरे।

केही वर्ष अघि को लाट्टे आर्ट प्रतिस्पर्धामा सहभागी हुने क्रममा केही रङ्ग राख्नु पर्ने थियो।

र यही क्रममा उनले कफीमा रंगहालेर चित्रहरू बनाएको भिडियो चर्चित भए पछि उनलाई यस तर्फ झन् आकर्षण बढेको थियो।

उनी भन्छन् यस्तो रङ्ग प्रयोग भएको कफी पिउनका लागी भने स्वादहीन हुन्छ, " धेरै मान्छेहरूले यो कलर धेरै मन पराउँदो रहेछन्, त्यो चाहिँ इन्स्टाग्रामको लागी र कसैलाई घरमा प्राक्टिस गर्न मन छ भने कलर राखेर प्राक्टिस गर्न मिल्छ।"

लेखन यात्रा:

आफूलाई कफी बनाउने बारेमा र लाट्टे आर्टबारे धेरै जानकारी राख्ने इच्छा भए पनि बारिस्टा कोर्स गर्न अत्यन्त महँगो शुल्क तिर्नु पर्ने हुनाले त्यही बाट लेखनको सोच बनेको तामाङको भनाइ रहेको छ।

उनका सुरुवाती दिनहरूमा यस्ता प्रतियोगिताहरूमा विजेता भएकाहरू सम्म पुग्नको लागी झन् बढी महँगो हुने उनले देखेका थिए।

२०१७ सेप्टेम्बर महिनामा 'कफी आर्ट' नामक पुस्तक प्रकाशित गरेका थिए। र उनको पुस्तक छ भाषामा प्रकाशित रहेको छ।

र त्यति बेला नै आफू केही गरे विजेता बने नयाँ बारिस्टाहरूका लागी निःशुल्क कार्यशाला गराउने सोच बनेको थियो।

सोही अनुरूप आफूले जानेको कुरा अरूलाई पनि सिकाउने उद्देश्यले उनले बेलायतमा विभिन्न नि:शुल्क कार्यशाला आयोजना गरिसकेका छन्।

लगातार ६ वर्ष लाट्टे आर्ट प्रतियोगिताको विजयी बनेर विश्वस्तरिय प्रतियोगितामा बेलायतको प्रतिनिधित्व गरेका तामाङले २०१७ सेप्टेम्बर महिनामा 'कफी आर्ट' नामक पुस्तक प्रकाशित गरेका थिए।

Coffee Art by Dhan Tamang
Source: facebook/Dhana Tamang

अक्टोपस पब्लिशिङ्ग ग्रुपको सहायतामा प्रकाशित उक्त पुस्तकको उद्देश्य आफूले सिकेको केही कलालाई अरू समक्ष पुर्‍याउनु नै रहेको उनी बताउँछन्।

उनले डी टी कफी स्कुल अर्थात् धन तामाङ कफी विद्ध्यालय समेत सञ्चालन गरिरहेका छन्।

धन तामाङ कफी विद्यालय:

धन तामाङले कफी बनाउन इच्छा राख्नेहरूलाई व्यावसायिक बारीस्टा बनाउने उद्देश्यले उक्त तालिम कक्षा सञ्चालन गर्दै आएका छन्।

४ पटक युके बारिस्टा च्याम्पियन भइसकेका डन अल्टिजो सँगको सहकार्यमा उनको उक्त विद्यालय सञ्चालनमा रहेको छ।

डी टी कोर्स नाम दिइएको एक कोर्स अन्तर्गत आधारभूत बारिस्टा, बारिस्टा प्रशिक्षण, लाट्टे आर्ट परिचय र एडभान्स लाट्टे आर्ट सम्बन्धी विषयहरू रहेका छन्।

डी टी कोर्स सँगै सो विद्ध्यालयमा एस सी ए फाउन्डेसन कोर्स, एस सी ए इन्टरमिडियट र एस सी ए प्रोफेसनल कोर्सहरू समावेश गरिएको छ।


4 min read

Published

Updated

By Sunita Pokharel



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now